PahiloPost

May 15, 2024 | २ जेठ २०८१

ठमेलमा विदेशी पर्यटकको चहलपहल बढ्दै, क्रिसमस र नयाँ वर्ष मनाउन भारतीय पर्यटक पनि आए



रासस

ठमेलमा विदेशी पर्यटकको चहलपहल बढ्दै, क्रिसमस र नयाँ वर्ष मनाउन भारतीय पर्यटक पनि आए

काठमाडौं : अङ्ग्रेजी नयाँवर्ष र क्रिसमस पर्व आउन केही दिन बाँकी रहँदा राजधानीको मुख्य पर्यटकीयस्थल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढेको छ।

कोरोना महामारीले थलिएको नेपालको पर्यटनलाई यो चहलपहलले व्यवसायीलाई केही राहत मिले पनि पूर्णरूपमा पर्यटक भरीभराउ हुन अझै समय लाग्ने व्यवसायी बताउँछन्।

'मुख्यगरि भारतीय र फाट्टफुट्ट युरोप तथा अमेरिकाका पर्यटक देखिन थालेका छन्', ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले भने।

ठमेलमा साना तथा ठूला गरि झन्डै तीन सय होटल रहेका छन्। यस्तै तीन सयभन्दा बढी रेष्टुरेन्ट रहेका छन्। रात्रिकालीन व्यवसायी ९० को हाराहारीमा रहेका छन्।

अध्यक्ष शर्माले अहिले ठमेलभित्र रहेका होटलहरूको क्षमताअनुसार सरदर ५० प्रतिशतको हाराहारीमा पर्यटकहरू रहेका छन्। परिषद्ले अहिले ठमेल क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सम्बन्धित निकायसँगको सहकार्यमा सडक बालबालिकाको व्यवस्थापन, तारको व्यवस्थापनलगायतको काम गर्दै आएको छ।

यस्तै, ठमेललाई सुन्दर बनाउन सडक बत्ती जडान, सिसी क्यामरा जडान, फुटपाथ व्यवस्थापन तथा साइन बोर्डको व्यवस्थापन गरिएको छ। ठमेललाई चौबिसै घण्टा स्वच्छ, शान्त र सुरक्षित बनाउन सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्न सम्बन्धित निकायसँग परामर्श भइरहेको अध्यक्ष शर्माको भनाइ छ।

ठमेलस्थित रमदा होटलका महाप्रबन्धक महेश फुँयाल भारतीय पर्यटकले आफ्नो होटल क्रिसमस र नयाँ वर्षका लागि पूरै बुक भएको बताए।

'विश्वकप फुटबलले तेस्रो मुलुकका पर्यटकमा कमी आए पनि अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा भारतीय पर्यटकको बुकिङ बढेको छ', उनले भने।

ठमेलस्थित काठमाडौं आगन्तुक होटलका संचालक पशुपति कँडेल अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसजस्ता पर्व मुख्य पर्यटकीय मौसमपछिको पर्यटक आउने अवसर भएको बताउँछन्।

'कोरोनापछि अपेक्षा गरेभन्दा बढी पर्यटक आएको महसुस भएको छ। आगामी वर्ष देशमा कुनै प्रकोप नआएमा यो सङ्ख्यामा थप वृद्धि हुनसक्छ,' कँडेलले भने।

विगतमा क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षमा अमेरिका, युरोप, चीन तथा बङ्गलादेशका पर्यटक बढी नेपाल आउने गरेका थिए। यसपटक तेस्रो मुलुकसहित भारतीय र बङ्गलादेशका पाहुना बढी आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell