PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फेरि किन चर्कियो फिल्म ‘कुसुमे रुमाल’ को लेनदेन विवाद?



लक्ष्मी बलायर

फेरि किन चर्कियो फिल्म ‘कुसुमे रुमाल’ को लेनदेन विवाद?

काठमाडौं : सोमवार संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ विमोचन भयो। पुस्तक सार्वजनिक भएसँगै ३७ वर्षअघि रिलिज भएको फिल्म ‘कुसुमे रुमाल’ विवाद बल्झिएको छ।  

गजमेरले पुस्तकमार्फत ‘कुसुमे रुमाल’ फिल्मलाई नेपालमा प्रदर्शन गर्ने विषयमा फिल्म प्रदर्शक तथा निर्माता उद्धव पौडेलले व्यावसायिक धोका दिएको आरोप लगाएका छन्।

‘कुसुमे रुमालको सुटिङ अनि पोस्ट-प्रोडक्सन सकिएपछि फिल्मको प्रिन्ट तयार भयो। यसैबीच हामीसामु एउटा प्राविधिक समस्या आइपर्‍यो। नेपालमा चलाउनका लागि नेपाली नागरिक नै लगानीकर्ता हुनुपर्ने कानुनी अड्चन थियो। नेपालका नागरिक पौडेलले उहाँको नाममा फिल्म दर्ता गर्न सकिने सल्लाह दिनुभएपछि हामीले आपत्ति जनाउने कुरा रहेन, बरु सबै खुसी भयौँ। हामीले अत्यन्त विश्वासका साथ पौडेललाई ‘कुसुमे रुमाल’को पहिलो प्रिन्ट थमाउँदै नेपाल पठायौँ। तर नेपाल पुगेर उहाँले त्यो फिल्म आफ्नो ब्यानरमा दर्ता गर्नुभएछ,’पुस्तकको ११७ पृष्ठमा उल्लेख छ।

नेपालमा सिनेमा धुमधामले चलेता पनि आफूले आजसम्म नाफाको एक पैसा नपाएकोसमेत उनको गुनासो छ। गजमेरको भनेका छन्, ‘सिनेमा धुमधामले चल्यो, ठाउँ-ठाउँमा सिल्भर जुब्ली र १०० दिन पनि मनायो ‘कुसुमे रुमाल’ कै कमाइबाट पौडेलले सिनेमा हल निर्माण गर्नुभएको पनि सुनियो तर, पौडेलले मुनाफाको एक पैसा पनि हामीलाई दिनुभएन उहाँ एकाएक हामीसँग वैरी हुनुभयो। हाम्रोबीच त्यो बेलादेखि बन्द भएको बोलचाल आजपर्यन्त कायमै छ। हाम्रै घरमा बसेको, मेरै श्रीमतीले पकाएको खाएको मान्छेले त्यसरी धोका देला भन्ने मैले सपनामा पनि सोचेको थिइनँ।’

सन् १९८५ मा रिलिज भएको फिल्म ‘कुसुमे रुमाल’ कुसुमे रुमाल रजत जयन्ती मनाउने पहिलो नेपाली फिल्म हो। तुलसी घिमिरे निर्देशित फिल्ममा भुवन केसी, तृप्ति नाड्कर र गायक उदितनारायण झाको मुख्य भूमिका थियो।

तर, उद्धव पौडेल भने संगीतकार गजमेरले लगाएको आरोपमाथि कुनै सत्यता नरहेको बताउँछन्। उनले भने, ‘उहाँलाई प्राविधिक समस्या पर्‍यो भन्ने कुरा नै गलत हो। मैले यो फिल्म किनेर ल्याएको हो। उहाँले किन त्यसो भन्नुभयो त्यो मलाई थाहा छैन। म स्वयम अचम्ममा परिरहेको छु। उहाँ फिल्मको संगीतकार हो भने उहाँकी श्रीमती कुसुम कुमारीको नाम सहनिर्माताको रुपमा थियो।’

साथै यसअघि मिलापत्र भइसकेको मुद्दामा गजमेरले फेरि आरोप लगाउँदा दु:ख लागेको पौडेलले सुनाएँ। ‘कुसुमे रुमालको निकै विवाद भयो। यस विषयमा अदालतमा मुद्दासमेत परेको थियो। तर, चलचित्र निर्माता संघले हामीबिच सहमति जुटाएर मुद्दा सल्टिसकेको थियो। उहाँ कुसुमे रुमालको संगीतकार मात्रै हो। आधिकारिक मान्छे त तुलसी घिमिरे र श्रवण घिमिरेजी हो,’ उनले भने।

यस विषयमा आफूहरु फेरि पनि छलफल गर्नेसमेत उनले सुनाएँ। निर्माता तथा निर्देशक अशोक शर्माले फिल्म ‘कुसुमे रुमाल’ को लेनदेनको मुद्दा २५ वर्षअघि नै समाधान भइसकेको दाबी गरे। आफू निर्माता संघको महासचिव हुँदा यो विषयमा सहमति गराएर सर्वोच्च अदालतमा पठाएर मुद्दा फिर्ता गरिएकोसमेत उनी सुनाउँछन्।

भन्छन्, ‘यो २५ वर्षअघि समाधान भइसकेको मुद्दा हो। यो मुद्दा सर्वोच्च अदालतसम्म नै पुगेको थियो। तर, पछि निर्माता संघसम्म पनि यस विषयमा छलफल भयो। म महासचिव भएको बेला न्यायिक समितिमा दुवै पक्षलाई बोलाएर सहमति भएको थियो। पछि सहमति भएको कागत सर्वोच्च अदालतमा पठाएर मुद्दा फिर्ता खारेज भएको हो।’

शर्माका अनुसार उद्धव पौडेलसँगको लेनदेनको मुद्दा गजमेरसँग नभएर उद्धव पौडेल र तुलसी घिमिरे र श्रवण घिमिरेबिच भएको हो। तर, गजमेरले अहिले किन यस्तो लेख्नुभयो भन्ने कुराले अचम्म लागेको बताएँ। शर्मा भन्छन्, ‘यो सहमतिमा टुंगिसकेको मुद्दा हो। उहाँले किन लेख्नुभयो थाहा छैन। जबकि यस मुद्दामा उहाँको कुनै सक्रियता छैन। उहाँले पुस्तकमा विवादको कुरा त छाप्नुभयो तर निस्कर्ष पनि छाप्नुभएको भए राम्रो हुन्थ्यो। यसरी आधा कुरा मात्र लेख्नु गलत हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell