आइतवार अर्जेन्टिनी फुटबल टोली फ्रान्समाथि रोमाञ्चक जित निकाल्दै ३६ वर्षपछि विश्व च्याम्पियन बन्यो। अर्जेन्टिनाको जितसँगै त्यहाँको राजधानी ब्यूनस आयर्समा 'सेलिब्रेसन' का लागि मानवसागर उर्लिएको छ। सन् १९८६ पछिको यो उपाधिसँगै अर्जेन्टिना तेस्रो पटक विश्वच्याम्पियन बनेको हो।
'म धेरै खुसी छु, हामी साँच्चै यसको लागि योग्य थियौं। हाम्रो टोलीले धेरै पीडा भोग्यो, तर समय बित्दै जाँदा यो ठीक भएको छ,' जितको उत्सव मनाउन निस्किएकी ५५ वर्षीया जोसफिना भिल्लाबाले भनिन्। त्यहाँका सार्वजनिक स्थानहरुमा ठूला स्कृनहरु राखेर विश्वकप देखाइएको थियो।
यो जित उनीहरुका लागि सामान्य जितमात्र थिएन। जितसँगै लाखौं अर्जेन्टिनीहरू रोए, चिच्याए र अँगालो हाले। खेलभरि, ब्यूनस आयर्सको सार्वजनिक स्क्वायरमा हेरिरहेका धेरैले कप्तान लियोनेल मेस्सीको नाम लिइरहेका थिए। मेस्सी विश्वको महान् फुटबल खेलाडी मानिन्छन् र यसमा आफूलाई अझ अब्बल बनाउन उनलाई आवश्यक थियो विश्वकपको ट्रफी। जसमा उनी सफल हुन सके।
'म मेरो हृदयबाटै अत्यन्तै खुशी महसुस गरिरहेको छु किनभने म साँच्चै रमाएको यो पहिलो विश्वकप हो,' ३४ वर्षे सेक्यरिटी गार्ड हेक्टोर क्विन्टेरोसले भने।
३६ वर्षको लामो समय पछि अर्जेन्टिनाले अन्ततः विश्व कपको उपाधि जित्यो। विश्वका उत्कृष्ट फुटबल खेलाडीहरू भएको देशले वास्तवमै अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गर्न सक्ला? भन्ने वर्षौंको शंका र प्रश्नहरू मेटाउन सफल भयो। देशले पहिलो पटक सन् १९७८ र दोस्रो पटक १९८६ मा उपाधि जितेको थियो तर १९३०, १९९० र २०१४ मा फाइनलमा पराजित भएको थियो।
धेरै फ्यानहरूले दुईवर्ष अघि निधन भएका अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनालाई सम्झए।
'डिएगोले स्वर्गबाट सबै कुरा देख्छन्, उनी अर्जेन्टिनाले हारेको चाहँदैनथे। उनी बिना पहिलो कप र हामीले विश्वकप जित्यौं! डिएगो सधैं यहाँ छन्,' १८ वर्षे जेभियर लोपेचले भने।
'डिएगो पक्कै पनि मुस्कुराउँदै छन्,' ब्राजिलका फुटबल लिजेन्ड पेलेले अर्जेन्टिनालाई जितको लागि बधाई दिँदै सामाजिक सञ्जालमा लेखेका थिए।
सबै तस्बिरहरु: एपी