PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

८ वर्षदेखि अलपत्र जोरपाटी-साँखु सडकमा पर्ने थलीमा कालोपत्रे गर्ने काम तीन दिनभित्र सक्न निर्देशन



पहिलोपोस्ट

८ वर्षदेखि अलपत्र जोरपाटी-साँखु सडकमा पर्ने थलीमा कालोपत्रे गर्ने काम तीन दिनभित्र सक्न निर्देशन

काठमाडौंः ८ वर्षदेखि अलपत्र जोरपाटी-साँखु सडकमा पर्ने थलीमा कालोपत्रे गर्ने काम तीन दिनभित्र सक्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्देशन दिएको छ।

आयोजनाले मंगलबार निर्माण कम्पनीलाई सो खण्डको कालोपत्रे गर्ने काम तीन दिनभित्र सक्न निर्देशन दिइएको हो।केहीदिन अगाडिदेखि निर्माण कम्पनीले काम नगरेको भन्दै स्थानीयले बाटो बन्द गरेर आन्दोलन गर्दै आएका थिए। उनीहरुले कालोपत्रे नभएसम्म गाडीहरु संचालन गर्न नदिने माग राख्दै उक्त खण्डको सडक बन्द गरेका हुन।

त्यसपछि आयोजनाले निर्माण कम्पनीलाई ताकेता गर्दै अलपत्र अवस्थामा रहेको थली सडक खण्डमा कालोपत्रे गर्न सुरु गरेको थियो। तर निर्माण कम्पनी बज्रगुरु/ बिरुवा/ खानी जेभीले एक लेन कालोपत्रे गरेर बेपत्ता भएपछि आयोजनाले यस्तो निर्देशन दिएको हो।

आयोजनाले सूचनामा थली बजार क्षेत्रमा २९ मंसिरमा एक लेन कालोपत्रे गरेपछि अलपत्र छाडेको उल्लेख छ। निर्माण व्यवसायीले प्रतिबद्धता बमोजिम काम नगरी अलपत्र छाडेको कारण आयोजनाको बारेमा नकारात्मक प्रभाव परेको र यसले फेरी स्थानीयले सडक बन्द गर्न सक्ने भएकाले यो निर्देशन दिएको हो।

आयोजनाले काम नसके बैंक ग्यारेन्टीहरू जफत गरी ठेक्का सम्झौता बमोजिम कारवाही प्रकृया अगाडि बढाउने चेतावनी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell