PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

नवनिर्वाचित सांसदहरुको शपथ पुस ७ गते, मातृभाषामा शपथ लिन चाहनेले सचिवालयलाई जानकारी दिनुपर्ने



पहिलोपोस्ट

नवनिर्वाचित सांसदहरुको शपथ पुस ७ गते, मातृभाषामा शपथ लिन चाहनेले सचिवालयलाई जानकारी दिनुपर्ने

काठमाडौं : संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरुलाई पुस ७ गते शपथ ग्रहण गराउने भएको छ। सचिवालयले पुस ७ गते दिउँसो १ बजे संघीय संसद भवनमा नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण गराउने तालिका सार्वजनिक भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आइतबार ७ दिनको समय दिएर दलहरुलाई आह्वान गरिसकेकी थिइन्। राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेपछि सांसदरुको सपथ ग्रहण पनि छिटै हुन लागेको हो।

कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको तीनदिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरि त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ। सचिवालय प्राप्त तथ्याङ्कअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिएका थिए। उनीहरुले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बञ्जिका, नेवारी, उर्दू, तामाङ भाषामा शपथ लिएका थिए।

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ। सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब पाँच हजार आठ सय रुपैयाँको लागतमा तयार भएको हो।

सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell