PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

निर्वाचन आयोगको जलपान : ओलीको बहिष्कार, झलनाथको स्वागत



प्रकाश भण्डारी

निर्वाचन आयोगको जलपान : ओलीको बहिष्कार, झलनाथको स्वागत

काठमाडौं : इलाम-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका थिए नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल। पराजित भएपछि आयोगविरुद्ध अदालत पुगिसकेका छन् खनाल। पूर्व प्रधानमन्त्री खनाल आयोगको निर्णयविरुद्ध उत्रिए पनि सोमवारको जलपान कार्यक्रममा सहभागी भए। आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोगको कार्यालय रहेको बहादुर भवनको प्रांगणमा जलपान समारोह आयोजना गरेको थियो।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि अरु शीर्ष नेताभन्दा पहिलै आयोगको कार्यक्रम स्थलमा पुगिसकेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अतिथि रहेको कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना पनि पुगे। परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठको पनि सहभागिता थियो कार्यक्रममा। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेदेखि जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतसम्म आयोगमा पुग्दा प्रतिनिधि सभाको निर्वाचनमा दोस्रो ठूलो दल बनेको नेकपा (एमाले)का नेता भने कार्यक्रममा देखिएनन्। बरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेता पशुपतिशम्शेर राणा आयोगको निमन्त्रणा स्वीकारेर आयोग पुगे। मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि आयोगको आतिथ्यता ग्रहण गरे। नेतामात्रै होइन मन्त्रालयका सचिव, कुटनीतिज्ञ र कलाकारको पनि सहभागिता थियो आयोगको जलपानमा। नेतादेखि कलाकारसम्म आयोगको प्रांगणमा पु्ग्दा एमालेका कुनै नेता पनि कार्यक्रममा देखिएनन्। 

हामीले पनि देखेनौं : निर्वाचन आयोग

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै पार्टीका प्रमुख, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख लगायतलाई समान रुपमा निमन्त्रणा गरेको बताए। तर एमालेका नेता भने कार्यक्रममा सहभागी भएको नदखेको पौडेलको भनाइ छ। 'हामीले पनि देखेनौं। कसको अनुकुल र कसको प्रतिकूल त्यो कुरा फरक रह्यो,' पौडेलले भने। एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला भने पटक पटक निर्वाचन आयोगमा पुग्ने गरेको भए पनि सोमवार भने ओली आफू त सहभागी भएनन् नै उनले आफ्नो प्रतिनिधि समेत आयोगको कार्यक्रममा नपठाएका हुन्।

एमालेले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ ४४ र समानुपातिकमा ३४ गरी ७८ सिट जितेको छ। एमालले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा मतपत्रको रङ हरियो बनाउने निर्णयको चर्को बिरोध गरेको थियो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादका बेलामा पार्टी आधिकारिकताबारे निर्वाचन आयोगमा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पुग्दा ओलीले पनि आयोगमै पुगेर आयोगका पदाधिकारीसँग ब्रिफिङ लिएका थिए। त्यतिबेला प्रचण्ड-नेपालले आफूलाई नेकपाको आधिकारिकता नदिएको भन्दै आयोगको बिरोध गरेका थिए। 

जलपान कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमार्फत महिलाहरुको सहभागिता शासकीय स्वरुपमा पर्याप्त नभएको बताएका थिए। 'समानुपातिक समावेशी प्रतिनिधित्व तथा आयोगले स्वीकृत गरेको लैङ्गिक तथा समावेशी नीतिको दृष्टिकोणबाट हेर्दा यो संख्या पर्याप्त नभएकोले निर्वाचन आयोग यसलाई  सहज, विशिष्ट, उपयुक्त र पूर्व अनुमानयोग्य बनाउनुपर्छ भन्ने कुरामा जोड दिन चाहन्छ,' थपलियाले भनेका थिए।

उनले अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचनको सबै चरण पुरा हुने जानकारी दिए। थपलिया सहितको टोलिले राष्ट्रपति भण्डारीलाई कात्तिक २९ गते रिपोर्ट बुझाएको थियो। राष्ट्रपति भण्डारीले उ आयोगले चुनावको रिपोर्ट बुझाएपछि आइतवार दलहरुलाई ७ दिनको समय दिँदै संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेकी छिन्। यस्तै संसद सचिवालयले पुस ७ गते प्रतिनिधि सभाका सांसदहरुलाई सपथका लागि बोलाएको छ।    

किन सहभागी भएन एमाले?

नेकपा एमालेका प्रवक्ता तथा प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टीको सहभागिता भए/नभएकोबारे अनभिज्ञता प्रकट गरे। 'खै थाह भएन। को जानु भयो या जानु भएन,' उनले भने। एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफू इलाममा भएकाले निर्वाचन आयोगको कार्यक्रममा सहभागी नभएको बताए। तर पार्टीका अरु नेता सहभागिताबारे भने नेम्वाङले पनि थाहा नभएको जानकारी दिए। नेम्वाङ संविधान सभाका अध्यक्ष पनि भएका थिए। 'खै म त यता जिल्ला तिर आएको छु। सारै धपेडी भएको छ,' उनले भने। एमालेको निर्वाचन विभागका प्रमुख विष्णु रिमाल भने सम्पर्कमा आउन चाहेनन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell