PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

प्रधानमन्त्रीमा रामचन्द्र पौडेललाई अघि सारे सर्वसम्मति हुन्छ : विश्वप्रकाश शर्मा



पहिलोपोस्ट

प्रधानमन्त्रीमा रामचन्द्र पौडेललाई अघि सारे सर्वसम्मति हुन्छ : विश्वप्रकाश शर्मा
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको प्रधानमन्त्रीमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेमा सर्वसम्मति हुने बताएका छन्। मंगलवार नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष एवं आवद्ध संघका अध्यक्षहरुको विषेश बैठकलाई सम्बोधन काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री शर्माले उक्त भनाई राखेका हुन्।  

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भइसकेको नेता भएकाले समकालीन राननीतिमा सँगै बढेका पौडेललाई अघि सार्दा उचित हुने उनको भनाई थियो। ‘पार्टी सभापति देउवाले म पाँच चोटि प्रधानमन्त्री भइसकें। मसँगै ५४ वर्षदेखि राजनीति गरेको रामचन्द्र पौडेललाई एकपटक अघि सार्छु भन्नुभयो भने सर्वसम्मति पनि हुन्छ,’ महामन्त्री शर्माले भने, ‘अनि देउवाले गर्नुभएको काम सबै देखिन्छ। ग्रेसफुल एक्जिट हुन्छ।‘

पौडेल अघि नसारेमा पार्टीका अरु नेताहरु पनि प्रधानमन्त्री हुन योग्य रहेको उनको भनाई थियो। शर्माले डा शेखर कोइरालादेखि महामन्त्री गगन थापाको नामलाई देउवाले अघि सार्दा राम्रो हुने सुझावसमेत दिए।

‘रामचन्द्र पौडेल सार्नु भएन भने पार्टीको प्रतिस्पर्धामा डा शेखर कोइराला हुनुहुन्थ्यो उहाँलाई सार्नुभो वा गणेशमानले छाड्नु भएको थियो प्रधानमन्त्रीको कूर्सी। गणेशमानको छोरा जनजातिको छोरा वा मधेशीको छोरो विमलेन्द्र निधि पहिलोचोटि सार्न चाहन्छु वा बीपी कोइरालाको छोरोलाई सुम्पिन चाहन्छु भन्नुपर्‍यो,’ देउवालाई शर्माको सुझाव थियो, ‘कोही आउनु हुन्न भने गगन थापालाई अघि सार्नु भयो भने शेरबहादुर देउवाले गर्नुभएको कयौ छोपिएका काम बाहिर देखिन्छन्।‘ आफू शुरुदेखि नै गगनलाई प्रधानमन्त्रीको प्रस्तावकको रुपमा उभिन चाहेको र अहिले पनि यही अडानमा रहेको धारणा राखे।

देउवाले देशमा सुधारका धेरै कामहरु गरिसकेकाले अब सम्मानजनक रुपमा पार्टीको अभिभावक हुनुपर्नेसमेत उनको भनाई थियो।

प्रधानमन्त्री आलोपालोबाटै

महामन्त्री शर्माले प्रधानमन्त्री पद पाँच वर्षसम्म एकै व्यक्तिले चलाउन नसकिनेसमेत बताए। अहिलेको निर्वाचनमा कांग्रेसको सिट माओवादी र एकीकृत समाजवादीको साथबाट पाएको उपलब्धि भएको उल्लेख गरे। ‘कांग्रेसको सभापति वा महामन्त्रीले के भुल्नु हुदैन भने आज मिल्दै गर्दा पनि हामीले ५७ सिट मात्र पायौ। केवल हामीले मात्र जितेको हैन। माओवादीको पनि उत्तिकै संलग्नता छ। एकीकृत समाजवादीको पनि उत्तिकै संलग्नता छ,‘ शर्माले भने, ‘त्यसैले प्रधानमन्त्रीको पद हामी जान्दछौ कोही पाँच वर्ष एउटै प्रधानमन्त्रीले चलाउनुहुन्न। आलोपालोको प्रक्रियामा पुग्नुभन्दा अर्को विकल्प छैन।‘

उनले राष्ट्रपति र सभामुखको चयन गर्दा आवश्यक राष्ट्रिय सहमतिका साथ निष्कर्षणमा पुग्नुपर्ने धारणासमेत राखे। ‘राष्ट्रपतिको को बन्ने भन्ने विषय कम प्राथमिकताको बन्नु हुँदैन,’ शर्माले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell