PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

जेलबाट रिहा हुने पर्खाइमा 'दी सर्पेन्ट' चार्ल्स शोभराज, अध्यागमनले आज लिन आउँला?



पहिलोपोस्ट

जेलबाट रिहा हुने पर्खाइमा 'दी सर्पेन्ट' चार्ल्स शोभराज, अध्यागमनले आज लिन आउँला?
Photo: mensxp.com

काठमाडौं : 'बिकिनी किलर' र 'दी सर्पेन्ट' का रुपमा प्रख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराजलाई आज जेलमुक्त गर्ने तयारी भइरहेको छ।

सर्वोच्च अदालदतले १९ वर्षसम्म जेलमा रहेका शोभराजलाई रिहा गर्न आदेश दिएसँगै बिहीवार नै उनलाई जेलबाट रिहा गर्ने तयारी थियो। तर अध्यागमन विभागले लिन नआएपछि शोभराजलाई आजमात्र छाड्ने तयारी भएको सुन्धारा कारागार प्रशासनले जनाएको छ।

बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। त्यही आधारमा अदालतको कागजपत्र पाएपछि केन्द्रीय कारागार सुन्धाराले रिहा गर्ने तयारी गरेको थियो।

सर्वोच्चको फैसला पछि शोभराजलाई बिहीवार उनकी सासु शकुन्तला विश्वास र शोभराजका वकिल कारागार पुगेका थिए। तर, जेल प्रशासनले अध्यागमनको तयारी पूरा भएपछिमात्र शोभराजलाई छाड्ने जनाएको छ।

शोभराज रिहा हुने भएपछि बिहीवार बिहानैदेखि कारागारमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियाका पत्रकार भेला भएका थिए। तर, सबै प्रक्रिया पूरा नभएको र अध्यागमनले लिने आएपछि शोभराजले बिहीवार पनि कारगारमा नै बिताए। बिहीवार साँझ सुन्धारा कारागारका जेलर इश्वरीप्रसाद पाण्डेले भने, ‘अध्यागमनले तयारी पुरा गरे हामी यतादेखि पठाउँछौं।‘

अध्यागमनले भने आफ्नो परिसरमा बस्ने व्यवस्था राम्रो नभएको भन्दै तयारी पूरा गरेर आजमात्र शोभराज लिन आउने जनाएको छ। अध्यगमनबाट आज बिहान १० बजे लिन आउने जवाफ आएको कारागार प्रशासनले जनाएको छ।

सुन्धारा कारागारबाट रिहा हुनसाथ शोभराजलाई अध्यागमन विभाग लगिनेछ। अध्यागमन विभागले जमानीमा केही दिन नेपालमा बस्ने अनुमति दिए शोभराजले बौद्धस्थित ह्यात होटलमा बस्ने तयारी गरेका छन्। तर, अध्यागमनले अनुमति नदिएको खण्डमा उनले अध्यागमनको हिरासतमा बसेर विदेश फर्किने प्रकृया थाल्नु पर्ने हुन्छ।

'हामीले अध्यागमनसँग नेपालमा राख्ने विषयमा कुरा गर्ने छौं,' शोभराजका वकिल गोपाल चिन्तनले भने। यदि अध्यागमनले अनुमति दिएको खण्डमा शोभराजले नेपालमा नै स्वास्थ्य परीक्षणसमेत गराउने उनले बताए।

शोभराज सर्वोच्च अदालतको फैसलाले २०६० असोज २ गतेदेखि केन्द्रीय कारागार सुन्धारामा कैदमा छन्। कैद भएको समयमा नै उनले २० वर्षीय युवती निहिता विश्वाससँग जेलमा नै बिहे गरेका थिए।

शोभराजले कैद छुटको माग गर्दै ४ वर्षअघि सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। अमेरिकी नागरिकको हत्या अभियोगमा कसुरदार ठहर भई सर्वोच्चकै फैसलाबाट केन्द्रीय कारागारमा थुनामा रहेका शोभराजले वारेसमार्फत रिट दर्ता गरेका थिए। सर्वोच्चले ७८ वर्ष उमेर पुगिसकेको र मुटुको सर्जरी गर्नुपर्ने अवस्था देखिएकोले उनलाई अन्य मुद्दा नभए छाड्न आदेश दिएको हो। शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेकाले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको आदेशमा उल्लेख छ।

२०३२ सालमा एक अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले जन्मकैदको सजाय सुनाएको थियो। यसबिचमा २०७१ मा भक्तपुर जिल्ला अदालतले पनि एक क्यानेडियन नागरिकको २०३२ सालकै हत्या अभियोगमा पनि उनलाई जन्मकैदको सजाय सुनाएको थियो। जन्मकैदमा २० वर्षको सजायको व्यवस्था अनुसार उनी २०८० असोज १ सम्म कैदमा बस्नुपर्ने थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell