काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्रराय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा शुक्रवार आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदद्वयलाई शपथ गराएका हुन्।
शपथ समारोहमा सचिवालयका महासचिव डा भरतराज गौतम, सचिवलगायत संसद्का कर्मचारीको उपस्थिति थियो। प्रतिनिधिसभाका दुई सय ७० सदस्यले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ लिएका थिए। यादव र राई बिहीवार शपथ लिन छुटेका थिए।
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक एक सय १० गरी दुई सय ७५ सांसद छन्। अझै दुई सांसदले शपथ लिन बाँकी छ। सांसदद्वय प्रेम आले पारिवारिक शोक तथा माया राई सुत्केरी भएका कारण शपथ लिन लिएका छैनन्।