
काठमाडौंः सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजलाई थुनामुक्त गर्न आदेश गरेको छ। बन्दीप्रत्यक्षीकरण मुद्दामा न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थुनामुक्तको आदेश जारी गरेको हो।
अदालतले अन्य मुद्दा नभए आदेश पाएकै मितिमा थुनामुक्त गर्न आदेश गरेको हो। साथै १५ दिनभित्र स्वदेश फर्कने व्यवस्था मिलाउन पनि आदेश गरेको छ।
७८ वर्षीय शोभराज १९ वर्षदेखि केन्द्रीय कारागारमा छन्। २०३२ सालमा नेपालमा दुई विदेशी युवतीको हत्या गरेका उनी २०६१ मा पक्राउ परेका थिए। हत्या गरेको २६ वर्षपछि नेपाल आउँदा उनी समातिएका थिए।
विश्वका धेरै देशमा फरक नामबाट अपराध गरी फरार भएका शोभराजले भारतमा जेल ब्रेक नै गरेका थिए।
नेपालमा कारगारमा रहँदा उनको मुटुको शल्यक्रिया समेत भएको थियो।
नेपालसँगको शोभराजको अपराध नाता के थियो? कसरी गरेका थिए दुई युवतीको हत्या? नेपालसँगको उनको अपराधको नाता पहिलोपोस्ट अर्काइभबाट।
+++
२०३२ साल पुस ८ गते।
बिहान सात बजे हवल्दार गुणहरि अधिकारी गस्ती गर्दै थिए। काठमाडौंबाट भक्तपुर जानलाई अहिले जस्तो जापानले बनाइदिएको ६ लेनको बाटो थिएन। तर त्यतिबेलाको नयाँ चाइनिज रोड भनिने ठाउँबाट सिनामंगल जाने बाटोमुनि मनहरा खोलादेखि पश्चिम, पीच सडकदेखि पूर्व, सडकमुनि केही मानिस भेला भएको देखे।
भीडलाई पन्छाउँदै हेर्दा त्यहाँ एक महिलाको लास देखियो। अन्दाजी १८/२० वर्षकी। उनले प्रहरी प्रतिवेदनमा लेखे- 'नाङ्गो शरीर, पेट्रोल हाली आगो लगाएको, शरीरको पछाडिको भाग डढेको, गन्जीसमेत आगोले डढेको, मृतक लासको भुँडीको बीच मुटुको भागमा छुराले हानी कर्तव्य गरी मारेको जस्तो देखिने, जात छुट्याउन नसकिने, हेर्दा युरोपियन देखिने।
प्रहरीले लास जाँच प्रकृति मुचुल्का उठायो जसमा थप विवरण थियो -गोडा उत्तानो परेको, कपालको रौंहरू डढेको, आँखा चिम्लिएको, टाउकोदेखि पैतालासम्म डढेको, नाकको दाहिने प्वालबाट रगत निस्केको, फिँज आएको र बायाँ नाकको प्वालबाट तरल पदार्थ आई दुबै प्वाल बन्द भएको, दाँतले जिब्रो टोकेको।
वीभत्स विवरण यतिमा सीमित थिएन। अगाडि लेखिएको थियो, ' पूरै शरीरको भाग नाङ्गो, दुबै दूधको मुन्टा नदेखिएको, दूधको दाहिने पट्टी भागमा अन्दाजी ३ अंगुल जति कोरिएको, मुटुको भाग नेर ४ वटा छुरी रोपको जस्तो, दुबै हात खुम्चिएको र हातका औंलाहरू डढेको, योनीको भाग पूरै डढेको, बायाँ कान डढेको, बायाँ खुट्टा डढेको अन्दाजी १८/२० वर्षकी जात नचिनिने, हेर्दा टुरिष्ट जस्तो जनाना व्यक्तिको लास।'
'बायाँ गोडामा कपडाको डोरी बनाई बाँधेको, सो डोरी जली अन्दाजी १ कुरेत जति बाँकी रहेको, बायाँ तिघ्राको भित्रीभागमा घिस्रिएको दाग चिन्ह देखिएको, बायाँ गोडाको बायाँ साइडको माथिल्लो पैतालादेखि देब्रे चाकको पुठ्ठासम्म आगोले जली भित्रको हाड तथा नशाहरू देखिने, दुबै हातको कुमको पछाडि पाता र पुठ्ठाको बीच भाग वा कम्मरको बीचमा आगोले जली भित्रको मासु देखिने, बायाँ पाखुराको बीचमा पूरै डढेको, दायाँ गोडाको औंलादेखि तीघ्रासम्म आगोले डढी फोका उठी फुटेको...'
फोटो साभार : इन्डिया टाइम्स
राजधानीमा सनसनी
राजा वीरेन्द्रको शासनकाल। नगेन्द्रप्रसाद रिजाललाई हटाएर वीरेन्द्रले तुल्सी गिरीलाई तेस्रो पटक प्रधानमन्त्री बनाएको भर्खर २३ दिन भएको थियो। घटनाले राजधानीमा सनसनी मच्चियो।
अनुसन्धान सुरु गर्नुपर्ने प्रहरी सुरुमै अलमलिएको थियो। कहाँबाट सुरु गर्ने अनुसन्धान? लास कसको हो नै पत्ता लागेको थिएन। नेपाली भए त हराएको उजुरी चौकीमा पर्थ्यो होला। तर विदेशीको जस्तो देखिन्थ्यो।
काठमाडौँका होटलहरुमा कुनै पर्यटक हराएको छ कि छैन खोज्न थालियो। त्यतिबेला अहिलेको ठमेलभन्दा लोकप्रिय फ्रिकस्ट्रिट अर्थात् झोँछेको ओरियन्टल लजका प्रोपाइटरले एक अमेरिकी युवती कोन्नी जो ब्रोन्जीच र क्यानेडियन नागरिक क्यारियरे लरेन्ट त्यहाँ बसेको र धुलिखेल जान्छु भनी गएकोमा नफर्किएको बयान दिए।
क्रिस्टी एम.म्याकमिलन नामका एक अस्ट्रेलियनले ब्रोन्जीचलाई देखे चिन्छु भनिन्। भोलिपल्ट अर्थात् पुस ९ गते उनले लास कोन्नी जो ब्रोन्जीचकै हो भनी सनाखत गरिदिइन्। एक बेलायती र एक अस्ट्रेलियाली नागरिकले पनि सनाखत गरिदिएपछि लास ब्रोन्जीचकै हो भन्नेमा शंका भएन।
लासको पोस्टमार्टमको प्रतिवेदन पनि भोलिपल्टै आयो, जसमा लेखिएको थियो -मुटुको चोटको कारणबाट रक्तश्राव भई आकस्मिक आघातको कारणबाट मृत्यु भएको।
लास फेला परेको पर्सिपल्ट अमेरिकन दूतावासका अधिकारीले बुझेर लगे।
जसमाथि शंका उसैको हत्या
पुस १८ गते सब इन्सपेक्टर नन्दराम श्रेष्ठले प्रतिवेदनमा लेखे- पुस ५ गतेका दिन क्यारियरे लरेण्ट ओरियन्टल लजबाट धुलिखेल जान्छु भनी निस्केपछि फेरि उक्त लजमा फर्की नआएको। लास भेटिएको दिन पुस ८ गते बिहान ११:३० बजे उनी बैंकक जाने प्लेनबाट बैंककतर्फ गैसकेको बुझिएको। कोन्नी जो ब्रोन्जीच लाई निज क्यारियरे लरेण्टले कर्तव्य गरी मारी भागी गएको।'
यहाँसम्म प्रहरी पूरै गुमराहमा थियो। क्यारियरे लरेन्टको त पुस ६ गते नै भक्तपुरस्थित साँगा भञ्ज्याङको सडक किनारामा लास भेटिसकेको थियो। अर्थात् सुरुमा प्रहरीले जोमाथि शंका गरेको थियो, उसको पनि हत्या भइसकेको थियो।
को थियो त हत्यारा?
अमेरिकी युवती कोन्नीको सोल्टी होटलमा बस्ने एक भियतनामी युवकसँग चीनजान थियो। एक अस्ट्रेलियाली युवती जेनले यो कुरा खुलाएपछि प्रहरीको अनुसन्धान त्यतातिर लाग्यो। सोल्टी होटलमा भियतनामी पर्यटक नबसेको, तर हिन्द–चीन अनुहारसँग मिल्दोजुल्दो एक युवक र निजको साथमा एक युरोपियन केटी डिसेम्वर १८ देखि बसी २४ मा होटल मल्लमा सरेको र २५ तारीखमा पुनः सोल्टी होटलमा आई कोठा नं. ४१५ मा बसेको थाहा भयो।
केटाले आफ्नो नाम हेनरिकस बिटञ्जा बतायो। केटीले कुकी हेमकर। दुवैले आफू हल्यान्डका नागरिक बताए।
केही अघिसम्म हत्यारा ठानिएका लरेन्ट क्यायिरको हत्याराले उसैको पासपोर्ट लिई आफ्नो फोटो टाँसी कीर्ते हस्ताक्षर गरी बैंकक गएको र भोलिपल्ट नै फिर्ता भै अमेरिकी युवती कोन्नी जोको हत्यारा लरेन्ट क्यारियर नै हो भन्ने भ्रम पार्ने उद्देश्य लिएको निचोडमा प्रहरी पुग्यो।
बिटन्जा र हेमकर। यी दुईलाई थाइल्यान्डमा हत्या गरी शोभराज र उनका सहयोगी उनीहरुको नामबाट सोल्टी होटलमा बसेका थिए।
निगरानी मै बेपत्ता
शंकाको घेरामा यही हेनरिकस बिटञ्जा र कुकी हेमकर थिए। तर ठोस सबूद र पर्याप्त शंकाको अभावले गर्दा हिरासतमा राख्न मिलेन। दुवैलाई सोल्टी होटलमा नै बस्न दिई सामान्य निगरानीमा राखिएको थियो। तर २७ डिसेम्वर राति १० बजेसम्म दुवै जना कोठामा रहेको थाहा थियो, त्यसपछि कतिबेला निस्के प्रहरीलाई पत्तै भएन।
उनीहरु बसेको कोठा नम्बर ४१५ मा छापा मार्दा तीन वटा सुटकेश, जुत्ता तथा अन्य कपडा भेटियो। एउटा मनी ब्याग पनि भेटियो जुन सांगामा भेटिएको लास लरेन्ट क्यारियरको भएको भन्ने उनका दाजु गील्स एम क्यारियरले पुष्टि गरे।
थाइल्यान्डको बैँककमा पनि विदेशीहरुको हत्या भएको थियो। सबैलाई नशालु पदार्थ खुवाई जीउमा ग्यासोलिन हाली आगो लगाई छोडी दिएका थिए हत्याराले। सन् १९७६ मे ७ र ८ को पत्रिका बैंकक पोष्ट मगाई हेर्दा त्यहाँ एलेन गोटियरको नाममा जुन फोटो छापिएको थियो, उही व्यक्ति काठमाडौँमा हेनरिकस बिटञ्जाको नामले बसेको रहेछ। र मोनिक लेक्लर्क यहाँ कुकी हेमकरको नामले बसेकी थिइन्।
एलेन गोटियर तथा मोनिक लेक्लर्कलाई दिल्ली पुलिसले गिरफ्तार गरिसकेको थियो। उनीहरुको वास्तविक नाम थियो चार्ल्स शोभराज र मेरी एण्ड्रे लुसी लेक्लर्क।
एसपी चन्द्रवीर राईले २०३३ साउन २० गते संकलित प्रमाणहरूको आधारमा सुश्री कोन्नी जो ब्रोन्जीचको जघन्य अपराधमा चार्ल्स शोभराज जो काठमाडौं बस्दा हेनरिकस बिटञ्जाको नामले बसेको थियो, भारतीय नागरिक अजय चौधरीको सहयोगमा हत्या गरेको सिद्ध भएको भन्दै गृह पञ्चायत मन्त्रालयलाई सम्बोधन गरी भारतमा पक्राउ भएका ती अपराधीहरूलाई नेपालमा कारवाही गर्न नेपाल भारत अपराधी आदान प्रदान (सुपुर्दगी ऐन) अन्तर्गत कारबाही सुरु गरिदिन हुन भनेर प्रतिवेदन लेखे।
अपराधी सुपुर्दगी भई आएपछि कारबाहीको लागि पेस गरिने भन्ने उल्लेख भए अनुसार मुद्दा हाल तामेलीमा राखिदिनु भन्ने आदेश काठमाडौ जिल्ला अदालतले २०३४ असार १४ गते दियो।
जाग्यो पुरानो मुद्दा
सुपुर्दगी त के हुनु। तर २६ वर्षपछि २०६० सालमा दरबारमार्गको रोयल क्यासिनोबाट चार्ल्स शोभराज पक्राउ परे। त्यसपछि यो मुद्दा तामेलीबाट फेरि जाग्यो।
शोभराजले आफू पहिले नेपालमा आउँदै नआएको भन्दै हत्या आरोप अस्वीकार गरे।
तर जिल्ला अदालतले २०६१ साउन २८ गते हत्या गरेको नै ठहर गरी सर्वस्वसहित जन्मकैदको फैसला सुनायो।
कसूर प्रमाणित गर्ने कुनै प्रत्यक्ष प्रमाण पनि नभएको भन्दै शोभराजले पुनरावेदन अदातलमा चुनौती दिए, त्यहाँ पनि उनका विरुद्ध फैसला आयो। त्यसपछि सर्वोच्चमा गए, परिस्थितिजन्य प्रमाणहरूबाट हत्या भएको स्थापित हुन आएको भन्दै फैसला सदर भयो २०६७ साउनमा।
***
भारतीय पिता र अविवाहित भियतनामी आमाको कोखबाट सन् १९४४ को अप्रिल ६ तारिखमा गुरुमुख शोभराजका रुपमा उनको जन्म भएको हो। जन्मेको केही समयपछि नै भारतीय पिताले आमालाई छाडे। आमाकी नयाँ ब्वाइफ्रेन्डले झड्केलो बाबुका रुपमा शोभराजलाई हुर्काए। उनी फ्रान्सेली नागरिक थिए। झड्केलो बाबु र आफ्नै आमाका अरु सन्तानको तुलनामा उनलाई कम महत्त्व दिइएकोले हो कि किशोर उमेर मै उनमा समस्या आइपर्यो।
जेल उनको पुरानो घर हो। उनी पहिलो पल्ट सन् १९६३ मा चोरीको आरोपमा जेल परेका थिए। चोरी र डकैती गर्दै आएका शोभराजले पहिलो हत्या सन् १९७५ मा गरेको पत्ता लागेको छ। उनको पहिलो शिकार सियाटलकी टेरेसा नोल्टन थिइन्। आफ्ना धेरै शिकारलाई हत्या गरेर जलाइदिन्थे शोभराज।
डच विद्यार्थीहरु हेनरिकस बिटञ्जा र उनकी प्रेमिका कुकी हेमकरलाई थाइल्यान्डमा हत्या गरेर उनीहरु कै पासपोर्ट लिएर नेपाल पसेका थिए शोभराज र उनका सहयोगी। यहाँ आएर क्यानाडेली र अमेरिकी दुई नागरिकको हत्या गरेर उनीहरु भागेका थिए।
भारत लगायत अरु थुप्रै देशमा अरु थुप्रैको पनि उनले हत्या गरे। तर भारतमा उनलाई मृत्युदण्डको सट्टा १२ वर्षको जेल सजाय सुनाइयो।
भारतको जेलमा गार्डहरुलाई घुस खुवाएर जेलभित्रै टिभी, मीठो खाना, आरामदायी बाससहित विलासी जेल जीवन उनले बिताए। जेलै उनका लागि ठीक पनि थियो। किनभने थाइल्यान्डमा उनले गरेको हत्याको लागि त्यहाँको सरकारले २० वर्षका लागि अरेस्ट वारेन्ट जारी गरेको थियो। उनी भारतबाट रिहा भएको भए निश्चित रुपमा थाइल्यान्डलाई सुपुर्दगी गरिन्थ्यो र त्यहाँ उनले मृत्युदण्ड पाउँथे। चलाख शोभराजले रिहा हुन २ वर्ष बाँकी छँदा मार्च १९८६ मा कैदी र गार्डहरुका लागि पार्टी दिएर स्लिपिङ पिल खुवाएर जेलबाट टाप ठोके। तर उनलाई तुरुन्तै गोवामा गिरफ्तार गरियो र उनलाई थप १० वर्ष जेल सजाय सुनाइयो।
सन् १९९७ को फेब्रुअरी १७ मा ५२ वर्षको उमेरमा उनी भारतीय जेलबाट रिहा हुँदा उनीविरुद्धका धेरै वारेन्ट, प्रमाण र प्रत्यक्षदर्शी हराइसकेका थिए। सुपुर्दगी गर्ने कुनै देश नरहेकोले भारतीय अधिकारीहरुले उनलाई फ्रान्स फर्कन दिएका थिए।
शोभराजलाई अदालत लगिँदै। फाइल फोटो साभार mensxp.com
+++
फ्रान्स फर्केपछि उनी विलासी जीवन बिताइरहेका थिए। उनले आफ्नो अन्तर्वार्ता, कथाका लागि मोटो रकम असुल्थे। तर पाप धुरीबाट कराउन बाँकी थियो। त्यसैले उनी नेपाल आए। सन् २००३ को सेप्टेम्बर १७ मा दि हिमालयन टाइम्सका पत्रकारले शोभराजलाई काठमाडौँको सडकमा भेट्टाए। पत्रिकाले यो स्कूप समाचार छापेको दुई दिनपछि प्रहरीले उनलाई दरबारमार्गको याक एन्ड यति होटलको क्यासिनोबाट उनलाई गिरफ्तार गरेको थियो।