
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सोमवार दिउँसो विमोचन हुँदै थियो संगीतकार रञ्जित गजमेरको आत्मकथा - मोहनी मादलको। संगीतकारकै आत्मकथा विमोचन भएकोले होला, आयोजक कथालयले विमोचन समारोहको माहोल नै सांगीतिक बनाउने तयारी गर्दै थियो।
जब कार्यक्रम शुरु भयो डबलीमा वाद्यवादकले तबला मादल बजाउन थाले। बानिका प्रधानको स्वरमा ‘झझल्को लिएर आएछ सवान,’ गीत प्रज्ञाको डबलीमा घन्किन थाल्यो।
‘मोहनी लाग्ला है,’ गीतपछि विमोचन भयो किताब। विमोचनलगत्तै किताबको चर्चा भयो। अरु गीतहरु प्रस्तुत भए। कार्यक्रममा प्रस्तुत भएका कालजायी गीतहरुमा गजमेरकै शब्द र संगीत रहेको थियो। कार्यक्रमको अन्त्यमा टिका प्रसाईसँगै अन्य कलाकार स्टेजमा उत्रिए। र शुरु भयो मधुर आवाजको गीत : भुलि गए सम्झनालाई कुसुमे रुमाल, याद भए मायालु अर्को साल।
गीत बजेको केही समयमै उद्घोषिकाले हात समाउँदै स्टेजमा पुर्याए चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई।
३७ वर्षअघि आफू अभिनित फिल्म ‘कुसुमे रुमाल’को गीत गुन्गुनाउँदै केसी पनि नाच्न थाले डबलीमा। रञ्जित भुवनका गुरु पनि हुन्। त्यसैले होला कार्यक्रम शुरु नहुँदै भुवन प्रज्ञा पुगेका थिए। भुवनको उपस्थितिले कार्यक्रमको आकर्षण त बढेको थियो नै। उनको नाचले माहोल थप तातियो। अझ कोटको खल्तीबाट रातो रुमाल निकाल्दै हल्लाउँदा रोमञ्चक बने भुवन। सन् १९८५ मा रिलिज भएको फिल्म ‘कुसुमे रुमाल’ उक्त गीतमा रञ्जित गजमेरकै शब्द र संगीत रहेको छ। यही गीतसँगै गजमेरको किताब विमोचन कार्यक्रम सकिएको आयोजकले जनायो।