
काठमाडौ: काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। बंगलादेशको ढाकामा खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।
आजको खेलमा जित निकाल्दै नेपाल प्रतियोगितामा सहज सुरुवात गर्ने योजनामा छ। तर, बलियो बंगलादेशसँग जित निकाल्न नेपाललाई सहज भने हुने छैन। प्रतियोगिताका लागि मात्र एक महिना तयारी गरेको नेपाल प्रतियोगितामा जितका लागि गएको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए। खेलाडीमा तयारी र अनुभवको कमी भए पनि टिमले आफुसँग भएको क्षमतालाई प्रयोग गरेर खेल्ने बताए।
‘पहिलो पटक काभा यू–२३ पुरुष भलिबल टिम तयार पारेका हौं। खेलाडीमा अनुभवको कमी छ। हामीले तयारी पनि एक महिनाको गरेका छौ। आफुसँग भएको सबै अनुभव यहाँ लगाउने छौं,’ उनले भने।
काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली मंगलबार बंगलादेशको राजधानी ढाका पुगेको थियो। च्याम्पियनसिप आज देखि ११ सम्म आयोजना हुनेछ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागी छन्। नेपालले दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग, पुष ९ गते हुने लिग चरणको अन्तिम खेलमा कीर्गिस्तानसँग खेल्ने तालिका रहेको छ।