हेटौंडा : वाग्मती प्रदेशसभाका नवनिर्वाचित सांसदहरुको शपथग्रहण पुस १४ गते हुने भएको छ। ४ मंसिरमा सम्पन्न निर्वाचनबाट प्रदेशसभाको दोस्रो कार्यकालको लागि निर्वाचित भएर आएका सांसदहरुको शपथग्रहण पुस १४ गते हुने भएको हो।
शुक्रवार प्रदेशसभामा बसेको सर्वदलीय बैठकले १३ गते प्रदेशसभाको ज्येष्ठ सदस्यले प्रदेश प्रमुखसमक्ष शपथ लिने र १४ गते सांसदहरुको शपथग्रहण गर्ने विषयमा सहमति भएको छ। सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रका नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट प्रदेशसभामा निर्वाचित सांसद रामप्रसाद ढुंगानाले जेष्ठ सदस्यको हैसियतमा पहिलो बैठकको अध्यक्षतासहित अन्य सांसदहरुको शपथ ग्रहण गराउने छन्। ढुंगानाले ७२ वर्ष पुगेका छन्।
सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सरकारले प्रदेश प्रमुखलाई बैठकमा भएको सहमति अनुसारको सिफारिस गर्ने बताए। ‘१३ गते ज्येष्ठ सदस्यको शपथ, १४ गते प्रदेशसभाको अन्य सदस्यहरुको शपथ र १८ गते प्रदेशसभाको पहिलो बैठक गर्ने विषयमा दलहरुबीच सहमति भएको छ। हामी त्यहीअनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्छौ’, पाण्डेले भने। उनले प्रदेशसभाको पहिलो बैठक बसेपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए।