PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द, कुन ठाउँबाट कति बजे रोकिनेछ सवारी आवागमन?



पहिलोपोस्ट

नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द, कुन ठाउँबाट कति बजे रोकिनेछ सवारी आवागमन?

काठमाडौं : नारायणगढ - मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ। सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो।

आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा - मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ - मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए। सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ।

भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताए। उनका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा ९ वटाको काम सम्पन्न भइसकेको छ। चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात संचालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ। उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ।

कहाँबाट रोकिनेछन् सवारीसाधन?

नारायणगढतर्फबाट जाने यात्रुबाहक सवारीसाधनलाई १५ किलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०:५० बजेदेखि नै रोकिनेछ।

यस्तै, काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०:५५ बजे रोकिनेछ।

काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०:४५ बजेबाट रोकिनेछ । बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिनेछ।

नारायणगढ - मुग्लिन सडकखण्डमा २० पुल रहेका छन्। तीमध्ये पाँच पुल बनिसकेका छन्। बाँकी पुल बन्ने चरणमा रहेका छन्। आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी कामअघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए। विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । यही पुस ९ गते सम्झौताको अवधि सकिँदैछ। नारायणगढ - मुग्लिङ सडकखण्डमा एक अर्ब २५ करोड रुपैयाँको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ।

तुइन र जुगेडी पुललाई थप केही समय लाग्ने जनाइएको छ। सो सडक विस्तारको कामसँगै साँघुरा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो। हाल सो सडक नौदेखि ११ मिटर फराकिलो छ। ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ। प्याकेज-१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरि सातवटा पुल छन्। प्याकेज-२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरि ८ वटा पुल छन्।

प्याकेज–१ को कूल ठेक्का रकम ६७ करोड ९९ लाख रुपैयाँ छ भने दोस्रो प्याकेजको कूल ठेक्का रकम ५९ करोड पाँच लाख रुपैयाँ रहेको छ। दुवै ठेक्काको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ। पुलको गाडी हिँड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो हुनेछ। दुवैपट्टि एक दशमलव पाँच मिटर फराकिलो फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ। पुल बनाउने ठाउँमा ठाडो कडा पहाड काट्नुपर्ने भएकाले सडक बन्द गरेर काम गर्नुपरेको कार्कीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell