PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कूटनीतिक तिक्तता तोड्दै चीन र अष्ट्रेलियाः समकक्षी पेनीलाई बेइजिङमा स्वागत गर्दै चिनियाँ विदेशमन्त्री वाङ



विधुर ढकाल

कूटनीतिक तिक्तता तोड्दै चीन र अष्ट्रेलियाः समकक्षी पेनीलाई बेइजिङमा स्वागत गर्दै चिनियाँ विदेशमन्त्री वाङ
राष्ट्रसंघीय महासभा साइडलाइनमा भेटवार्ता गर्दै चिनियाँ विदेशमन्त्री वाङ र अष्ट्रेलियाली समकक्षी पेनी। फाइल फोटो : चिनियाँ विदेेश मन्त्रालय।

सांघाई: लामो कूटनीतिक तिक्तता र तनावपूर्ण सम्बन्धधलाई तोड्दै अष्ट्रेलियाका विदेशमन्त्रीले चीनको भ्रमण गर्ने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले यसै साता बेइजिङको भ्रमण गर्न लागि चिनियाँ विदेश मन्त्रालयले पुष्टि गरेको छ।

सोमबार अष्ट्रेलियाका प्रधानमन्त्री एन्ठ्ठोनी अल्वानेसेले विदेशमन्त्री चीन भ्रमण गर्ने घोषणा गरेका थिए। उनको घोषणालाई चीनले पुष्टि गरेको हो। पछिल्लो समय दुई देशबीचको कूटनीतिक तनावलाई यस भ्रमणले सुधार गर्ने अपेक्षा गरिएको छ। 

दुई देशले बुधबार कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाउँदै छन्। पेनीको भ्रमण अष्ट्रेलियाबाट झण्डै पाँच वर्षपछि हुन लागेको पहिलो मन्त्रीस्तरीय भ्रमण हो। यसअघि सन् २०१८ मा दुई देशबीच बेइजिङमा उच्च कूटनीतिक वार्ता भएको थियो। 

अष्ट्रेलियाका प्रधानमन्त्री अल्वानेसेले चीनसँग स्थायी सम्बन्ध खोजेको भन्दै सहमति हुन सक्ने विषयमा साझेदारी गरेर अगाडि बढ्ने र असमझदारीका विषयलाई राष्ट्रिय स्वार्थ अनुरुप संवादमा रहने बताएका छन्। 

पछिल्लो समय बेइजिङले अष्ट्रेलियाका उत्पादनमाथि प्रतिबन्ध लगाएपछि तनाब बढेको थियो। क्यानवेराले कोभिड-१९ को उत्पतिको विषयमा अन्तर्राष्ट्रिय छानबिन गर्नुपर्ने आवाज उठाएपछि सम्बन्ध विग्रिँदै गएको थियो। 

यसअघि सेप्टेम्वरमा दुई नेताबीच न्यूयोर्कस्थित राष्ट्र संघीय महासभा साइडलाइनमा अनौपचारिक भेटवार्ता भएको थियो। त्यस्तै त्यसको दुई महिना अगाडि बालीमा दुई नेताबीच भेट भएको थियो। 

चिनियाँ विदेश मन्त्रालयले सोमबार नै पेनीको भ्रमण पुष्टि गर्दै दुई दिने भ्रमणबारे जानकारी गराएको हो। उनले मंगलबार र बुधबार चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ। 

बुधबार कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ मनाउँदै गर्दा भ्रमण हुन लागेको चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले जनाएकी छन्। 

सोमबारको नियमित पत्रकार सम्मेलनमा उनले भ्रमणका क्रममा दुई देशबीच मन्त्रीस्तरीय वार्ता हुने जानकारी दिइन्।

'भ्रमणका क्रममा विदेशमन्त्री पेनी वोङ र स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीबीच वार्ता हुनेछ,' उनले भनेकी छन्, 'उनी (विदेश मन्त्री पेनी) सँग चीन-अष्ट्रेलियाबीचको कूटनीतिक तथा रणनीतिक संवादको नयाँ चरणको छलफल हुनेछ।'

चीनले यस भ्रमणले दुबै पक्षबीच दुई देशका नेताबीचको बालीमा भएको छलफल पछिको समझादारीलाई अगाडि बढाउने बाटो खुल्ने विश्वास लिएको छ। 

विदेश मन्त्रालयकी प्रवक्ता माओले दुई देशबीच आपसी समझदारी, आपसी फाइदा र विविधताकाबीच साझा धारणा बनाउने अवसरको रुपमा भ्रमणलाई लिएको बताएकी छन्। उनले यो भ्रमणले द्विपक्षीण सम्बन्धलाई सही मार्गमा डोहोर्‍याउने बताएकी छन्। 

यसैबीच विदेशमन्त्री पेनी भ्रमणका क्रममा उनले बेइजिङको हिरासतमा रहेका दुई चिनियाँ मूलका अष्ट्रेलियाली पत्रकारसँग भेट गर्न सक्ने चर्चा सुरु भएको छ। 

चीनको सरकारी च्यानल सीजीटीएनमा कार्यरत चङ ली र  लेखक याङ हङ जुनलाई राष्ट्रिय सुरक्षामा आँच पुर्‍याएको भन्दै चीनले हिरासतमा राखेको छ। 

सम्भावित भेटबारे सोधिएको प्रश्नमा विदेश मन्त्रालयकी प्रवक्ता माओले यसलाई अस्वीकार गरेकी छन्। 'म के कुरामा जोड दिन चाहन्छु भने चीनमा कानुनको शासन छ। चीनका न्यायिक अधिकारीहरूले कानुन बमोजिम मुद्दा सम्हालेका छन् र सम्बन्धित व्यक्तिहरूको कानुनी अधिकार पूर्ण सुरक्षामा छन्,' उनले भनेकी छन्। 

पेनी वाङ यसै वर्ष मेयमा अष्ट्रेलियाको विदेश मन्त्रीमा नियुक्त भएकी थिइन्। यसअघि जुनमा उनले न्युजिल्याण्डको भ्रमण गरेकी थिइन्।

त्यस्तै उनले क्वाड सम्मेलनमा सहभागी हुन मेमा टोकियोमा सहभागी भएकी थिइन्। मे २३ मा विदेश मन्त्रालय समालेसँगै उनले २४ मा टोकियो पुगेर अमेरिकी विदेश मन्त्रीसँग भेट गरेकी थिइन्।  

चिनियाँ मुलका मलेसियन पिता र बेलायती आमाकी छोरी रुपमा जन्मिएकी उनी २००२ मा सिनेट सदस्यमा निर्वाचित भएकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell