काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले शेरबहादुर देउवाको नेतृत्व अहिलेको आवश्यकता भएको बताएका छन्। सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा मनोनयन दर्ता कार्यक्रमबिच उनले यस्तो बताएका हुन्।
कांग्रेसको संसदीय दलको नेताका लागि प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।
संस्थापन पक्षमा रहेका महतले देउवाले पार्टी भित्र र अन्य दलसँग सन्तुलन मिलाउन नै फेरि पनि संसदीय दलमा उम्मेदवारी दिएको बताए।
भने, 'यो आवश्यकताको सिद्दान्तले चल्छ। कोहि बारम्बार हुन्छ कोहि हुँदैनन्। परिपक्क र सबैलाई जोड्न सक्ने नेताको आवश्यकता छ। अहिले सुझबुझको नेतृत्व आवश्यक छ,' उनले भने।
देउवालाई पार्टी र अन्य दलले पनि स्वीकार्ने अवस्था रहेको भन्दै उनले थप भने, 'अहिलेको आवश्यकता छ भनेर उहाँले उम्मेदवारी दिनु भएको छ। रामचन्द्र पौडेलले यतिकै प्रस्ताव गर्नुभएको होइन त्यसको कारण छ।'
देउवालाई संसदीय दलको नेतामा मनोनयनका लागि पूर्णबहादुर खड्का समर्थक बसेका छन् भने रामचन्द्र पौडेलले समर्थन गरेका छन्।