PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

निर्वाचनबाट दोस्रो दल बनेको एमालेको प्रचार पहिलो पार्टीको

निर्वाचनबाट दोस्रो दल बनेको एमालेको प्रचार पहिलो पार्टीको

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेकपा एमाले निर्वाचनपछि दोस्रो दल बनेको छ। गत निर्वाचनमा पहिलो दल बनेको एमालेले यसपटक प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सिट पाउँदै प्रतिनिधि सभामा ७८ सिट सुरक्षित गरेको छ।

यिनै निर्वाचित सांसदहरुलाई बधाई दिन एमालेले मंगलवार दिउँसो प्रज्ञा भवन कमलादीमा कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष केपी शर्मा ओली थिए। निर्वाचनको घोषणापत्र जारी गर्दा ‘हाइटेक’ शैलीमा उत्रिएको एमालेले प्रज्ञामा पनि यही शैली देखियो।

यद्यपि दोस्रो दल बनेको एमालेले पहिलो दल भएझैं प्रचार गरिएको थियो। डबलीदेखि ठाउँठाउँमा राखिएको ब्यानरमा लेखिएको थियो – नेकपा एमाले जनताको रोजाइको पहिलो पार्टी। नेकपाको सरकार हुँदा माओवादीसहित माधव नेपालले विद्रोह गरेपछि सडकमा उतारेको ओलीको डमी यहाँ पनि राखिएको थियो। ठाउँठाउँमा जनताको रोजाइमा पहिलो पार्टी भनेर लेखिए पनि केही स्थानमा भने उक्त दाबीबाट बच्नका लागि होला, समानुपातिक मत उल्लेख गर्दै लेखिएको थियो - लोकप्रिय मतमा पहिलो एमाले! प्रिय मतदाता धन्यवाद।

एमालेले समानुपातिकमा २८ लाख ४५ हजार ६४१ पाउँदै पहिलो ३४ सिट पाएको हो। यता कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाउँदै समानुपातिकमा ३२ सिट सुरक्षित गर्‍यो। कांग्रेसले प्रत्यक्षमा ५७ सिट जित्यो र ८९ सिटसहित पहिलो दल बन्यो।



ट्रेन्डिङ पोस्ट

Ncell