PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

विश्वकप सकिएसँगै सुनसान कतार : फ्यान बोक्दाबोक्दा थाकेका ऊँटलाई पनि राहत



पहिलोपोस्ट

विश्वकप सकिएसँगै सुनसान कतार : फ्यान बोक्दाबोक्दा थाकेका ऊँटलाई पनि राहत

विश्वकप २०२२ तयारीका लागि कतार २०१० बाटै जुटेको थियो। विभिन्न टीकाटिप्पणीलाई चिर्दै १२ वर्ष लगाएर कतारले तयारी पुरा गर्‍यो विश्वकपको। अनि ३२ देशका टिम नोभेम्बरमा उत्रे कतार। खेलाडीसँगै विभिन्न देशको समर्थकको पनि घुँइचो लाग्दै थियो। 

नोभेम्बर २० बाट खेल शुरु भयो अनि आइतवारको फाइनलमा अर्जेन्टिनाले विश्वकप उचाल्दै मैझारो भयो विश्वकपको। २८ दिन चलेको विश्वकप आइतवार राति सकियो। विश्वकप चलिरहँदा राजधानी दोहामा रहेको लोकप्रिय सौक वाकिफका गल्लीहरू ब्राजिलियनहरू, अर्जेन्टिनीहरू, मोरक्कनहरू र दर्जनौं अन्य सहभागी राष्ट्रहरूका फ्यानहरूले भरिन्थे। तर जब विश्वकप सकिएको भोलिपल्ट कतार बिउँझियो - ती गल्लीहरुमा कतारीहरुले आफ्नै छायाँमात्र पाए।

'आज बिहान काममा आएर यो ठाउँ यति खाली देख्दा मलाई ठूलो दुःख लाग्यो,' सौकको कपडा पसलका अहमद सलामले अल जजीरालाई भने, 'यो क्षेत्रमा धेरै चहलपहल हुन्थ्यो। हामीलाई त एकछिन बस्ने फूर्सद नै हुँदैनथ्यो। तर वातावरण यति रमाइलो थियो कि!'

प्रतियोगिता भरमा कतारमा १२ लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको थियो। यसको यकिन तथ्याङ्कहरू घोषणा गर्न बाँकी छ, यो केवल ३० लाख हाराहारी जनसंख्या भएको देशको लागि ठूलो संख्या थियो।

दोहाभरि कामदारहरूले विश्वकप ब्रान्डिङ र झण्डाहरू उतारेका र मेट्रो स्टेसनहरू वरपर लगाइएका अवरोधहरू हटाउँदै थिए।

मेट्रो स्टेसनभित्र भीड कम थियो। त्यहाँ भएका मानिसहरूलाई कतै पुग्न कुनै हतारो थिएन। यद्यपि केही बासिन्दाहरू अर्जेन्टिना टोलीको सेतो र निलो जर्सी, स्कार्फ र टोपीमा परिवारहरूसँग घुम्दा उनीहरूका लागि अझै विश्वकप सकिएको छैनजस्तो देखिन्थे।

फुटबल फ्यान बोक्दाबोक्दा थाके ऊँ

कतार फुटबल हेर्न पुगेका दर्शकले स्टेडियममा मात्र समय बिताएनन्। उनीहरुमध्ये धेरै दोहाबाहिर मरुभूमिमा गएर ऊँट चढे। सेल्फी खिचेर फर्किए। जसले गर्दा त्यहाँ उँट पाल्नेहरुको ब्यापार पनि राम्रो भयो। सँधैभन्दा आर्थिक हिसाबले पनि उनीहरुलाई निकै फाइदा भयो।

अली जाबेर अल अली ४९ वर्षका छन्। उनी सुडानका हुन् तर १५ वर्षदेखि कतारमा छन्। उनले बाल्यकालदेखि नै ऊँटको काम गर्न थालेको बताए। उनले ऊँटलाई माया गरेर हुर्केको र उनीहरुको अनुहारबाट चिन्न सक्ने दाबी गरे।

सामान्य दिनमा आफ्नो कम्पनीले हप्तामा २० वटा र सप्ताहन्तमा ५० वटा राइड उपलब्ध गराउने उनले बताए। तर हालैका हप्ताहरूमा ठूलो संख्यामा फुटबल समर्थकहरू देश भ्रमणमा आएकाले, उनी र उनको टोलीले बिहान बेलुकै ५ सय सवारी दिइरहेका थिए।

'पैसा धेरै आएको छ। तर दबाव पनि उत्तिकै परेको छ,' उनले भने। उनका अनुसार पछिल्लो समयमा ऊँटलाई पनि धेरै दबाव परेको छ।

सडक निर्माण हुनुअघि, कतारमा यातायात र व्यापारको लागि ऊँटहरू महत्त्वपूर्ण थिए। अब तिनीहरू प्रायः दौडमा र सवारी दिन प्रयोग गरिन्छ।

ऊँट थाकेनथाकेबारे आफूले हेरेरै बताउन सक्ने अल अली सुनाउँदै थिए। सामान्यतय ऊँटहरू उठ्दैनन् वा तिनीहरू उभिए पनि फेरि बस्छन्।

सामान्यतय ऊँटहरूले प्रत्येक पाँच सवारीपछि आराम गर्न पाउँछन्, तर विश्वकपको समयमा तिनीहरूले कम्तिमा १५ वा बढी सवारीसम्म आरामै गर्न पाएनन्।

बिहान साढे ५ बजे अल अलीको लागि दिन सुरु हुन्छ।

'पर्यटक सूर्योदयको फोटो खिच्न चाहन्छन्। ऊँट र तिनीहरूका ह्यान्डलरहरू दिनको बीचमा लगभग दुई घण्टा आराम गर्छन् तर त्यसपछि फेरि सवारी दिन सुरु गर्नुपर्छ,' अल अलीले भने। उनी यसलाई 'मध्यान्हको युद्ध' भन्दै थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell