PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

नेपाल टी २० आयोजकलाई अवरोध गरिएको चन्दको गुनासो, जतिनको प्रश्न : यति धेरै आलोचना किन?



पहिलोपोस्ट

नेपाल टी २० आयोजकलाई अवरोध गरिएको चन्दको गुनासो, जतिनको प्रश्न : यति धेरै आलोचना किन?

काठमाडौं : नेपाल टी २० लिगको पछिल्लो तयारी शुक्रवारबाट सुरु गर्ने गरिएको थियो। तर, बिहीवार साँझपख विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई एक दिन पछाडि धकेलियो। अर्थात शनिवार काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स आमनेसामने भएसँगै बहुप्रतिक्षित, आलोचित र क्यानले लामो समयदेखि रटान लगाउँदै आएको नेपाल टी २० लिग कीर्तिपुरमा सुरु हुनेछ।

खेलको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले राम्रो नियत राखेर नेपाल टी २० लिग गराउन खोज्दा पनि आफूहरुमाथि अवरोध भएको दाबी गरे।

'खेलाडीलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ नेपाल टी २० लिगको अवधारणा अघि बढाएका थियौँ। एसोसिएट राष्ट्रले यसका लागि ठूलै हिम्मत गर्नुपर्ने रहेछ,' क्यानका अध्यक्ष चन्दले भने, 'प्रतियोगितालाई लिएर जुन किसिमका आँकलनहरु आएका छन्। त्यसका कुनै सत्यता छैन। नेपालको कानुनी जटिलताका कारण फास्ट ट्र्याकमा काम गर्न सकिएन।'

क्यानले ८ वर्षका लागि सेभेनथ्रीस्पोर्टसँग सम्झौता गरेको बताउँदै चन्दले नाम उल्लेख नगरी एभरेस्ट प्रिमियर लिग (ईपीएल)का संस्थापक अमिर अख्तरको क्रियाकलाबले प्रतियोगिताको तयारी प्रभावित भएको दाबी गरे।

'क्रिकेटका शुभचिन्तक भन्ने साथीहरुले नेपालमा अदालत, संसद, अख्तियार, सम्पत्ति शुद्धीकरण, राखेपलगायत सबै संस्था र अन्तर्राष्ट्रिय निकायमा समेत उजुरी गरेका छन्। हामीले सबैलाई कन्भिन्स गरेर नियमसंगत हिसाबले अघि बढेका छौँ, ' चन्दले भने, 'अवरोध चिर्दै सोचेजसरी काम गर्न नसकेको यथार्थ हो। दिन प्रतिदिन खेल उत्कृष्ट बन्दै जानेछ भन्ने हाम्रो अपेक्षा हो।'

खेलाडीको स्तर माथि उठ्ने गरी प्रतियोगता गर्नु कुनै गल्ती नभएको चन्दको दाबी थियो। 'खेलाडीको जीवनस्तर माथि उठाउने प्रयास गर्नु गल्ती हो?' चन्द प्रश्न गरे।

अर्कोतर्फ सेभेनथ्रीस्पोर्टस्का कोफाउण्डर जतिन हलुवालियाले समर्थकले उत्कृष्ट क्रिकेट हेर्न पाउने दाबी गर्दै आफूहरुले राम्रो प्रयास गरिरहँदा किन आलोचना भइरहेको छ भन्ने बुझ्न नसकेको बताए।

त्यस्तै ब्रोडकास्टका लागि विश्व क्रिकेटमा राम्रो अनुभव भएका ब्रोडकास्टर ल्याएको उल्लेख गरे। प्रतियोगिता सुरु हुने दिनसम्म पनि प्रचारप्रसार गर्न नसक्नुका पछाडि उनले अवरोधहरुलाई कारण देखाए।

क्यान अध्यक्ष चन्दले विदेशी खेलाडीको पेपरवर्क बाँकी रहँदा शुक्रबारबाट खेल सुरु गर्न नसकिएको र आजै यो सबै काम सकिने बताए।

विदेशी खेलाडीले नेपालमा खेल्न श्रम स्वीकृति लिनुपर्ने हुन्छ। यसबारे सबै काम आजै सकिने चन्दले दाबी गरेका छन्।

नेपाल टी २० लिग गर्ने नेपाल क्रिकेट संघले निर्णय गरेयता नै एभरेस्ट प्रिमियर लिगसँगको विवाद सुरु भएको थियो। क्यान र इपीएलको मुद्दा अहिले पनि अदालतमा छ। क्यानले नेपाल टी २० लिगमात्र नेपालको लिग हुने र अरु लिगले क्षेत्रीय मान्यतामात्र पाउने स्पष्ट गरेपछि 'इपीएल'का संस्थापक अमिर अख्तर क्यानविरुद्ध खुलेरै लागेका थिए। अझ क्यानले 'बिडिङ' नगराएको, विवादास्पद भारतीय कम्पनी ल्याएर क्यानले आफ्नो क्षेत्राधिकार र कानुनबाहिरको काम गरेको भन्ने आरोप लगाएको छ।

प्रतियोगितामा विजेताले ५५ लाख, उपविजेताले ३० लाख, तेस्रो हुने टोलीले १० लाख र चौथो हुने टोलीले ५ लाख प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले समान साढे २ लाख प्राप्त गर्नेछन् भने इमर्जिङ प्लेयरले १ लाख ८० हजार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell