
काठमाडौं : केही मिनेट अगाडि अध्यागमन पुर्याएका कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराज अहिले अध्यागमनको कडा सुरक्षा घेरामा कागजी प्रक्रिया मिलाइरहेका छन्। बाहिर भने शोभराजकी प्रेमिका निहिता विश्वास पार्खिरहेकी छिन्। शोभराजको फोटो/भिडियो लिन नपाएपछि पत्रकारहरु अहिले निहितासँग प्रतिक्रिया लिइरहेका छन्।
निहितासँगै उनकी आमा शकुन्तला पनि छिन्। सुरक्षा थ्रेट देखाउँदै अध्यागमनभित्र कसैलाई पनि छिर्न दिइएको छैन। शोभराजको मुद्दा लडेकी र प्रेमिका भनिएकी निहितालाई पनि भित्र प्रवेश गर्न रोक लगाइएको छ।
निहिताले सुरक्षाका कारण भन्दै आफूलाई छिर्न नदिएकोमा गुनासो व्यक्त गरेकी छिन्। 'आधिकारिक रुपमा भित्र को प्रवेश गर्ने नगर्ने विषयमा तजबिजी भएपनि हामी धैर्यताको साथ बसिरहेका छौं,' निहिताले भनिन्।
आज केन्द्रीय कारागारको भित्री परिसरमा नै सुरक्षाकर्मीको गाडीमा हालेर शोभराज जेलबाट बाहिरिए थिए। शोभराज बा २ झ ३९८० नम्बरको सेतो भ्यानमा थिए। अगाडिपाडि सुरक्षाकर्मीको गाडीबाटै स्कर्टिङ। यसरी बाक्लो सुरक्षाबिच अध्यागमन विभाग पुर्याइएको थियो। सुरक्षा थ्रेटलाई महसुस गर्दै उनलाई आजनै फ्रान्स पठाउने तयारी भएको निहिताले बताएकी छिन्।
'हाम्रो चाहि हस्पिटलमा लग्नु पर्ने कारण नभएकाले त्यहाँ पनि सुरक्षाको कारणले संदिग्ध छौं। हामीले आज बेलुकासम्म पठाउँदा बेटर हुन्छ भनेर सेक्युरिटी मेन्टेन गरेका छौं,' निहिताले भनिन्। निहिताको शोभारजसँग जेलमा हुँदा नै विवाह भएको थियो। त्यसपछि पटक पटक भेट भएका थिए। तर तीन दिनयता शोभराजसँग उनको भेट भएको छैन।
बुधबार साँझ फैलासा आउँदा अदालतमा ६ बजेर ४५ मिनेटमा अन्तिम भेट भएको निहिताले सुनाइन्। शोभराज सर्वोच्च अदालतको फैसलाले २०६० असोज २ गतेदेखि केन्द्रीय कारागार सुन्धारामा कैदमा थिए। २०३२ सालमा एक अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले जन्मकैदको सजाय सुनाएको थियो। यसबीचमा २०७१ मा भक्तपुर जिल्ला अदालतले पनि एक क्यानेडियन नागरिकको २०३२ सालकै हत्या अभियोगमा पनि उनलाई जन्मकैदको सजाय सुनाएको थियो।