PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

अमेरिकामा युक्रेनका राष्ट्रपति जेलेन्सकी : बाइडेनसँग भेटपछि संसदमा सम्बोधन, 'हामी जित्छौं आत्मसमर्पण गर्दैनौं'



पहिलोपोस्ट

अमेरिकामा युक्रेनका राष्ट्रपति जेलेन्सकी : बाइडेनसँग भेटपछि संसदमा सम्बोधन, 'हामी जित्छौं आत्मसमर्पण गर्दैनौं'
Photo : CNN

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकी अमेरिका पुगेका छन्। रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि सुरु भयो युद्धपछि जेलेन्सकी पहिलोपटक विदेश भ्रमणमा निस्किएका हुन्।

अमेरिका पुगेका जेलन्सकी र अमेरिकी राष्ट्रपति जो बाइडेनबिच भेटवार्ता भएको छ। त्यसक्रममा बाइडेनले युक्रेनलाई सहयोग जारी रहने बताएका थिए। उनले किभमा प्याट्रियट मिसाइल डिफेन्स सिस्टम पठाउने घोषणा पनि गरेका छन्। त्यसक्रममा जेलेन्सकीले अमेरिकी सहयोग र समर्थनको लागि धन्यवाद व्यक्त गरेका थिए। उनले रसियाको आक्रमणलाई 'काउन्टर' दिन एयर डिफेन्स सिस्टमलाई बलियो बनाउनुपर्ने मत राखे।

जेलेन्सकीले अमेरिकी सदनको संयुक्त सत्रलाई समेत सम्बोधन गरेका छन्। त्यसक्रममा उनले अमेरिकाबाट निरन्तर आर्थिक सहयोगको अपेक्षा रहेको बताए। 'तपाईंहरुको पैसा च्यारिटी होइन। यो विश्वको सुरक्षा र प्रजातन्त्रको लागि लगानी हो। हामी त्यसलाई राम्ररी उपयोग गर्छौं,' जेलेन्सकीले कंग्रेसमा सम्बोधन गर्दे भने।

उनले रसियामाथि लगाइएको प्रतिबन्धहरुलाई थप कडाइ गर्न पनि आह्वान गरेका छन्। रसियालाई 'आतंकवादी' भन्दै उनले हिंसा फैलाउनहरुविरुद्ध कडा कदम चाल्नुपर्ने बताए।

सम्बोधनका क्रममा जेलेन्सकीले युक्रेनले रसियाली आक्रमणविरुद्ध विजयी हासिल गर्ने भन्दै कहिलै आत्मसमर्पण नगर्ने बताए। जेलेन्सकीले अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस र संसदकी सभामुख न्यान्सी पेलोसीलाई युक्रेनको झण्डा समेत दिएका थिए।

रसिया र युक्रेनबिच युद्ध भएको १० महिना भइसकेको छ। हालसम्म पनि युद्ध समाप्त हुने कुनै आधार देखिएको छैन। युद्धका कारण युक्रेनबाट १ करोड ६० लाख भन्दा बढी मानिस पलायन भइसकेका छन्। दुवै तर्फबाट हजारौं मानिसको मृत्यु भएको छ भने लाखौं विस्थापित भइसकेका छन्।अर्बौंको सम्पत्ति युद्धका कारण नष्ट भइसकेको छ। युद्धको समय लम्बिदै गर्दै युक्रेनलाई पश्चिमा राष्ट्रहरुले समर्थन गरिरहेका छन्। तर पनि युद्ध समाप्त गर्न कसैले पनि पहल गरेका छैनन्। रसियाले पनि युक्रेनमा आफ्नो लक्ष्य स्थापित गर्ने भन्दै थप सैन्य कारवाहीको तयारी गरिरहेको छ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाको सीमामा सुरक्षा बढाउन निर्देशन दिएका छन्। उनले सुरक्षा अंगहरुलाई समाजमा शान्ति स्थापना गर्दै 'देशद्रोही र जासुस'हरुलाई खोज्न पनि निर्देशन दिएका छन्। पुटिनले यस्तो निर्देशन दिएको केहीदिन पछि जेलेन्सकी अमेरिका पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell