PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

पोखरामा पुस १३ बाट शुरु हुँदै सडक महोत्सव



पहिलोपोस्ट

पोखरामा पुस १३ बाट शुरु हुँदै सडक महोत्सव
फाइल फोटो

पोखरामा ‘२४ औं पोखरा सडक महोत्सव’ हुने भएको छ। अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा हुन लागेको महोत्सव पुस १३ देखि १७ गतेसम्म चल्नेछ।

‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नारासहित पाँच दिन चल्ने महोत्सव रेस्टुराँ एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा हुन लागेको हो।

बिहीवार भएको पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि पोखराको लेकसाइडस्थित तीन किलोमिटर क्षेत्रमा महोत्सव आयोजना गर्न लागेको जानकारी दिए।

महोत्सव फिस्टेल गेटदेखि खहरे चोक हुँदै जरेवर लेकसाइडसम्म हुनेछ। महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर रेसलगायतका कार्यक्रम हुनेछन्।

मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्‍याउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ। सडक महोत्सवमा पाँच लाख दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ।

पोखराका होटलले दैनिक ४० हजार पर्यटकलाई सेवा दिन सक्ने भट्टराईले दाबी गरे। नेपाल आउने कूल पर्यटकमध्ये ४० प्रतिशत पोखरा घुम्न जाने उनको भनाइ छ। साथै महोत्सवको अवसरमा होटलहरुले रुममा २० प्रतिशत छुट दिनेसमेत उनले बताए।

महोत्सवमा सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको आयोजकले जनायो। महोत्सवमा बसुन्धारा पार्कभित्र १६ वटा स्टल र बाहिर सडकमा निःशुल्क एक सयभन्दा बढी स्टल रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell