
कैलाली : कैलालीको गोदावरी नगरपालिकाको हरैयामा अवरुद्ध राजमार्ग संचालन भएको छ। बुधवार बिहान हरैया चोकमा टिप्परको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए। मृतकका परिवारलाई साढे ७ ला क्षतिपूर्ति दिने, घाइते महिलाको उपचार गर्ने र अटो चालकलाई मर्मतका लागि ५० हजार दिने सहमति पछि राजमार्ग संचालन भएको हो।
बुधवार बिहान हरैयामा पूर्वबाट पश्चिम तर्फ आइरहेको सु प प्र ०१००१ क २०२० नम्बरको टिप्परले सु प प्र ०१००१ ह ४९१८ नम्बरको अटोलाई ठक्कर दिएको थियो।
टिप्परले अटोलाई ठक्कर दिँदा ३ वर्षीय बालक भरत ठकुल्ला गम्भीर घाइते भएका थिए। उपचारका लागि धनगढी ल्याइएका उनलाई सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।
उक्त दुर्घटनामा अटोमा सवार गोदावरी नगरपालिका ७ हरैयाकी पेन्टी ठकुल्ला घाइते भएकी छिन्। घाइते महिलाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना लगतै फरार भएका टिप्पर चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।