
काठमाडौंः नेपाली कांग्रेसको संसदीय दलको नेतामा पराजित गगनकुमार थापाले पार्टी सभापति एवं नवनिर्वाचित दलका नेता शेरबहादुर देउवालाइ बधाई दिएका छन्। भिडिओ सन्देशबाट थापाले देउवालाई बधाई दिएका हुन्। उनले मतदाताले प्रत्यक्ष मत हाल्न पाउने व्यवस्था भएमा परिणाम अर्कै हुन सक्ने पनि बताएका छन्।
सन्देशमा उनले भनेका छन्, 'आज सांसदको ठाउँमा सांसद निर्वाचित गर्ने मतदाताले सिधै मत हाल्न पाएको भए परिणाम अर्कै आउथ्यो। तर यो संसदीय पद्धति हो।'
थापाले परिणामबाट आफू निराश नभएको पनि बताएका छन्। पार्टी महामन्त्रीमा पहिलो प्रयासमा ६०० भन्दा कम मत ल्याएकोमा पाँच वर्षको प्रयासपछि ३ हजारभन्दा बढी मत पाएको पनि स्मरण गरे।
आफूलाई मत दिने र नदिने सबैलाई थापाले धन्यवाद दिए।
थापाले भने, 'यो प्रारम्भ हो। आफ्नो उम्मेदवारी छाडेर साथ दिनुभएकोमा डा शेखर कोइरालालाई हार्दिक आभार। २४ सांसदहरूलाई विषेश आभार। बाँकी विश्वास जित्न नसकेका साथीहरूलाई नमन। तपाईहरुसँग मिलेर काम गर्नेछु। मन बदल्ने कोसिस गर्नेछु। पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई दिन चाहन्छु। सिंगो देशप्रतिको जिम्मेवारी कांग्रेसको काँधमा आएको छ। नयाँ अनुभूति पाउनेगरि आफ्नो कार्य सम्पादन गर्नुहुनेछ भनेर शुभेच्छा व्यक्त गर्छु। संसदको रुपमा, सहयात्रीको रुपमा योभन्दा अघिको यात्रामा सम्पूर्ण साथ रहनेछ।'