
काठमाडौं : सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा सोमबार रातभर विधिपूर्वक धनुर्मास पूजा तथा आराधना गरिएको छ। पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन्। प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा तथा आराधना गर्ने परम्परा छ। धनुर्मास पूजा गर्नुअघि सोमबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा रहिआएको छ। पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पचास दिनसम्म पानीको सतहमुनि बस्ने भएकाले मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी पनि खुवाउने परम्परा पनि छ। सोमबार राति १ बजेदेखि आज बिहान ६ बजेसम्म धनुर्मास पूजा गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए। आजको विशेष पूजा पनि राति नै सम्पन्न गरिएको छ।
धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ। सोमबार रातभर धनुर्मास पूजा गरेपछि मंगलबार पशुपतिनाथलाई उपवास राख्ने भएकाले आज अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिने उनको भनाइ छ। उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाइ घाममा शयन गर्नुहुने धार्मिक विश्वास रहेको छ।
यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइने र बेलुकी शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा आरती गरिन्छ। बुधबार बिहानदेखि भने नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।