PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

देउवालाई प्रकाशमान, निधि र शशांकको पनि साथ, कति छ भोट?



पहिलोपोस्ट

देउवालाई प्रकाशमान, निधि र शशांकको पनि साथ, कति छ भोट?

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदीय दलको निर्वाचनमा प्रकाशमान सिंहदेखि डा शशांक कोइरालाको साथ रहने देखिएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले खुलेरै देउवाको साथ दिइसकेका छन् भने सिंह, विमलेन्द्र निधि र कोइरालाको पनि साथ रहने देउवा समूहका एक नेताले बताए।

एक वर्षअघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान र निधिले सभापति देउवालाई साथ दिने बताइसकेका छन्। यता कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा शशाङ्क कोइरालाले पनि आफू सभापति देउवाका साथमा रहेको बताएका छन्। उनले हालै एक सार्वजनिक कार्यक्रममा मुलुक हाँक्न अनुभवी तथा परिपक्व नेता आवश्यक रहेकाले देउवा नै संसदीय दलको नेता चुनिने बताएका थिए।

चारै नेताको साथले सभापति देउवा संसदीय दलको नेता निर्वाचित हुने निश्चित भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले दाबी गरे। ‘सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित हुने कन्फम हो, संसदीय दलको अङ्क गणितमा ६७ सांसदको समर्थन पक्का भइसकेको छ,’ प्रेस प्रमुख परियारले भने।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन भोलि बुधबार बिहान ८ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने भएको छ। दलको नेतामा सभापति देउवा र कांग्रेस महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन्। थापा पक्षका नेताले भने ४१ मत आफ्नो पक्षमा रहने दाबी गरेका छन्। कांग्रेसमा ८९ जना सांसद रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell