PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

चीनको कोभिड-१९ सम्बन्धी नीतिप्रति अमेरिकी आलोचना, आफ्नो नीति सही भएको चीनको दाबी



विधुर ढकाल

चीनको कोभिड-१९ सम्बन्धी नीतिप्रति अमेरिकी आलोचना, आफ्नो नीति सही भएको चीनको दाबी
फोटो : ग्लोवल टाइम्स।

सांघाई: चीनमा पछिल्लो समय तीव्र रुपमा कोभिड-१९ को संक्रमण तीव्र रुपमा फैलिँदै गर्दा अन्तर्राष्ट्रिय रुपमा आलोचना हुन थालेको छ। 'शून्य कोभिड' नीतिलाई तीन वर्षसम्म निरन्तरता दिएको चीनले डिसेम्बरको पहिलो हप्तादेखि नियम परिवर्तन गर्दै खुकुलो नीति लिएको छ। 

सोमबार (डिसेम्वर २०) मा मात्र अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले चीनको नीतिलाई 'सबैतिरका जनताको लागि चुनौती'को रुपमा संज्ञा दिएका छन्।

विगतमा चीनले शून्‍य कोभिडको नीति अंगीकार गर्दा पश्चिमा मिडियामा सर्वसाधरणको मानव अधिकार हनन् भएको भन्दै टिप्पणी हुने गर्थ्यो। चीनमा पनि डिसेम्बरको सुरुवातमा सरकारले लिएको कोभिड-१९ सम्बन्धी नीतिको विरोधमा मुख्य शहरहरुमा केही प्रदर्शन भएका थिए। लगत्तै चीन सरकारले डिसेम्बर ७ देखि कोभिड-१९ सम्बन्धी शून्य कोभिड नीतिलाई परिवर्तन गर्दै खुकुलो नीति अपनाएको छ। 

यसैबीच अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको टिप्पणीप्रति चिनियाँ विदेश मन्त्रालयले कोभिड-१९ सम्बन्धी चीनको नीति सही भएको स्पष्टीकरण दिएको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता माओ निङले यस्तो प्रतिक्रिया दिएकी हुन्। 

'विगत तीन वर्षमा, चिनियाँ सरकारले आफ्नो कोभिड नीतिमा जनता र उनीहरूको जीवनलाई पहिलो स्थानमा राखेको छ र चीनको राष्ट्रिय वास्तविकतामा आधारित बहुसंख्यक चिनियाँ जनताको हितमा सेवा गर्ने कोभिड नीति तर्जुमा गरेको छ,' उनले भनिन्, 'विगत तीन वर्षमा चीनको कोभिड नीतिले जनताको जीवन र स्वास्थ्यलाई अधिकतम सुरक्षा प्रदान गरेको छ, सामाजिक आर्थिक विकासमा कोभिडको प्रभावलाई न्यूनीकरण गरेको र विज्ञानको आधारमा भाइरसलाई बुझ्न, अनुसन्धान र विकासका लागि बहुमूल्य समय खरिद गरेको देखाउँछ।' 

उनले चीनले यो तीन वर्षमा कोभिड-१९ विरुद्ध न्यूनतम लागतमा सबैभन्दा प्रभावकारी नतिजा हासिल गरेका दाबी गरेकी छन्। 'हाल, हामी महामारीको नीति र सामाजिक आर्थिक विकासलाई अझ राम्रोसँग समन्वय गर्नका लागि हाम्रो कोभिड नीति उपायहरूलाई महामारीको नयाँ घटनाक्रमहरूमा अनुकूलन गर्दैछौं,' उनले भनेकी छन्, 'हामी विश्वास गर्छौं, चिनियाँ जनताको संयुक्त प्रयास र ऐक्यबद्धताले हामी स्थिर र व्यवस्थित आर्थिक र सामाजिक विकासको नयाँ चरणमा प्रवेश गर्नेछौँ।'

प्रवक्ता माओले चीनले कोभिड-१९ विरुद्धको लडाईंमा अन्तर्राष्ट्रिय समुदायसँग ऐक्यबद्धता र सहयोगलाई गहिरो बनाउन तयार रहेकोसमेत बताइन्।

'सबैको लागि स्वास्थ्य कोभिड चुनौतीलाई संयुक्त रूपमा सम्बोधन गर्न, जनताको जीवन र स्वास्थ्यको रक्षा गर्न, विश्व अर्थतन्त्रको सुदृढ पुनरुत्थान र विकासलाई प्रवर्द्धन गर्न र विश्व समुदायको निर्माणलाई अगाडि बढाउन अन्तर्राष्ट्रिय समुदायसँग काम गर्न तयार छ,' उनले भनिन्। 

अमेरिकी अधिकारीले चीनमा संक्रमण बढ्दा नयाँ म्युटेसन बढ्दै विश्वमा नै खतरा हुने टिप्पणी प्रति उनले चीनले चीन कोभिड-१९ नियन्त्रणका लागि सक्षम रहेको प्रतिक्रिया दिइन्। 'म तपाईँलाई चीनका सक्षम अधिकारीहरूसँग भेट ग‌र्न भन्छु। हाल चीनका सम्बन्धित विभागहरू र स्थानीय सरकारहरूले सीपीसी केन्द्रीय समिति र राज्य परिषद्का निर्णय र आवश्यकता पूरा गर्दैछन्, कोभिड नियन्त्रणका लागि २० उपाय र १० नयाँ उपाय कार्यान्वयन गर्दैछन् र यससम्बन्धी आफ्नो कामलाई परिष्कृत गरिरहेका छन्,' उनले भनेकी छन्, 'चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको बलियो नेतृत्वमा र सम्पूर्ण राष्ट्रको ऐक्यबद्धता र राम्रोसँग परीक्षण गरिएको चिकित्सा उपचारको साथमा हामी संक्रमणको चरम सीमा पार गर्नेछौं।' 

यसैबीच चिनियाँ अधिकारीहरुले अन्य रोगको कारण भएका मृत्युहरुलाई कोभिड-१९ को ओमिक्रोन संक्रमण नभनिने बताएका छन्। 

पेकिङ विश्वविद्यालयको प्रथम अस्पतालको संक्रामक रोग विभागका निर्देशक वाङ गुइछियाङले ओमिक्रोनले केही मात्रामा निमोनियाको संक्रमण हुने भए पनि यसले मृत्यु सम्म नपुर्‍याउने बताएका छन्। 

कोरोना भाइरसका कारण निमोनिया वा श्वासप्रश्वासम्बन्धी रोग लागि मृत्यु भए कोभिड सम्बन्धी मृत्युमा वर्गीकरण गर्ने र अन्य रोगका कारण वा कार्डियो भास्कुलर र सेरब्रो भास्कुलर रोग वा मियो कार्डियल इन्फ्राक्सनका कारण हुने मृत्युलाई कोभिड-१९ सम्बन्धी मृत्युमा वर्गीकरण नगरिने उनले बताएको ग्लोबल टाइम्सले जनाएको छ। 

कोभिड १९ को ओमिक्रोन स्ट्रेनले माथिल्लो स्वास प्रश्वास ट्र्याकमामा संक्रमण गर्ने र तल्लो स्वास्प्रस्वास ट्र्याकमा निमोनिया गराउने अनुपात कम रहेको उनको भनाइ थियो। 

यसैबीच चीनका केही शहरहरुमा कोभिड-१९ का सामान्य लक्षण भएका बिरामीहरुलाई पनि काममा फर्किन सक्ने सूचना जारी गरेका छन्। दक्षिण पश्चिमको छोङछिङ र गुइयाङ शहरले कोभिड-१९ को सामान्य लक्षण भए पनि यदी उनीहरु काम गर्न सक्ने अवस्थामा रहे काम फर्कन सक्ने जनाएको छ। 

चीनले स्थानीय सरकारलाई स्थानीय अवस्था हेरी कोभिड-१९ सम्बन्धी नीति बनाउन छुट दिएको छ।  

सरकारी संस्थाहरु, स्वास्थ्य संस्थाहरु, एक्सप्रेस तथा लजिस्टिक उद्योग, सुपर मार्केट तथा अन्य संस्थामा लक्षणरहितका कोभिड-१९ संक्रमित वा सामान्य लक्षण भए पनि उनीहरुले काम गर्न सक्ने अवस्था भए काममा फर्किन सक्ने सूचना गुइयाङ प्रशासनले जारी गरेको ग्लोवल टाइम्सले जनाएको छ। 

त्यस्तै छोङछिङ, वुहु, आनहुई, चजियाङले पनि यस्तै किसिमको सूचना जारीगरेका छन्। 

'लक्षण विनाका वा सामान्य लक्षणसहितका सरकारी संस्थाका सबै तहका कर्मचारीहरु, व्यवसायीक प्रतिस्ठानका कर्मचारी सामान्य रुपमा स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काममा फर्किन सक्छन्,' छोङछिङ नगर सरकारको वेबसाइटमा जारी सूचनामा भनिएको छ। 

त्यस्तै त्यहाँको स्थानीय सरकारले सर्वसाधरणलाई अनावश्यक रुपमा कोभिड-१९ को परीक्षण नगर्न भनेको छ। यता चीनका अधिकांश कोभिड-१९ सम्बन्धी फिवर क्लिनिकमा आएका ९० प्रतिशत बिरामीहरुमा संक्रमण रहेको बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell