PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

महिन्द्रा राय यादवभन्दा कान्छा पशुपतिशम्शेरले कसरी पाए सांसदलाई शपथ गराउने अवसर?



प्रकाश भण्डारी

महिन्द्रा राय यादवभन्दा कान्छा पशुपतिशम्शेरले कसरी पाए सांसदलाई शपथ गराउने अवसर?
फाइल फोटो

काठमाडौं : प्रतिनिधि सभाका सांसदमध्ये सबैभन्दा जेठो हुन् - महिन्द्रा राय यादव। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष समेत रहेका ८५ वर्षका यादव माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्र हँसिया हथौडाबाट निर्वाचित भएका हुन्। सभामुखको निर्वाचन नभएको अवस्थामा संसदको जेष्ठ सदस्यले सांसदहरुलाई शपथ खुवाउने र त्यसअघि जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनुपर्ने व्यवस्था छ। जेष्ठ सदस्यले नै सभामुखको निर्वाचन नभएम्म बैठकको अध्यक्षता गर्ने छ। अधिवेशन आह्वान भएको १५ दिनमा सभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था संविधानको धारा ९१(१) मा छ।

'प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुबै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले जेष्ठ सदस्यले गर्ने,' संविधानको धारा (९१)५ मा भनिएको छ। यस हिसाबले यादवले शपथ गराउनुपर्ने भए पनि  उनले शपथग्रहण गराउने छैनन् सांसदहरुलाई। बरु यादव भन्दा ५ वर्ष कान्छा सांसद पशुपतिशम्शेर राणाले प्रतिनिधि सभाका सदस्यहरुलाई सपथ ग्रहण गराउने छन्। जेठो यादव हुँदाहुँदै किन पशुपतिले गराउँदैछन् त शपथ?

कसरी पाए पशुपतिले अवसर?

राप्रपाबाट समानुपातिक सांसदमा निर्वाचित भएका पशुपतिले यसपटक प्रतिनिधि सभाका सांसदलाई शपथ गराउने तयारी भइसकेको छ। संसद सचिवालयले दिएको जानकारीअनुसार जबराले प्रतिनिधि सभाका २७५ मध्ये २७४ जनालाई शपथ गराउने छन्। जबराले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिइसकेका छन्। संसद सचिवालयले बिहीवार सांसदहरुलाई शपथका लागि बोलाएको बताएको छ। 

प्रतिनिधि सभाको बैठकमा सहभागी हुनुअघि सांसदहरुले शपथ लिनुपर्ने व्यवस्था छ। निर्वाचन आयोगले निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाएको ३० दिनभित्र संसदको अधिवेशन बोलाउनुपर्ने संविधानमा उल्लेख छ। आयोगले मंसिर २९ गते प्रतिवेदन बुझाएको थियो। भण्डारीले पुस २९ भित्र संसदको अधिवेशन बोलाउनुपर्ने छ। हालसम्म भण्डारीले संसदको अधिवेशन आह्वान नगरेकी भए पनि संसद सचिवालयले भने शपथको तयारी गरेको हो। शपथपछि सचिवालयले सांसदहरुलाई संसदीय प्रक्रियाका बारेमा अभिमुखिकरण तालिम दिने छ।

जेष्ठताका आधारमा यादव जेठा भए पनि उनले आफूले शपथ नगराउने जानकारी संघीय संसदको सचिवालयलाई दिएपछि पशुपतिले यसपटक प्रतिनिधि सभाको अध्यक्षता गर्ने अवसर पाएका हुन्। 'यादवले म गर्दिनँ भनेर जानकारी गराउनुभएको थियो,' संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले भने। पशुपति २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुपाल्चोक-२ मा एमालेका शेरबहादुर तामाङसँग पराजित भएका थिए। यस पटकको निर्वाचनमा भने उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समानुपातिकको बन्द सूचीमा परेका थिए।

संसद सचिवालयले शपथको तयारी गरेसँगै दलहरुले पनि संसदका लागि धमाधम तयारी गरिरहेका छन्। नेकपा एमाले र नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरिसकेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलवार नै सर्वसम्मत नेता चयन भएका थिए भने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा बुधवार महामन्त्री गगन थापालाई हराएर संसदीय दलको नेतामा निर्वाचित भएका छन्। माओवादी केन्द्रले भने सांसदहरुको शपथपछि मात्रै संसदीय दलको नेता चयन गर्ने छ।

यसअघि महन्थलाई छाडेका थिए यादवले

२०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित भएका यादव त्यतिबेला पनि जेष्ठ सदस्य थिए प्रतिनिधि सभामा। उनले त्यतिबेला पनि राजपाकै नेता महन्थ ठाकुरलाई शपथका लागि अघि बढ्न भनेपछि ठाकुरले प्रतिनिधि सभाको बैठकको अध्यक्षता गरे। नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा सभामुखमा निर्वाचित नहुदाँसम्म ठाकुरले नै प्रतिनिधि सभाको बैठकको अध्यक्षता गरेका थिए।

त्यसपछि महरालाई संसद सचिवालयकी कर्मचारीले जबरजस्ती करणी गरेको आरोप लगाएपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए। त्यसपछि माओवादी केन्द्रबाटै अग्नि सापकोटा सभामुख भए। यसपटक ठाकुर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट निर्वाचित भए पनि उनी ८० वर्षका भए। ८० वर्षका भए पनि उनी पशुपतिभन्दा कान्छा भएपछि बैठकको अध्यता गर्ने अवसर नपाएका हुन्। सत्ता गठबन्धनले सरकार गठनका लागि पहल गरिरहँदा प्याकेजमै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको सहमति गर्नुपर्ने पक्षमा गठबन्धन दलहरु छन्। को सभामुख हुन्छ भन्नेबारेमा दलहरु टुंगोमा पुगिसकेका छैनन।

अघिल्लो पटक ठाकुरलाई अध्यक्षताका लागि छोडेका यादव डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को अध्यक्ष हुन् अहिले। जनता समाजवादी पार्टी जसपामा विवाद परेपछि उनी नेसपामा लागेका थिए।  २०५१ को मध्यावधिक निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएर संसदको यात्रा सुरु भएको थियो। 

यादवले पशुपतिलाई बाटो खुला गरेपछि सांसदहरुले भोलि पशुपतिबाट शपथ लिनेछन् भने राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरिसकेका छिन्। पुस ३ गते सात दिनको समय दिएर दाबीका लागि आह्वान गरेकी थिइन भण्डारीले। आइतवारसम्म प्रधानमन्त्रीका लागि ७६(२) अनुसार दाबी गरिसक्नुपर्ने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell