PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सरकार गठनका लागि केन्द्रको मुख ताक्दै प्रदेश, शीर्ष नेता नै भन्छन् : सत्ता गठबन्धनको निर्णय पर्खिरहेका छौं



निशा गुरुङ

सरकार गठनका लागि केन्द्रको मुख ताक्दै प्रदेश, शीर्ष नेता नै भन्छन् : सत्ता गठबन्धनको निर्णय पर्खिरहेका छौं

हेटौंडा : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा एक साताभित्र दाबी पेश गर्नु भनी आह्वान गरेसँगै संघमा सरकार गठनको प्रक्रिया सुरु भइसकेको छ। तर प्रदेशमा भने निर्वाचनको पूर्ण परिणाम आइसक्दा पनि नयाँ सरकार कहिले बन्ने हो- पत्तोठेगान छैन।

वाग्मती प्रदेश सरकारको नेतृत्व दाबी गरेका नेताहरु आफै पनि केन्द्रीय गठबन्धनको मुख ताक्दै बसेका छन्। केन्द्रमा कस्तो समीकरण बन्ला? कुन प्रदेश कसको भागमा पर्ला र बल्ल सरकार गठनको बाटो खुल्ला भनेर उनीहरु केन्द्रको निर्देशन पर्खिरहेका हुन्।

वाग्मती प्रदेश सरकारका प्रवक्ता एवम् नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाल सत्ता गठबन्धनको केन्द्रीय नेतृत्वले नै कहाँ कसको नेतृत्व गर्ने भन्ने टुंगो लगाउने बताउँछन्।

‘संघीयतको मर्मअनुसार सरकार गठन गर्न प्रदेशमा कसैको मुख ताक्नु पर्दैन। तर हामी गठबन्धनको नेतृत्वमा आवद्ध छौं,’ प्रवक्ता खनालले भने, ‘प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुख सबै केन्द्रीय सत्ता गठबन्धनको भागबन्डाअनुसार नै हुन्छ।’

प्रवक्ता खनालले निर्वाचन आयोगले प्रदेश प्रमुखलाई निर्वाचनको प्रतिवेदन पेश गरेलगत्तै प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने केन्द्रमा टुंगो लाग्ने दाबी गरे।

प्रदेशका शीर्ष नेता के भन्छन्?

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नवनिर्वाचित प्रदेश सभा सदस्य बहादुरसिंह लामा पनि केन्द्रीय नेतृत्वले गर्ने भागबन्डाका आधारमा सरकार गठन हुने बताउँछन्।

‘समानुपातिको नतिजा टुंगेसँगै अब केन्द्रमा गठबन्धनको बैठक बसेर त्यही निर्णयअनुसार नै प्रदेशको सरकार गठन प्रकृया सुरु हुन्छ,’लामाले भने, ‘वाग्मतीमा कांग्रेस ठुलो दल हो। त्यसकारण कांग्रेसकै नेतृत्वमा सरकार गठन हुने सम्भावना धेरै छ।’

वाग्मतीमा गठबन्धनतर्फबाट कांग्रेस ठुलो दल भए पनि कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने निर्णय केन्द्रले नै टुंग्याउने लामाले बताए।

कांग्रेस वाग्मती प्रदेशका सभापति एवं वाग्मती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले सत्ता गठबन्धनकै सरकार बन्ने भएपछि सातै प्रदेशमा कुन-कुन दलले नेतृत्व गर्ने भन्ने समझदारी केन्द्रबाटै हुने बताए।

‘विगतदेखि नै गठबन्धनले सहमति गरिएको छ। कुन प्रदेशमा कसको नेतृत्व रहन्छ भन्ने कुराको बाँडफाँट केन्द्रीय नेतृत्वबाटै हुन्छ,’ बानियाँले भने, ‘तर, वाग्मती प्रदेशमा कांग्रेस सबैभन्दा ठुलो दल भएको र अघिल्लो कार्यकालमा पनि गठबन्धनमा आलोपालो सरकार चलाउने सहमति भएको थियो। मेरो पालोमा केही कारणले हुनसकेन त्यसकारण पनि अहिले पनि त्यही पात्र आएको हुँदा अब मेरै नेतृत्वमा सरकार गठन हुन्छ।’

बानियाँले अघिल्लो कार्यकाल आलोपालो गर्ने सहमति भए पनि आफ्नो पालोमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले नछोड्दा अबको मुख्यमन्त्री आफू हुनेमा ढुक्क रहेको बताए।

माओवादी केन्द्र वाग्मती प्रदेशका उपाध्यक्ष एवम् निर्वाचित प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ ले गठबन्धन कसरी जाने भनेर निर्णय नै केन्द्रीय गठबन्धन सरकारले नै तय गर्ने बताए। उनले गठबन्धनको नेतृत्व केन्द्रदेखि नै भएको हुँदा गठबन्धन दलका केन्द्रकै निर्देशनमा अगाडि बढ्ने बताए। तर, उनले भागबन्डामा वाग्मती प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा हुन सक्ने बताए।

केन्द्रमा टुंगो छैन गठबन्धनको

तर केन्द्रमै कसको नेतृत्वमा सरकार गठबन्धन हुने हो अहिलेसम्म यो विषयको टुंगिएको छैन। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारीमा छन् भने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि नेतृत्वमा दाबी छ। एमाले अध्यक्ष केपी शर्मा ओली आफै पनि माओवादी र एकीकृत समाजवादीलाई फकाएर आफ्नो नेतृत्वमा सरकार बनाउने दाउमा छन्। यसरी हेर्दा केन्द्रमा सरकार कसको नेतृत्वमा बन्ने टुंगो देखिदैन। त्यसैले केन्द्रमा सरकार बनिसकेपछिमात्र प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुने देखिन्छ।

दलहरुले प्रदेशमा स्वायत्त अधिकार नदिँदा प्रदेशमा सरकार गठनदेखि संसद प्रक्रिया केन्द्रकै छाँयामा चल्न थालेको हो। सत्ता गठबन्धनको सहज बहुमत पुगेको हुँदा संघीय सरकारमा भएको समीकरणकै आधारमा प्रदेशमा पनि सत्ता गठबन्धनकै सरकार बन्ने देखिन्छ। वाग्मती प्रदेशमा कुनै पनि दलले एकल बहुमत पाएको छैन। त्यसैले सरकार गठनमा गठबन्धन दलका नेताहरु मुख्यमन्त्रीमा आ–आफ्ना दाबी गर्दै आइरहेका छन्। मुख्यमन्त्रीका दाबेदारहरुले आफ्नो पक्षमा माहोल बनाउन केन्द्रीय नेतृत्वसँग भेटघाट तीव्र बनाएका छन्।

निर्वाचनको प्रतिवेदन बुझिसकेपछि प्रदेश प्रमुखले प्रदेशसभासँग समन्वय गरेर २/३ दिनभित्र निर्वाचित सांसदहरुमध्ये सबैभन्दा जेष्ठ सदस्यबाट शपथ खुवाउने प्रदेश प्रमुखको कार्यालयको तयारी रहेको छ। शपथ लगत्तै प्रदेश प्रमुखले सरकार गठनको लागि राजनीतिक दलहरुलाई बहुमत पुर्‍याएर आउन आह्वान गर्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ। भागबन्डामा आ–आफ्नो दलले नेतृत्व गर्न पाउने सम्भावना हुँदा सत्ता गठबन्धनतर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य लामा, वाग्मती प्रदेश कांग्रेस सभापति बानियाँ, नेकपा माओवादी केन्द्रबाट पोलिटब्युरो सदस्य शालिकराम जमरकट्टेल, कुमारी मोक्तान र माओवादी केन्द्र वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल र नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य कृष्ण खनाल आ–आफ्नो दाबीमा अडान राख्दै आइरहेका छन्।

११० सदस्यीय वाग्मती प्रदेशसभामा कांग्रेसले ३७ सिट प्राप्त गरेको छ। कांग्रेसले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ सिट हात पारेको हो। प्रत्यक्षतर्फ १३ स्थानमा जितेको एमालेले समानुपातिकतर्फ १४ सिट प्राप्त गरेको छ। प्रदेशसभाको पहिलो कार्यकालमा पहिलो दल बनेको एमाले हाल २७ सिटसहित दोस्रो स्थानमा खुम्चिएको छ। त्यसैगरि नेकपा माओवादी केन्द्र २१ सिट प्राप्त गरेको छ। प्रत्यक्षमा १४ स्थानमा जित हात पारेको माओवादीले समानुपातिकमा ७ सिट प्राप्त गरेको हो। प्रत्यक्षमा ५ सिट र समानुपातिकमा दुई सिट प्राप्त गरेको नेकपा एकीकृत समाजवादीले पाचौं स्थानमा छ। त्यसैगरि प्रत्यक्षमा एक सिट जितेको नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले समानुपातिकतर्फ दुई सिट गरि कुल ३ सिट प्राप्त गरेको छ।

पहिलो पटक प्रदेश सभामा प्रवेश पाउन लागेको हाम्रो नेपाल पार्टीले प्रत्यक्षमा १ र समानुपातिकमा १ गरि २ सिट जितेको छ। सरकार बनाउन ५६ संसद्को समर्थन चाहिनेमा सत्तारुढ गठबन्धनमा ६५ संसद रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell