PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

मिडिया फेस गर्न चाहेनन् चार्ल्स शोभराजले, कडा सुरक्षाबिच सबैको आँखा छलाउँदै पुर्‍याइयो अध्यागमन



पहिलोपोस्ट

मिडिया फेस गर्न चाहेनन् चार्ल्स शोभराजले, कडा सुरक्षाबिच सबैको आँखा छलाउँदै पुर्‍याइयो अध्यागमन

काठमाडौं : कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराजलाई सर्वोच्च अदालतले बुधवार छाड्न आदेश दिएको थियो। आदेश आउनसाथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको लागि पनि चासोको विषय बन्यो यो। आदेशलगत्तै पत्रकार र फोटोपत्रकार सुन्धारा कारागारको गेट पुगे।  

तर दुई दिन त विभिन्न प्रक्रिया पुरा गर्नै समय लाग्यो। आदेश आएको तेस्रो दिन शुक्रवार मध्यान्हमा शोभराज छुटे। १९ वर्षपछि उनी कारागारमुक्त भएका हुन्। सुन्धारा कारागारबाट उनलाई अध्यागमन पुर्‍याउँदा फोटोग्राफरले शोभराजको फोटो कैद गर्न पाएनन्। भिडियोमा पनि उनी कतै देखिएनन्। मिडिया फेस गर्न नचाहेकै कारण शोभराजको फोटो भिडियो लिन नपाएका हुन्।

त्यसो त शोभराजले आफ्नो फोटो कसैलाई खिच्न नमिल्ने गरि अध्यागमसम्म लैजान अनुरोध गरेको केन्द्रीय कारागार स्रोतले जानकारी दिएको छ।त्यही अनुसार केन्द्रीय कारागारको भित्री परिसरमा नै सुरक्षाकर्मीको गाडीमा हालेर शोभराज जेलबाट बाहिरिए। शोभराज बा २ झ ३९८० नम्बरको सेतो भ्यानमा थिए। अगाडिपाडि सुरक्षाकर्मीको गाडीबाटै स्कर्टिङ। यसरी बाक्लो सुरक्षाबिच अध्यागमन विभाग पुर्‍याइयो उनलाई। अध्यागमन विभागको गेट अगाडि पनि पत्रकारहरु शोभराजको फोटो कैद गर्न खटिएका थिए। तर त्यहाँ पनि शोभराजको फोटो खिच्न पाएनन्।

बुधवार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। तर जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा भएकाले शोभराजलाई रिहा गर्ने विषयमा अन्योल भएको थियो। जिल्ला अदालत काठमाडौंको अनुमतिपछि केन्द्रीय कारागार सुन्धाराले रिहा गरेको हो।

शोभराजलाई लिन अध्यागमन विभागमा उनकी सासु शकुन्तला विश्वास र प्रेमिका निहिता विश्वास पुगेका थिए। निहिताले राजनीतिक गुटबन्दीको कारण शोभराजको रिहामा ढिला भएको प्रतिकृया दिइन्।

शोभराज सर्वोच्च अदालतको फैसलाले २०६० असोज २ गतेदेखि केन्द्रीय कारागार सुन्धारामा कैदमा थिए। कैद भएको समयमा नै उनले २० वर्षीय युवती निहिता विश्वाससँग जेलमा नै बिहे गरेका थिए। अध्यागमन विभागले जमानीमा केही दिन नेपालमा बस्ने अनुमति दिए शोभराज बौद्धस्थित ह्यात होटलमा बस्ने तयारी गरेका छन्। तर, अध्यागमनले अनुमति नदिएको खण्डमा अध्यागमनको हिरासतमा बसेर विदेश फर्किने प्रकृया थाल्नु पर्ने हुन्छ।

शोभराजले कैद छुटको माग गर्दै ४ वर्षअघि सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। अमेरिकी नागरिकको हत्या अभियोगमा कसुरदार ठहर भई सर्वोच्चकै फैसलाबाट केन्द्रीय कारागारमा थुनामा रहेका शोभराजले वारेसमार्फत रिट दर्ता गरेका थिए। सर्वोच्चले ७८ वर्ष उमेर पुगिसकेको र मुटुको सर्जरी गर्नुपर्ने अवस्था देखिएकोले उनलाई अन्य मुद्दा नभए छाड्न आदेश दिएको हो। शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेकाले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको आदेशमा उल्लेख छ।

२०३२ सालमा एक अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले जन्मकैदको सजाय सुनाएको थियो। यसबीचमा २०७१ मा भक्तपुर जिल्ला अदालतले पनि एक क्यानेडिएन नागरिकको २०३२ सालकै हत्या अभियोगमा पनि उनलाई जन्मकैदको सजाय सुनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell