
धेरै हिसाबले फुटबलमा फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे अगाडि छन्। आइतवार फ्रान्सलाई अर्जेन्टिनाले हराउँदै च्याम्पियन बन्दा हारको बाबजुत एम्बाप्पेले वाहवाही कमाए। अर्जेन्टिनालाई च्याम्पियन बन्न कडा टक्कर दिएका एम्बाप्पेले ह्याट्रिक पूरा गर्दै विश्वकप फाइनलमा यो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बने।
कतारमा एम्बाप्पेले जे गरेर देखाए, त्यो ठूलाठूला फुटबल स्टारहरुको सपना हो। एम्बाप्पेको सन्दर्भमा भने यो यथार्थ थियो। अझ उनको टोलीले जितेको भए के हुन्थ्यो? सुनमाथिको सुगन्ध!
फुटबलमा छाएका एम्बाप्पेको के हो कथा?
जर्सी नम्बर १० लगाएर फ्रान्सको टोलीमा उत्रने एम्बाप्पेको जन्म पेरिसको उत्तरमा रहेको सानो शहर बन्डीमा भएको थियो। त्यसताका उनको परिवारमा उनीबाहेक उनका बुवा विलफ्रेड, आमा फैजा र 'एडप्ट' गरिएका उनका दाजु केन्बो इकोको थिए।
उनीहरुको परिवार बान्डी फुटबल क्लबको मैदानको ठीक अगाडितर्फ बस्ने गर्दथ्यो। यहीँ एम्बाप्पेका भाइ एथेनको जन्मभएको थियो। घरबाट सडक पार गर्नेबित्तिकै एम्बाप्पे मैदान पुग्थे। जहाँ घण्टौ फुटबल खेलेर बिताउने गर्दथे।
उनका बुवा विलफ्रेड पनि त्यहाँका स्थानीय क्लबहरुसँग जोडिएका थिए। उनी फुटबल प्रशिक्षकका रुपमा धेरै टोलीलाई प्रशिक्षण पनि दिए। त्यो क्षेत्रमा उनको मानसम्मान राम्रो थियो। उनको पहिचान पेरिसका फुटबल क्लबसम्मै थियो।
विलफ्रेडका छोरा एम्बाप्पेलाई फुटबल बाहेक अरु कुनै कुराको मतलब थिएन। उनी आफ्ना बुवाको अघि पछि लागिरहन्थे। र, फुटबल प्रशिक्षण दिएको ठाउँमा गएर फुटबल खेल्ने गर्दथे। उनको दैनिकी फुटबलकै वरिपरि घुम्थ्यो। चाहे टिभीमा फुटबल हेरेर होस्, साथीहरुसँग खेलेर होस् या स्कुल फुटबलको तयारी गरेर होस्। एम्बाप्पे हरेक साँस फुटबल फेर्दथे।
एम्बाप्पे पोर्चुगिच स्टाट्राइकर क्रिस्टियानो रोनाल्डोका 'डाइहार्ट फ्यान' थिए। उनका कोठाका भित्ताहरुमा रोनाल्डोका तस्बिरहरु टाँसिएको हुन्थ्यो। उनी सानै हुँदा उनको खेल हेरेर थाह भइसकेको थियो: उनीसँग फुटबलको गिफ्ट छ।
उनको चर्चा पेरिससम्म फैलन समय लागेन। फ्रान्सका क्लबहरु र युरोपका अरु क्लबले पनि उनीमाथि चासो बढाउन थाले। एम्बाप्पे आफ्नो एउटा योजनामा काम गरिरहेका थिए। उनको परिवार पनि चाहन्थ्यो, उनी केही वर्ष फ्रान्समै बसुन्। तर, अन्तर्राष्ट्रिय एक्सपोजरलाई अस्वीकार गर्नु चानचुने कुरा पनि थिएन्।
एम्बाप्पे ११ वर्षको हुँदा इङ्ग्लिस क्लब चेल्सीले एक हप्ताका लागि लगेको थियो। त्यस्तै स्पेनिस क्लब रियल मड्रिडमा १२ वर्षको छँदा एक हप्ता ट्रेनिङ गरेका थिए। युरोपका यी दुई क्लबले किलियनका आमाबुवालाई फकाउन हरसम्भव प्रयास गरे। तर, उनीहरु किलियनलाई न लण्डन पठाउन चाहान्थे न मड्रिड। भलै, यी दुई क्लब उनीहरुलाई मागेजति पैसा दिन तयार थिए।
उनको परिवार एम्बाप्पे अझै केही समय त्यही बसेर आफ्नो स्कील तिखारुन भन्ने चाहन्थ्यो। एम्बाप्पे जहाँ जान्थे, त्यहाँको उत्कृष्ट बन्थे। पेरिसको एकेडेमीमा पनि उनी आफ्नो ब्याचको सबैभन्द उत्कृष्ट खेलाडी बने।
सयौं १३ वर्षे किशोरहरुमध्येबाट छानिएर एम्बाप्पे क्योयरफोते एकेडेमीमा दुई वर्ष बिताए। विकेन्डमा सानातिना क्लबहरुमा खेल्न जाने गर्दथे। जहाँ प्रोफेसनल क्लबहरुको नजर रहन्थ्यो, र, राम्रा खेलाडीमाथि नजर राख्ने गर्थे। एकेडेमीमै छँदा उनको प्रतिभा देखेर कयौ क्लब उनको पछि लागेका थिए। तर, उनी त्यही एकेडेमीमा २ वर्ष पुरा गर्ने लक्ष्यमा थिए।
एम्बाप्पेले व्यवसायिक खेल फ्रेन्च क्लब मोनकोबाट सुरु गरे। मोनाकोले चाँडै मुख्य टिमबाट खेलाउने सर्त राखेर उनलाई अनुबन्धित गर्यो। १५ वर्षे एम्बाप्पेलाई अरु के चाहिएको थियो र? फुटबल मैदानमा उत्रन उनी हौसिएका थिए।
मोनाकोमा उनलाई युवा टोलीमा सहभागी गराउने तयारी चल्दै थियो। तर, एम्बाप्पेलाई आफ्नो आदर्श क्रिस्टियानो रोनाल्डो जस्तै च्याम्पियन्स लिग खेल्नु थियो।
एम्बाप्पेको सफलताको कारण बुझ्न उनको परिवारले दिएको साथ बुझ्न आवश्यक हुन्छ। उनको परिवार सँधै उनीसँगै रह्यो।
मोनाकोमा सानदार लयको बावजुत पनि उनले अवसर पाएनन्। यसको विरोधमा उत्रिए एम्बाप्पे। अन्तत: २०१५ मा मोनाको फुटबल क्लबका प्रशिक्षक लियोनार्दो जडिमले उनलाई अवसर दिए। १६ वर्ष ३४७ दिनको उमेरमा लिगमा डेब्यु गरेर एम्बाप्पेले थरी अनरीको कीर्तिमान पछि पारे। त्यसबेला धेरै सोचेका थिएनन् होला: एम्बाप्पेले कीर्तिमानहरुको बाढी ल्याउँदैछन्।
लगत्तै एम्बाप्पे मोनाको क्लबका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी पनि बने। यसपछि फेरि एकपटक युरोपमा उनलाई अनुबन्धन गराउने होड सुरु भयो।
स्पेनिस क्लब रियल मड्रिडले एम्बाप्पेलाई अनुबन्धित गराउने भरपुर प्रयास गर्यो। क्लबले धेरै ट्रायलहरु गरायो। प्रशिक्षक जिनेदिन जिदानसँग भेट गरायो, उनको आदर्श क्रिस्टियानो रोनाल्डोसँग भेट गरायो। क्लबले उनलाई लोभ्याउन हरसम्भव प्रयास गर्यो।
तर, अन्तिममा एम्बाप्पेले फ्रान्सकै ठूलो क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई छनोट गरे।
यसपछि? अंग्रेजीमा एउटा भनाइ छ: द रेस्ट इज हिस्ट्री