PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

१९ वर्ष जेल बसेर थुनामुक्त भए कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज, अब अध्यागमनको जिम्मामा



पहिलोपोस्ट

१९ वर्ष जेल बसेर थुनामुक्त भए  कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज, अब अध्यागमनको जिम्मामा

काठमाडौं : कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराज थुनामुक्त भएका छन्। शोभराज शुक्रवार केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन्। १९ वर्षपछि कारागारमुक्त भएका उनलाई सुन्धारा कारागारबाट अध्यागमन विभाग लगिएको छ।

बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। तर जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा भएकाले शोभराजलाई रिहा गर्ने विषयमा अन्योल भएको थियो। यसैगरी अध्यागमनले तयारी पुरा नभएको भन्दै हिजो लिन नआएपछि शोभराज कारागारमै बसेका थिए। जिल्ला अदालत काठमाडौंको अनुमतिपछि केन्द्रीय कारागार सुन्धाराले उनलाई रिहा गरेको हो।

रिहा हुने भएपछि शोभराजलाई लिन कारागारमा उनकी सासु शकुन्तला विश्वास र शोभराजको पक्षमा वकालत गर्ने वकिल बिहानै कारागार पुगेका थिए। शोभराज सर्वोच्च अदालतको फैसलाले २०६० असोज २ गतेदेखि केन्द्रीय कारागार सुन्धारामा कैदमा थिए। कैद भएको समयमा नै उनले २० वर्षीय युवती निहिता विश्वाससँग जेलमा नै बिहे गरेका थिए।

अध्यागमन विभागले जमानीमा केही दिन नेपालमा बस्ने अनुमति दिए शोभराज बौद्धस्थित ह्यात होटलमा बस्ने तयारी गरेका छन्। अध्यागमनले अनुमति नदिएको खण्डमा अध्यागमनको हिरासतमा बसेर विदेश फर्किने प्रकृया थाल्नु पर्ने हुन्छ।

शोभराजले कैद छुटको माग गर्दै ४ वर्षअघि सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। अमेरिकी नागरिकको हत्या अभियोगमा कसुरदार ठहर भई सर्वोच्चकै फैसलाबाट केन्द्रीय कारागारमा थुनामा रहेका शोभराजले वारेसमार्फत रिट दर्ता गरेका थिए। सर्वोच्चले ७८ वर्ष उमेर पुगिसकेको र मुटुको सर्जरी गर्नुपर्ने अवस्था देखिएकोले उनलाई अन्य मुद्दा नभए छाड्न आदेश दिएको हो। शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेकाले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको आदेशमा उल्लेख छ।

२०३२ सालमा एक अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले जन्मकैदको सजाय सुनाएको थियो। यसबीचमा २०७१ मा भक्तपुर जिल्ला अदालतले पनि एक क्यानेडिएन नागरिकको २०३२ सालकै हत्या अभियोगमा पनि उनलाई जन्मकैदको सजाय सुनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell