PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

सुध्रिएन राहदानी विभाग : अब पासपोर्ट आवेदनका लागि अपरान्ह साढे ३ बजेपछि मात्र ‘अपोइन्टमेन्ट डेट’ लिन पाइने



पहिलोपोस्ट

सुध्रिएन राहदानी विभाग : अब पासपोर्ट आवेदनका लागि अपरान्ह साढे ३ बजेपछि मात्र ‘अपोइन्टमेन्ट डेट’ लिन पाइने

काठमाडौं : राहदानी (पासपोर्ट) बनाउनका लागि सेवाग्राहीहरु बिहानैदेखि लाइनमा बस्नुपर्ने समस्या अहिलेसम्म हटेको छैन। चिसोमा पनि बिहानैदेखि मानिसहरु पासपोर्ट बनाउन कार्यालय पुगिरहेका छन्।

राहदानी बनाउन सकस र अव्यवस्थाबारे सरकार र सम्बन्धित निकायको आलोचना भइरहँदा पनि कुनै सुनुवाइ भएको छैन। आलोचना र अव्यवस्थापनबिच राहदानी विभागले एक सूचना जारी गर्दै आवेदन दिँदा सेवाग्राहीले राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको जनाएको छ।

विभागले गत साउन १७ गतेदेखि दैनिक बिहान ११ बजे राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेटको बुकिङ खोल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । तर अब पुस ५ गतेदेखि लागू हुनेगरी अपराह्न साढे ३ बजेदेखि मात्र अपोइन्टमेन्ट डेट खोल्ने विभागले जनाएको छ।

'अपोइन्टमेन्ट डेट' लिनका लागि एकै समयमा धेरै सेवाग्राहीबाट माग भइआएको र यसले सर्भरमा चाप देखिएका कारण यस्तो समय परिवर्तन गरिएको पनि विभागले जनाएको छ।

'प्रायःजसो जिल्ला र इलाका प्रशासन कार्यालयहरूले पनि सोही समयमा बुकिङ खोल्ने गरेको विभागमा जानकारी प्राप्त हुन आएको छ। जसकारण विभागको सर्भरमा अत्यधिक चाप पर्न गई वेबसाइटको पेज खुल्न समय लाग्ने र हाई ट्राफिक भोलुम भन्ने म्यासेज देखाउने गरेको छ', विभागले जारी गरेको सूचनामा भनिएको छ।

राहदानी लिनका लागि फाराम भरी अनलाइनबाट मिति र समय बुक गर्नुपर्छ। बुकिङ गरेको मिति र समयभन्दा अगाडि आएर लाइन बसेकै आधारमा विभागले सेवा दिँदैन। त्यसकारण आफ्नो बुकिङको दिन तोकिएको समयमा मात्र आउनुपर्ने व्यवस्था रहेको छ। यसरी अपोइन्टमेन्ट बुक गर्नका लागि बिहान कार्यालय समयपछि विभागका सर्भरमा बढी चाप पर्ने गरेको थियो। अपराह्न साढे ३ बजेपछि अपोइन्टमेन्ट डेट लिने व्यवस्था कार्यान्वयन गर्दा सर्भरमा समस्या कम हुने विभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell