
काठमाडौं : कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराज १९ वर्षपछि जेल मुक्त हुँदैछन्। बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो।
त्यही आधारमा अदालतको कागजपत्र पाएपछि केन्द्रीय कारागार सुन्धाराले रिहा गर्ने तयारी गरेको छ। आज रिहा हुने भएपछि शोभराजलाई लिन कारागारमा उनकी सासु शकुन्तला विश्वास र शोभराजको पक्षमा वकालत गर्ने वकिल कारागार पुगेका छन्। शोभराज सर्वोच्च अदालतको फैसलाले २०६० असोज २ गतेदेखि केन्द्रीय कारागार सुन्धारामा कैदमा छन्। कैद भएको समयमा नै उनले २० वर्षीय युवती निहिता विश्वाससँग जेलमा नै बिहे गरेका थिए।
सुन्धारा कारागारबाट रिहा भएपछि शोभराजलाई अध्यागमन विभाग लगिनेछ। विदेशी नागरिकको हकमा अध्यागमन विभाग बुझाउनुपर्छ।अध्यागमन विभागले जमानीमा केही दिन नेपालमा बस्ने अनुमति दिए शोभराज बौद्धस्थित ह्यात होटलमा बस्ने तयारी गरेका छन्। तर, अध्यागमनले अनुमति नदिएको खण्डमा अध्यागमनको हिरासतमा बसेर विदेश फर्किने प्रकृया थाल्नु पर्ने हुन्छ।
'हामीले अध्यागमनसँग नेपालमा राख्ने विषयमा कुरा गर्ने छौं,' शोभराजका वकिल गोपाल चिन्तनले भने। यदि अध्यागमनले अनुमति दिएको खण्डमा शोभराजले स्वास्थ्य चेकअपसमेत गराउने छन्।
शोभराजले कैद छुटको माग गर्दै ४ वर्षअघि सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। अमेरिकी नागरिकको हत्या अभियोगमा कसुरदार ठहर भई सर्वोच्चकै फैसलाबाट केन्द्रीय कारागारमा थुनामा रहेका शोभराजले वारेसमार्फत रिट दर्ता गरेका थिए। सर्वोच्चले ७८ वर्ष उमेर पुगिसकेको र मुटुको सर्जरी गर्नुपर्ने अवस्था देखिएकोले उनलाई अन्य मुद्दा नभए छाड्न आदेश दिएको हो। शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेकाले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको आदेशमा उल्लेख छ।
२०३२ सालमा एक अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले जन्मकैदको सजाय सुनाएको थियो। यसबीचमा २०७१ मा भक्तपुर जिल्ला अदालतले पनि एक क्यानेडिएन नागरिकको २०३२ सालकै हत्या अभियोगमा पनि उनलाई जन्मकैदको सजाय सुनाएको थियो। जन्मकैदमा २० वर्षको सजायको व्यवस्था अनुसार उनले २०८० असोज १ सम्म कैदमा बस्नुपर्नेछ।