PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

शपथपछि ओली र प्रचण्डको 'गेस्चर'को अर्थ के?

शपथपछि ओली र प्रचण्डको 'गेस्चर'को अर्थ के?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सांसदहरुको शपथ ग्रहणपछि आयोजित चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगै देखिए। शपथ ग्रहणपछि संसद सचिवालयले आयोजना गरेको चियापान कार्यक्रममा दुई अध्यक्षको सँगै देखिएका हुन्।

अघिल्लो सरकारमा ओलीको कदमको विरोध गर्दै सत्ता छाडेर कांग्रेस गठबन्धनतिर लागेका प्रचण्ड पछिल्लोसमय सार्वजनिक कार्यक्रममा ओलीसँग देखिएका हुन्। चियापानमा ओलीले प्रचण्डसँग कानेखुसी गरेको देखिन्छ भने प्रचण्ड प्रसन्न मुद्रामा देखिन्छन्।

दुई अध्यक्ष जेष्ठ सदस्यको शपथ ग्रहणको समयमा शीतल निवासमा पनि सँगै देखिएका थिए। संसदको शपथसँगै नयाँ सरकार कसको नेतृत्वमा बन्ने हो? चासोको विषय बनेको छ। शपथपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन्। सबै विषय सहज रुपमा अघि बढिरहेको अवस्थामा सरकार पनि सहजै बन्ने प्रचण्डको भनाई रह्यो।

यद्यपि अहिले कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबैमा दाबी गरिरहेको छ। प्रचण्डले यसअघिबाटै पावर सेयरिङ सहमतिमै हुनुपर्ने धारणा राख्दै आएका छन्। यस्तो बेला एमाले अध्यक्ष ओली र प्रचण्डको यस्तो गेस्चर बाहिरिनुलाई धेरैले चासोसाथ हेरेका छन्। दुई पटक संसद विघटन गरी सत्ताच्युत भएपछि ओली र प्रचण्ड एकले अर्कालाई हेर्नमात्र हैन सुन्नै चाहदैनथे। निर्वाचन परिणामले दुबै नेतालाई झड्का दिएको छ। यसैले पनि होला, निर्वाचनपछि ओलीले वाम शक्ति मिलेर सरकार बनाउनुपर्ने भनाई राख्दै आएका छन्। 

प्रचण्डले पनि गठबन्धनमा आफ्नो असन्तुष्टि जनाइरहेका छन्। चुनावअघि प्रधानमन्त्रीमा खासै दाबी नगरेका प्रचण्डले निर्वाचनको परिणामपछि नेतृत्व आलोपालोमा हुनुपर्ने बताउँदै आएका छन्। यसो त प्रचण्डले आफ्नो पकडमा ६० जना सांसद रहेको दाबीसमेत गर्दै आएका छन्। बिहीवार दुई नेताबीच सत्ता सहकार्यकै विषयमा कुराकानी भयो त? यो थाह पाउन भने प्रचण्डको आगामी कदम कुर्नैपर्ने देखिन्छ।  



ट्रेन्डिङ पोस्ट

Ncell