PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मधेस प्रदेश : ज्येष्ठ सदस्य कलवारले सांसदहरुलाई शपथ गराउने



पहिलोपोस्ट

मधेस प्रदेश : ज्येष्ठ सदस्य कलवारले सांसदहरुलाई शपथ गराउने

काठमाडौं : मधेश प्रदेशसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य शारदाशङ्करप्रसाद कलवारले शपथ गराउने भएका छन्।

संसद् सचिवालयका सचिव रञ्जित यादवले ऐन, कानुन र संवैधानिक व्यवस्थाअनुसार कलवारले प्रदेशसभाको ज्येष्ठ सदस्यको हैसियतले नवनिर्वाचित सांसदलाई शपथ गराउने कार्यक्रम तय गरिएको बताए। सचिव यादवका अनुसार प्रदेश प्रमुख हरिशङ्कर मिश्रले ज्येष्ठ सदस्य कलवारलाई पहिले शपथ गराउने र कलवारले अन्य प्रदेशसभा सदस्यलाई शपथ गराउनेछन्।

यादवले, 'कानुनी प्रावधान निर्वाचन ऐनमा व्यवस्था भएअनुसार उपस्थित सांसदमध्ये ज्येष्ठ सदस्यले शपथ गराउनुपर्ने भएको हुँदा ज्येष्ठताका आधारमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपानेले शपथ गराउने कार्यक्रम तय भएको थियो तर न्यौपाने अस्वस्थ रहेकाले शारदाशङ्कर कलवारले सांसदको शपथ गराउने तयारी भएको छ। न्यौपानेको उमेर ७१ वर्ष छ भने शारदाशङ्करको उमेर ७० वर्ष रहेको छ।'

सचिव रञ्जित यादवले न्यौपाने नआउने भएपछि बारा २ को (१) बाट स्वतन्त्र निर्वाचित कलवारबाट नै ज्येष्ठ सदस्यको रुपमा शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको बताए।

यद्यपि, अहिलेसम्म प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउनेबारे समय निश्चित भइनसकेको उनले बताए। सचिवालयले आगामी आइतबार सर्वदलीय बैठक बोलाएको छ। सो बैठकबाट शपथ ग्रहणको मिति तय हुने उनले जानकारी दिए।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६४ जना र समानुपातिकतर्फ ४३ जना गरि एक सय सात सांसद निर्वाचित भएका छन्।

मधेस प्रदेशमा नेकपा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरि २३ सिट पाएर पहिलो दल बनेको छ। यस्तै, नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा नौ गरि २२ सिट पाएर दोस्रो, जनता समाजवादी पार्टी प्रत्यक्षमा नौ र समानुपातिकमा सात गरि १६ सिट पाएर तेस्रो, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा सात गरि १३ सिटसहित चौथो दल बनेको छ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा सात र समानुपातिकमा दुई गरि नौ सिट पाएर पाँचौँ, माओवादी केन्द्र प्रत्यक्षमा चार र समानुपातिकमा चार गरि आठ सिट पाएर छैटौँ तथा एकीकृत समाजवादी प्रत्यक्षमा चार र समानुपातिकमा तीन गरि सात सिट पाएर सातौँ दल बनेको छ।

मधेस प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा एक–एक सिट पाएका छन् भने यसपटक ६ जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell