कैलाली : कैलालीमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका ७ हरैयामा टिप्परले अटोलाई ठक्कर दिँदा घाइते भएका ३ वर्षीय बालकको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रमका मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनापछि स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। सडक अवरोध खुलाउन स्थानीय र प्रहरीबिच तनाव सिर्जना भएको छ।
बुधवार बिहान कैलालीको गोदावरी ७ हरैयामा पूर्वबाट पश्चिम तर्फ आइरहेको सु प प्र ०१००१ क २०२० नम्बरको टिप्परले सु प प्र ०१००१ ह ४९१८ नम्बरको अटोलाई ठक्कर दिएको थियो।
अटोमा सवार गोदावरी नगरपालिका ७ हरैया बस्ने पेन्टी ठकुल्ला घाइते भएकी छिन्। घाइते महिलाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना लगतै फरार भएका टिप्पर चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।