काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेता छान्न केहीबेरमा निर्वाचन हुँदैछ। दलको नेता बन्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदानमा छन्।
मतदान सुरु हुन लाग्दा थापाले मतदाताहरुलाई विवेकसम्मत निर्णय गर्न अपिल गरेका छन्।|
'पार्टीका श्रद्धेय नेताहरू तथा सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखि युगानुकुल निर्णय गरी संसदीय दलको नेतामा मलाई मतदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछु,' थापाले अपिलमा लेखेका छन्।
उनल वर्तमान राजनीतिक अन्यौलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा भएको बताएका छन्। सरकारको नेतृत्व, सोच, नीति, कार्यक्रम र कार्यशैली परिवर्तनका पक्षमा नेपाली जनताले दिएको जनादेशको पूर्ण सम्मान गर्ने थापाले भनेका छन्|