PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

तालिबानले विश्वविद्यालयमा पढ्न रोके पछि महिला विद्यार्थी आन्दोलित, विरोधमा उत्रेका पाँचजना पक्राउ



पहिलोपोस्ट

तालिबानले विश्वविद्यालयमा पढ्न रोके पछि महिला विद्यार्थी आन्दोलित, विरोधमा उत्रेका पाँचजना पक्राउ
Photo : Wakil KOHSAR / AFP

अफगानिस्तानको तालिबान सरकारले महिलाहरुलाई विश्वविद्यालयमा अध्ययन गर्न रोक लगाएको छ। तालिबानको रोकसँगै महिलाहरुले काबुलसँगै अन्य शहरहरुमा प्रदर्शन गरिरहेका छन्। तालिबानले नियन्त्रणमा लिएको विद्यार्थीको संख्या अझै धेरै हुने बताइएको छ।

प्रदर्शनमा उत्रिएका पाँच महिलालाई तालिबानले पक्राउ गरेको बीबीसीले उल्लेख गरेको छ। तीनजना पत्रकारलाई पनि तालिबानले नियन्त्रणमा लिएको जनाइएको छ।

बुधवारदेखि तालिबानका सुरक्षाकर्मीहरुले महिला विद्यार्थीलाई विश्वविद्यालय प्रवेश गर्न रोक लगाएका थिए। गत वर्ष तालिबानले सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो। त्यसबेलादेखि नै तालिबानले महिलालाई पढ्न रोक लगाउन सक्ने आंकलन गरिएको थियो। तर त्यति बेला अफगानिस्ताले बालिका र महिलाहरुलाई पढ्न रोक नलगाउने बताएको थियो। अहिले भने तालिबानले विश्वविद्यालयमा अध्ययन गर्न रोक्दा विश्वभरबाट आलोचना भएको छ। तालिबानसँग नजिक मानिएको अबरी देशहरुले समेत तालिबानको सो निर्णयको विरोध गरेको छ।

यसअघि तालिबानका कारण विद्यालयबाट पनि बालिका र किशोरीहरु निकालिएक छन्। तालिबानले 'उचित वातावरण' सिर्जना नभएसम्म यो निर्णय लागू हुने जनाएको छ। विश्वविद्यालयमा 'ड्रेस कोड' पालना नगरेकोले महिलाहरुलाई रोक लगाइएको तालिबानी मन्त्रीले बताएका छन्।

'उनीहरु विवाहमा गएको जसरी विश्वविद्यालय आउँछन्,' उच्च शिक्षासम्बन्धी मन्त्री नेदा मोहम्मद नदिमले भने।

तालिबानको निर्णयको विरोधमा हिजाब लगाएर महिलाहरु काबुलमा प्रदर्शन गरिरहेको भिडियोहरु अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ। काबुल विश्वविद्यालय बाहिर भेला भएर प्रदर्शन गर्ने उनीहरुको तयारी थियो। तर तालिबानी अधिकारीहरुले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेपछि सो प्रदर्शन हुन सकेन।

प्रदर्शनमा उत्रेका महिलाहरुलाई तालिबानी सुरक्षाकर्मीले हातपातसमेत गरेका छन्। तालिबानमा आबद्ध महिलाहरु प्रदर्शनमा सहभागी भएको र पछि विद्यार्थीहरुलाई कुट्न थालेको एक विद्यार्थीले बताइन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell