
काठमाडौं : 'बिकिनी किलर' र 'दी सर्पेन्ट' का रुपमा प्रख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराजलाई आज जेलमुक्त गरेर अध्यागमन विभागले नियन्त्रणमा लिने भएको छ। केन्द्रीय कारागार सुन्धाराबाट मुक्त गरेर अध्यागमन विभागको हिरासतमा उनलाई राखिने भएको हो। यसका लागि अन्तिम तयारी भइरहेको अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रर्दशनी कुमारीले जानकारी दिइन्।
'आज हामीले जेलबाट शोभराजलाई ल्याउँछौं। जसको लागि अहिले पनि छलफल चलिरहेको छ,' निर्देशक प्रर्दशनी कुमारीले भनिन्।
गृहमन्त्रालसँगको परामर्श र छलफलपछि शोभराजलाई उनकै देश फ्रान्स 'डिपोर्ट' गर्ने तयारी भइरहेको छ। शोभराजलाई फ्रान्स फिर्ता पठाउन आवश्यक पर्ने कागजपत्र मिलाउने काम भइरहेको अध्यागमनले जानकारी दिएको छ। शोभराजलाई पुनः नेपाल आउन नपाउने गरि पठाउन लागिएको अध्यागमनका एक कर्मचारीले बताए। यता शोभराजका आफन्त र वकिलले भने उनलाई केहीदिन नेपालमै बस्ने व्यवस्था मिलाउन पहल गरिरहेका छन्।
सर्वोच्च अदालदतले १९ वर्षसम्म जेलमा रहेका शोभराजलाई रिहा गर्न आदेश दिएसँगै बिहीवार नै उनलाई जेलबाट रिहा गर्ने तयारी थियो। तर अध्यागमन विभागले लिन नआएपछि शोभराजलाई आजमात्र छाड्ने तयारी भएको सुन्धारा कारागार प्रशासनले जनाएको छ। अध्यागमन विभागमा बिहिबार शोभराजलाई राख्ने ठाउँ नभएकाले रिहा नगरेको शोभराजका वकिलले जानकारी दिएका छन्।
बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। त्यही आधारमा अदालतको कागजपत्र पाएपछि केन्द्रीय कारागार सुन्धाराले रिहा गर्ने तयारी गरेको थियो। तर काठमाडौं जिल्ला अदालतमा पनि शोभराजको मुद्दा भएकाले अदालतको अनुमति लिएर मात्र कारागारले रिहा गर्ने भनेपछि प्रकृया लम्बिएको थियो।
बिहिबार बिहानै सर्वोच्चको फैसला पछि शोभराजलाई रिहा गर्न उनकी सासु शकुन्तला विश्वास र शोभराजका वकिल कारागार पुगेका थिए।
सुन्धारा कारागारबाट रिहा हुनसाथ शोभराजलाई अध्यागमन विभाग लगिनेछ। अध्यागमन विभागले जमानीमा केही दिन नेपालमा बस्ने अनुमति दिए शोभराजले बौद्धस्थित ह्यात होटलमा बस्ने तयारी गरेका छन्। तर, अध्यागमनले अनुमति नदिएको खण्डमा उनले अध्यागमनको हिरासतमा बसेर विदेश फर्किने प्रकृया थाल्नु पर्ने हुन्छ।
शोभराज सर्वोच्च अदालतको फैसलाले २०६० असोज २ गतेदेखि केन्द्रीय कारागार सुन्धारामा कैदमा छन्। कैद भएको समयमा नै उनले २० वर्षीय युवती निहिता विश्वाससँग जेलमा नै बिहे गरेका थिए।
शोभराजले कैद छुटको माग गर्दै ४ वर्षअघि सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। अमेरिकी नागरिकको हत्या अभियोगमा कसुरदार ठहर भई सर्वोच्चकै फैसलाबाट केन्द्रीय कारागारमा थुनामा रहेका शोभराजले वारेसमार्फत रिट दर्ता गरेका थिए। सर्वोच्चले ७८ वर्ष उमेर पुगिसकेको र मुटुको सर्जरी गर्नुपर्ने अवस्था देखिएकोले उनलाई अन्य मुद्दा नभए छाड्न आदेश दिएको हो। शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेकाले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको आदेशमा उल्लेख छ।
२०३२ सालमा एक अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले जन्मकैदको सजाय सुनाएको थियो। यसबिचमा २०७१ मा भक्तपुर जिल्ला अदालतले पनि एक क्यानेडियन नागरिकको २०३२ सालकै हत्या अभियोगमा पनि उनलाई जन्मकैदको सजाय सुनाएको थियो। जन्मकैदमा २० वर्षको सजायको व्यवस्था अनुसार उनी २०८० असोज १ सम्म कैदमा बस्नुपर्ने थियो।