PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

प्राविधिक कारण देखाउँदै फेरि सर्‍यो नेपाल टी २० लिग



पहिलोपोस्ट

प्राविधिक कारण देखाउँदै फेरि सर्‍यो नेपाल टी २० लिग

काठमाडौं : नेपाल टी २० लिग फेरि सरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै शुक्रवारबाट सुरु हुने भनिएको नेपाल टी २० लिग स्थगित भएको जनाएको हो।

क्यानले प्राविधिक कारणले प्रतियोगिता एकदिन पछाडि धकेलिएको जनाएको छ। अर्थात शनिवारबाट प्रतियोगिता सुरु हुनेछ। आजै क्यानले प्रतियोगिताको डाइरेक्टर पनि परिवर्तन गरेको छ। टुर्नामेन्ट डाइरेक्टर प्रशान्त विक्रम मल्ल रहेकोमा यसको जिम्मेवारी संघका महाप्रवन्धक बृतान्त खनालले पाएका छन्।

नेपाल टी २० लिग आयोजनाका लागि क्यान र भारतीय कम्पनी सेभेनथ्री स्पोर्ट्सबीच सम्झौता भएदेखि नै विवादित छ। सदनदेखि अदालतसम्म यो विवाद पुगिसकेको छ। यो सम्झौता नेपालको कानुन विपरित भएको भन्दै एभरेस्ट प्रिमियर लिगका संस्थापक अमिर अख्तर लगायतले अदालतमा मुद्दा चलाएका छन्। त्यस्तै क्यानकै केही बोर्ड सदस्यले पनि यो सम्झौतालाई लिएर विरोध गर्दै आएका छन्।

प्रतियोगिताको अन्तिम समयसम्म आइपुग्दा प्रायोजकहरु टुंगो त लागेको छैन नै केही फ्रेन्चाइजीहरुको स्वामित्वबारे पनि स्पस्टता छैन। यता क्यानले भने नेपालको क्रिकेटको स्तरमाथि उठ्नका लागि यो प्रतियोगिताले अहम भूमिका खेल्ने दाबि गर्दै आएको छ। त्यस्तै प्रतियोगितामा नेपाली टोलीका कप्तान रोहित पौडेललगायत अन्य अनुभवी खेलाडीले कप्तानी भूमिका पाएका छैनन् भने आफ्नो देशबाट सिनियर टोलीमा अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका या एकदमै कम खेल खेलेका खेलाडीले कप्तानी पाएको भन्दै आलोचना चर्किएको छ। प्रतियोगिता नजिकिँदै गर्दा प्रचार प्रसारमा खासै रुची आयोजकको छैन। केही फ्रेन्चाइजीले पत्रकार सम्मेलन गरेर टिमबारे जानकारी दिए पनि बाँकी टिमको मालिकहरुबारे नै अनिश्चितता छ। अझ विदेशी खेलाडीले नेपालमा खेल्न श्रम स्वीकृति लिनुपर्ने हुन्छ। फ्रेन्चाइजीले आफ्नोतर्फबाट सबै काम गरेको बताए पनि विदेशी खेलाडीसँग कुरा गर्दा उनीहरु यसबारे अनभिज्ञ सुनिन्छन्।  क्यानले यसबारेमा खुलेर सुचना दिन चाहिरहेको छैन।

नेपाल टी २० लिग पछिल्लो ३ महिनामा तेस्रो पटक स्थगित भएको हो। प्रतियोगिताका लागि विदेशी खेलाडीसमेत नेपाल आइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell