PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

सीमा विवाद शान्तिपूर्ण संवादबाट समाधान गर्न चीन-भारत सहमत, यस्तो छ संयुक्त वक्तव्‍य



विधुर ढकाल

सीमा विवाद शान्तिपूर्ण संवादबाट समाधान गर्न चीन-भारत सहमत, यस्तो छ संयुक्त वक्तव्‍य
Photo: Weibo

सांघाई: चीन र भारतबीच पछिल्लो समय बढेको सीमा विवादलाई संवादमार्फत समाधान गर्न दुई देश सहमत भएका छन्। चीनको रक्षा मन्त्रालयले संवादमार्फत समस्याको समाधान गर्न दुबै देश सहमत भएको जनाएको छ। 

चीन-कोर्प्स कमाण्डर स्तरीय १७औँ चरणको बैठकमा दुबै देश सीमा क्षेत्रको सुरक्षा र स्थिरता कायम गर्न दुबै पक्ष सहमत भएको चिनियाँ रक्षा मन्त्रालयले जारी गरेको संयुकत वक्तव्यमा उल्लेख छ। 

बैठक चीन तर्फको चुशुल-मोल्डोमा मंगलबार भएको थियो। 

बैठकमा गत जुलाई १७ मा भएको १६औँ चरणको बैठकपछिका उपलब्धिको समीक्षा भएको थियो। साथै त्यसपछि भएका प्रगतिको समीक्षा गर्दै बैठकमा खुला र रचनात्मक रूपमा पश्चिमी क्षेत्रको 'लाईन अफ एक्चुअल कन्ट्रोल (एलएसी)' सँग सम्बन्धित मुद्दाहरूको समाधानका विषयमा दुबै पक्षले आफ्ना धारणा राखेका थिए। 

बैठकमा पश्चिमाञ्चल क्षेत्रमा सुरक्षा र स्थिरता कायम गर्न दुवै पक्ष सहमत भएको वक्तव्यमा उल्लेख छ। साथै दुवै पक्ष घनिष्ठ सम्पर्कमा रहन र सैन्य र कूटनीतिक माध्यमबाट वार्तालाई निरन्तरता दिन सहमत भएका छन्। 

यस क्षेत्रमा विवादका बाँकी रहेका मुद्दाहरूको चाँडोभन्दा चाँडो पारस्परिक रूपमा स्वीकार्य समाधान खोज्नसमेत दुबै पक्ष सहमत भएको वक्तव्यमा उल्लेख छ।

पछिल्लो समय दुई देशबीच सीमा विवाद उत्कर्षमा छ। दुई वर्ष अगाडि लद्दाख क्षेत्रमा दुई देशका सैनिक एकापसमा भिडेका थिए। पछिल्लो समय गत साता मात्र चीन र भारतीय सेनाका जवान अरुणाञ्जल प्रदेशमा भिडेका थिए। 

डिसेम्बर ९ मा, चिनियाँ सेना र भारतीय सेनाबीच अरुणाञ्चलको तवाङ क्षेत्रको याङ्त्से क्षेत्रमा भिडेका थिए। अरुणाञ्चललाई दुबै देशले आफ्नो दाबी गर्दै आएका छन्। यस क्षेत्रमा भारतको नियन्त्रण छ। 

भारतले पीएलएका सैनिकहरुले एकतर्फी रुपमा याङ्त्से क्षेत्रमा एलएसीलाई उल्लङ्घन गर्ने प्रयास गरेको र एकतर्फी रूपमा यथास्थिति परिवर्तन गरेको आरोप लगाएको छ। 

भारतीय मिडियाहरुले २०० देखि ३०० सम्मका चिनियाँ सेनाका सदस्यहरुले ५० को हाराहारीमा रहेका भारतीय सेनाका सदस्यमाथि आक्रमण गरेको दाबी गरेका छन्। 

गत डिसेम्बर १३ मा भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतीय संसदलाई चिनियाँ सेना त्यस क्षेत्रमा प्रवेश गरेको र एकतर्फी रुपमा यथास्थितिलाई परिवर्तन गर्न खोजेको बताएका थिए। उनले घटनामा दुबै तर्फका सेनाका सदस्य घाइते भएको बताएका थिए। यस विषयमा चिनियाँ पक्षले भने हालसम्म कुनै जानकारी दिएको छैन। 

भारतीय मिडियाहरुले करिब २० देखि ३५ भारतीय सेनाका सदस्यहरु घाइते भएको र जसमध्ये ७ जनाको गम्भीर अवस्थामा उपचार भएको जनाएका छन्। साथै चिनियाँ पक्षतर्फ ४० जना घाइते भएको भारतीय मिडियाले बताउँदै आएका छन्। 

चिनियाँ विदेश मन्त्रालयले भने सीमा क्षेत्रहरु स्थिर अवस्थामा रहेको प्रतिक्रिया दिएको थियो। डिसेम्बर १३ मा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले झडपको जानकारी नभएको प्रतिक्रिया दिएका थिए। 

'जहाँसम्म हामीलाई थाहा छ, चीन-भारत सीमा क्षेत्रहरू सामान्यतया स्थिर छन्। दुवै पक्षले कूटनीतिक र सैन्य माध्यमबाट सीमा सम्बन्धी मुद्दाहरूमा सहज संवाद कायम राखेका छन्,' उनले भनेका थिए 'हामी आशा गर्छौं कि भारतीय पक्षले हामीसँग एउटै दिशामा काम गर्नेछ, दुवै पक्षका नेताहरूले गरेका महत्त्वपूर्ण साझा समझदारीहरूलाई इमान्दारीपूर्वक पालना गर्नेछ। दुवै पक्षले हस्ताक्षर गरेका सान्दर्भिक द्विपक्षीय सम्झौताहरूको भावनामा कडाईका साथ कार्य गर्नेछ।' 

पछिल्लो झडप २०२० मा लद्दाखमा भएको झडप क्षेत्रदेखि तीन हजार २०० किलोमिटर दूरीमा हो। यसले दुबै देशबीच सीमा विवाद लामो क्षेत्रमा रहेको पुष्टि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell