PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

विश्वकपबाट बाहिरिएपछि के 'रोनाल्डो पछिको युग'को तयारीमा छ पोर्चुगल?



मुकुन्द घिमिरे

विश्वकपबाट बाहिरिएपछि के 'रोनाल्डो पछिको युग'को तयारीमा छ पोर्चुगल?
Photo : SkySports

करिब दुई दशकयता पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको भाग्य रोनाल्डोको वरिपरि घुमिरहेको छ। तर, के अब पोर्चुगिच फुटबलमा 'नयाँ युग' सुरु हुन गइरहेको छ?

कतारमा जारी विश्वकपको क्वाटरफाइनलमा मोरोक्कोसँग १-० ले पराजय ब्यहोरेपछि पोर्चुगल उपाधि होडबाट बाहिरियो। लगातार दोस्रो खेलमा 'सब्सिच्युड' खेलाडीका रुपमा मैदान प्रवेश गरेका रोनाल्डो गहभरी आँशु पार्दै मैदानबाट बाहिरिएको तस्बिरले धेरै समर्थकहरुलाई भावुक बनायो। समर्थक भावुक बन्नुको अर्को कारण पनि छ। सायद विश्वकपको मैदानमा रोनाल्डो अन्तिम पटक पो देखिएका हुन् कि?

त्यसको भोलिपल्ट सामाजिक सञ्जालमा भावुक पोस्ट लेखेका रोनाल्डोले संन्यास लिनेबारे केही उल्लेख गरेनन्। तर उनले स्पष्ट लेखेका छन् : विश्वकप जित्ने सपना टुंगियो।

यदि उनी राष्ट्रिय टोलीबाट बाहिरिन्छन् भने पोर्चुगललाई धेरै फरक पर्छ। उनी पोर्चुगलको सर्वाधिक गोलकर्ता, नियमित कप्तान र 'हाइ प्रोफाइल' खेलाडी हुन्।

सन् २०२४ मा हुने युरोपियन च्याम्पियनसीपका लागि पोर्चुगलले प्रशिक्षक परिवर्तन पनि गरिसकेको छ। २०१४ यता पोर्चुगिच टिम सम्हालेका फर्नान्डो सान्तोषले जारी विश्वकपमा रोनाल्डोको व्यवहारलाई लिएर सार्वजनिक रुपमा आलोचना गरेका थिए। साथै रोनाल्डोलाई 'सब्सिच्युड' खेलाडीका रुपमा खेलाउनु परेकोमा कुनै पछुतो नभएको बताएका थिए। पछि उनै सान्तोष पोर्चुगलको प्रशिक्षकबाट बर्खास्त भए।

पोर्चुगलको टिमको गहिराइलाई हेरेर कम्तीमा क्वाटरफाइनल पुग्ने धेरैको अनुमान थियो। समूह चरणको सुरुवाती दुई खेल जितेको पोर्चगल अन्तिम खेलमा दक्षिण कोरियासँग २-१ गोलअन्तरले पराजित भएको थियो।

मोरक्कोको बलियो रक्षा पंक्ती र प्रतियोगितामा अप्रत्यासित प्रदर्शनका बाबजुत पोर्चुगलले क्वार्टरफाइनलमा उत्तर अफ्रिकी राष्ट्रलाई हराउने अपेक्षा गरिएको थियो। तर, पोर्चुगलका लागि जे हुनुपर्ने थियो त्यो भएन।

विश्वकपपछि पोर्चुगलका लागि ११८ गोल गरेका कीर्तिमानी रोनाल्डोले संन्यास लेलान् भन्ने धेरैको अपेक्षा थियो। तर, त्यो पनि भएन। यदि रोनाल्डोले राष्ट्रिय टोलीमा निरन्तरता दिन्छन् भने सायद उनले २०२४ को युरोकप खेल्न सक्छन्। अर्को विश्वकप भने अझै टाढा छ। उनलाई खस्कँदो प्रदर्शनका बिच अझ चारवर्ष टिक्न कठिन हुनेछ। किनभने त्यसताका उनी ४१ वर्षको हुनेछन्। भलै ३९ वर्षीया पोर्चुगिच खेलाडी पेपेले विश्वकप खेलेका थिए।

पोर्चुगलले रोनाल्डो बिनाको भविष्य सोच्नु पर्ने समय नजिक आइसकेको छ। अर्कोतर्फ त्यहाँ अन्य प्रतिभाहरु पनि आउँदैछन्। रोनाल्डो स्वीट्जरल्याण्डविरुद्धको खेलमा बेन्चमा रहँदा उनको स्थानमा टोलीमा सुरुवात गरेका २१ वर्षे गोन्कालो रामोसले 'ह्याट्रिक' पुरा गर्दै आफूलाई एकहदसम्म प्रमाणित गरे। त्यस्तै पेपेको स्थानमा १९ वर्षे एन्टोनियो सिल्भा बलियो देखिए। जोआओ फेलिक्स मात्र २३ वर्षका छन्, उनीसँग अझै समय छ। त्यस्तै 'फूल ब्याक' डिओगो डालोट र नुनो मेन्डेस क्रमशः २३ र २० वर्षका छन्। नाल्डोसँग या रोनाल्डो बाहेक पनि पोर्चुगल युरो २०२४ मा छनोट हुन मुख्य दाबेदार मध्येमा छ।

रोनाल्डोका कुरा

विश्वकप खेल्न कतार पुग्दा म्यानचेस्टर युनाइटेडको खेलाडी थिए रोनाल्डो। तर, अहिले उनी क्लबबिहीन छन्। उनी स्पेनिस क्लब रियल मड्रिड जाने र साउदी अरबको अल नासर क्लब जाने चर्चा सबैभन्दा धेरै छ। विश्वकप सुरु हुन केही हप्ता अघि उनले पियर्स मोर्गनलाई एक अन्तर्वार्ता दिएका थिए जसमा उनले युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागलाई सम्मान नगर्ने र क्लबले धोका दिएको महसुस गरेको बताएका थिए। यो उनको सम्झौताबाट बाहिरिन बाध्य पार्ने उनको तरिका थियो र उनले आफ्नो इच्छा पूरा गरे।

विश्वकपपछि क्लब फुटबल पुनः सुरु हुन तयार हुँदा रोनाल्डोले आफ्नो करियरको अन्तिम वर्षहरूमा आफ्नो घट्दो प्रतिभा प्रदर्शनका बिच आफ्नो नयाँ घर सुरक्षित गर्न बाँकी छ। यसअघि 'समर विन्डो'मा उनले आफू युनाइटेड छाडेर च्याम्पियन्स लिग खेल्ने क्लब जान चाहेको इच्छा व्यक्त गरेका थिए। तर, उनको इच्छा पूरा हुन सकेन।

त्यसबेलादेखि रोनाल्डोले प्रिमियर लिग र देशमा दुबैतर्फ लोभलाग्दो प्रदर्शन देखिएनन्। युनाइटेडमा 'सब्सिच्युसन' र बेन्चमा बस्नुपरेकोबाट असन्तुष्ट देखिने रोनाल्डोको त्यही नियति देशको टोलीमा पनि भयो। क्लबमा जस्तै देशका पनि प्रशिक्षकसँगको सम्बन्ध सुमधुर रहन सकेन। जहाँ उनले कतारमा पाँच खेलमा पेनाल्टीमा एक गोलमात्र गरे।

अब, रोनाल्डोलाई लिएर क्लबले पनि जोखिम मोल्नुपर्ने देखिन्छ। पछिल्लो ६ महिनामा साउदीकै क्लब अल हिलालले रोनाल्डोलाई दुई वर्षको करारमा ३०५ मिलियन पाउन्ड अफर गरेको समाचार बाहिरिएका थिए। मोर्गनसँगको अन्तर्वार्तामा रोनाल्डोले यसलाई पुष्टि गरेका थिए।

ठूलै धनराशीको प्रस्ताव गरिए पनि रोनाल्डो एक कदम छोडेर साउदी अरेबियामा जान तयार थिएनन्। हाल विश्वको २०औं उत्कृष्ट लिगको दर्जा दिइएको साउदीको 'जसको प्रो लिग' फस्टाउँदो अवस्थामा छ। विगत २० वर्षदेखि विश्वका उत्कृष्ट तीन लिग- प्रिमियर लिग, ला लिगा र सिरी ए-मा प्रदर्शन गरेका रोनाल्डोलाई त्यति तल जान तयार नहुनु पनि स्वभाविक थियो। त्यस्तै अल नासरले रोनाल्डोलाई ४०० मिलियन पाउन्डको अफर गरेको कुरालाई रोनाल्डोले अस्वीकार गरेका थिए भलै यसबारे धेरै दाबी हाल अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा बलिया देखिएका छन्।

बढ्दो उमेर र खस्कँदो प्रदर्शनकाबिच रोनाल्डोको 'अहम्' र उनको अनुभवले अझै उनी युरोपको प्रमुख लिगहरू मध्ये एकमा खेलिरहन प्रेरित गर्छ। यही विश्वासले उनलाई म्यानचेस्टर युनाइटेडबाट बाहिर निस्कन प्रेरित गर्‍यो। खासमा उनी फेरि च्याम्पियन्स लिगमा खेल्न चाहन्छन्, र प्रतियोगितामा आफ्नो १४० गोलको कीर्तिमानलाई विस्तार गर्न चाहन्छन्।

यस सिजनमा अहिलेसम्म आफ्नो नाममा एक लिग गोल मात्र गरेका 'हाइ प्रोफाइल' ३८ वर्ष पुग्ने संहारमा रहेका स्ट्राइकरलाई भित्र्याउन धेरै कम क्लबले मात्र चासो देखाएका छन्।

जर्मन क्लब फ्रान्कफर्टका अध्यक्ष एक्सेल हेलम्यानले रोनाल्डोकोतर्फबाट आफूहरुलाई प्रस्ताव आएको बताए।

'उनले हामीलाई अफर दिएका थिए। मलाई लाग्छ उनले सायद च्याम्पियन्स लिग खेल्ने सबै क्लबलाई अफर गरे,' हेलम्यानको एक अन्तर्वार्तालाई उदृत गर्दै मार्काले लेखेको छ।

त्यस्तै साउदीको क्लब अल नासीर रोनाल्डोसँग 'कन्ट्राक्ट'को नजिक पुगिसकेको दाबी धेरै जसो अन्तर्राष्ट्रिय संचारमाध्यमहरुको छ। सीबीएस स्पोर्टसले विश्वकपदेखि नै रोनाल्डो र अलनासीरबिच संवाद चलिरहेको दाबी गरेको छ। जसअनुसार २०२५ सम्म रोनाल्डोले सिजनको १६० मिलियन पाउण्ड रुपमा प्राप्त गर्नेछन्। रिपोर्टहरूका अनुसार क्लबका कार्यकारीहरूले यो सम्झौतामा पुग्नको लागि पर्दा पछाडि व्यस्ततापूर्वक काम गरिरहेका छन्। उनीहरू यो वर्षको नसकिँदै 'डिल' पूरा गर्न चाहन्छन्।

रोनाल्डो साउदीको ‘भिजन २०३०’ खेलकुद रणनीतिको हिस्सा हुने विचारका साथ अल-नासिरको प्रस्तावलाई सरकारले समर्थन गरेको बताइएको छ। अल-नासिरका प्रशिक्षक रुडी गार्सिया फुटबल आइकनसँग काम गर्ने अवसरको बारेमा खुलेर बोलेका छन्।

'मलाई लाग्छ कुनै पनि कोच क्रिस्टियानो जस्तो महान स्टारलाई तालिम दिन पाउँदा खुसी हुनेछन्,' गार्सियाले गत हप्ता भनेका थिए।

अघिल्लो 'समर'मा चेल्सीका मालिक टोड बोहलीले रोनाल्डोमा चासो देखाए पनि तत्कालिन प्रशिक्षक थोमस टुचेलले अस्वीकार गर्दा उनी पछि हटेका थिए। उनीहरु यस विषयमा सोच्न फेरि फर्कने सम्भावना कम छ।

नापोलीले पनि गत 'समर'मा रोनाल्डोलाई लिएर केही सामान्य चासो देखाएको थियो, तर तिनीहरू अहिले सिरी ए तालिकाको शीर्षमा उक्लिएका छन्। उनीहरूले एसी मिलानमाथि ८ अंकको अग्रता लिएका छन्। यस्तोमा उनीहरुले रोनाल्डोलाई 'साइन' गर्ने सम्भावना रहँदैन।

अब पोर्चुगलकै पहिलो व्यावसायिक क्लब स्पोर्टिङ लिस्बनमा गएर खेल्ने विचार रोनाल्डोलाई आउन सक्छ।  तर, क्लबले रोनाल्डोमाथि खर्च गर्ने अवस्था छैन। अक्टोबरमा क्लबका म्यानेजर रुबेन अमोरिमले भनेका थिए : सबैले क्रिस्टियानो फर्कने सपना देख्छन् तर हामीसँग उनलाई पारिश्रमिक तिर्न पैसा छैन।

तर, रोनाल्डोले अझै पनि आफ्नो पारिश्रमिकको मागलाई एक स्तरमा घटाए स्वदेशमै फर्किएर फुटबल खेल्ने सम्भावना भने रहन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell