PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

गगनलाई विश्वप्रकाशदेखि देउवा गुटकै प्रदीपको साथ, शेखरको त्यागले बन्लान् त संसदीय दलको नेता?



नेत्र तामाङ

गगनलाई विश्वप्रकाशदेखि देउवा गुटकै प्रदीपको साथ, शेखरको त्यागले बन्लान् त संसदीय दलको नेता?

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतरको नेतृत्व सम्हाल्दै आएका डा शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेका छन्। निर्वाचनअघि प्रधानमन्त्रीमा दाबी गर्दै आएका शेखर मोरङबाट निर्वाचित पनि भए। निर्वाचित भएसँगै शेखरले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारी गरेका थिए।

यद्यपि, आफ्नै गुटबाट महामन्त्री गगन संसदीय दलको नेता बन्ने दौडमा उत्रिएपछि दुई जनाको टसलसमेत भएको थियो। दुई नेताको टसललाई सहमतिमा ल्याउन संस्थापनइतर समूहमा रहेका नेताले सोमवार दिउँसोबाटै प्रयास थालेका थिए। सोमवार होटल एम्बासडरमा बसेको बैठक र मंगलवार बिहानभरको प्रयासले दुई नेताबिच सहमति जुट्यो र गगनलाई संसदीय दलको नेता बनाउन शेखर तयार भए।

लगत्तै गगनको पक्षमा एकाएक माहोल सिर्जना भयो। कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यसअघि देखि नै गगनलाई प्रधानमन्त्रीका रुपमा आफूले प्रस्ताव गर्ने बताउँदै आएका थिए। मंगलवार संसदीय दलको नेतामा संस्थापनइतरबाट गगन सर्वसम्मत हुने निर्णय हुनसाथ होटल बसेरामा पुगे विश्वप्रकाश। अनि गगनको समर्थक बने उनी। गगनलाई समर्थन गर्नेमा उनीमात्रै हैनन् युवा नेता प्रदीप पौडेल पनि उभिएका छन्। कांग्रेसको 'थर्ड पोल' मानिने कृष्णप्रसाद सिटौलाको साथ पाएर देउवा क्याम्पबाटै महामन्त्रीमा भिडेका प्रदीपको साथले यतिबेला गगन बलिया उम्मेदवारको रुपमा देखिएका छन्। यसअघि शेखरलाई संसदीय दलको नेताका रुपमा मान्ने बताउँदै आएका उपसभापति धनराज गुरुङ पनि गगनका समर्थक बसेका छन्।

यता, संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन्। देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल बस्दा समर्थकमा उपसभापति पूर्णबहादुर खड्का उभिएका छन्।

उम्मेदवारी दर्तापछि प्रधानमन्त्रीसमेत रहेका देउवा कुनै प्रतिक्रिया नदिइ बालुवाटार फर्केका छन् भने गगनले संक्षिप्त प्रतिक्रिया दिएका छन्। थापाले पार्टी सभापति देउवाले संसदीय दलको नेतामा दिएको उम्मेद्वारी फिर्ता लिएमा एतिहासिक हुने बताए।

‘अबको दुई घण्टापछि श्रद्धेय सभापतिले आज उहाँले उम्मेदवारी फिर्ता लिएमा एतिहासिक हुनेछ। यो कुरा मनन गर्न मेरो अनुरोध छ,’ थापाले भने।

निर्वाचन समितिले केही बेरमै उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्नेछ र आजै पौने ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

प्रकाशमानलाई गुण सम्झन आग्रह

उम्मेद्वारी मनोनयनपछि गगनले वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि प्रकाशमान सिंहसम्मलाई जनताले चाहेको परिवर्तनको पक्षमा उभिनसमेत आग्रह गरेका छन्। ‘रामचन्द्र पौडेललाई पनि कांग्रेसभित्रको परिवर्तनको अपेक्षालाई मनन गरिदिनुहुन अनुरोध गर्दछु। प्रकाशमान सिंहलाई पनि विचार गरिदिनुहुन अनुरोध गर्दछु,’ थापाले भने।

हुन त कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यसअघि नै देशको वर्तमान परिस्थितिमा देउवालाई नै सघाउनुपर्ने बताइसकेका छन्। अघिल्लोपटकको संसदीय दलमा देउवासँग भिडेका प्रकाशमान मंगलवार मनोनयनका क्रममा सिंहदरबारमा देखिएनन्। गगनले अघिल्लो संसदीय दलको निर्वाचनमा प्रकाशमानलाई सघाएका थिए। त्यही गुण सम्झनसमेत गगनले प्रकाशमानलाई आग्रह गरे।

‘परिवर्तनको लागि उहाँको उम्मेदवारी हुँदा परिवर्तनको पक्षमा दृढ उभिएको हुँ,’ गगनले भने।

थापाले आफूलाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने नेता र समर्थन गर्ने नेताहरुलाई धन्यवादसमेत दिए। ‘प्रतिनिधि सभाको निर्वाचन भएपश्चात नेपाली कांग्रेसमामात्र संसदीय दलको निर्वाचन हुँदैछ। यसमा हामीलाई सन्तोष छ। गर्व लागेको छ। मलाई प्रस्ताव गर्ने श्रद्धेय नेता डा शेखर कोइराला, समर्थन गर्ने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, अनन्य मित्रप्रदीप पौडेललाई आभार प्रकट गर्दछु। ह्दयदेखि नै सम्मान व्यक्त गर्छु,’ गगनले भने।

मतदाताको माग अनुमोदन गर्न आग्रह

थापाले आम मतदाताको मागलाई अनुमोदन गर्न कांग्रेसका सांसदहरुलाई आग्रहसमेत गरेका छन्। कांग्रेसमा यसपटक प्रत्यक्षबाट ५७ जना र समानुपातिकबाट ३२ सहित ८९ सांसद रहेका छन्। पार्टीलाई बदल्न र देशलाई बदल्न आफू तयार रहेको उल्लेख गर्दै थापाले संसदीय दलको नेतामा आफूलाई जिताउनसमेत आग्रह गरे।

‘निर्वाचित भएर आएका तमाम साथीहरु यो पार्टीको आन्तरिक निर्वाचन हैन। हामी जनताले छानेर आएका हौं। हामी मतदाता भएर आएका छौं। पार्टीले छानेर हैन जनताले छानेर मतदाता भएको हो। आम मतदाताको माग के छ त्यसको प्रतिनिधित्व कांग्रेसका सांसदहरुले गर्नुहुन्छ भन्ने विश्वास छ,’ थापाले भने,‘कांग्रेसको भविष्यसँग यो जोडिएको छ। यसका निम्ति मेरो दाबी हो। विवेकले काम गर्नुहोला। कांग्रेसको भविष्यका लागि काम गर्नुहुन्छ भन्नेमा विश्वास छ। परिवर्तनको वेगलाई हामी मनन गर्न चाहन्छौं। जसले यसलाई मनन गर्छ उही हाम्रो नेता बन्न सक्छ। निरन्तरताको प्रतिकका रुपमा डा शेखर कोइरालालाई लिएर हामी अघि बढेका छौं। पार्टीलाई रुपान्तरण गर्छौं। पार्टीलाई बदल्छौं। देशलाई बदल्छौं। यसलाई साथीहरुले अनुमोदन गर्नुहुन्छ भन्नेमा ढुक्क छु।’

पार्टीमा स्थायित्व र निरन्तताको लागि आफूले गगनलाई अघि बढाएको डा कोइरालाले बताए। आफै प्रधानमन्त्रीको आकंक्षी भएर पनि अन्तिम समयमा कसरी सहमति भयो?  पत्रकारको प्रश्नमा कोइरालाको जवाफ थियो,‘स्थायित्व र निरन्तरताका लागि छलफलपछि सहमति भयो।’

देउवा गुट र प्रकाशमान समूहको सहयोग

८९ सांसद रहेको कांग्रेसमा संसदीय दलको नेता बन्न ४५ मत भए पुग्छ। यसअघिको समीकरण हेर्दा देउवा पक्षमा ५२ सांसद थिए भने शेखर पक्षमा २४ सांसद थिए। बाँकी सांसद वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा शशांक कोइराला पक्षमा रहेका थिए।

संसदीय दलको नेतामा मनोनयनपछि देउवा गुटमा रहेका प्रदीप र प्रकाशमानको पक्षमा रहेको भनिएका महामन्त्री शर्माको साथले गगनको पक्षमा थप माहोल बन्ने देखिन्छ। मनोनयनपछि गगनको समर्थनमा ४१ जना सांसद पुगेको एक नेताले दाबी गरे। यद्यपि, रामचन्द्र र डा शशांक कोइरालाको पक्षमा रहेका १० सांसद कता लाग्ने हुन् यसको टुंगो लागेको छैन।

पूर्वमहामन्त्रीसमेत रहेका डा शशांकले यसअघि आफूले देउवालाई साथ दिने बताउँदै आएका थिए। संस्थापन पक्षमा रहेका केही सांसदहरु देउवासँग असन्तुष्ट रहेको बताइन्छ। असन्तुष्ट पक्षलाई समेट्न सकेमा गगनको पक्षमा परिणाम आउन सक्ने बताइन्छ। यद्यपि यसको लागि शेखर पक्षका सांसदहरुको प्रतिबद्ध मत गगनको पक्षमा आउनुपर्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell