PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

जाँदाजाँदै मुख्यमन्त्रीहरुको सम्मेलन, देउखुरीमा हुँदै भेला



पहिलोपोस्ट

जाँदाजाँदै मुख्यमन्त्रीहरुको सम्मेलन, देउखुरीमा हुँदै भेला

बुटवल : पदावधि सकिनै लाग्दा सातै प्रदेशका मुख्यमन्त्रीहरु सम्मेलन गरेर छुट्ने तयारीमा जुटेका छन्। सातै प्रदेशका मुख्यमन्त्रीहरु लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा भेला हुँदैछन्।

लुम्बिनी प्रदेश सरकारको आयोजनामा आउँदो शुक्रवार सम्मेलन हुन लागेको हो। सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिनका लागि मुख्यमन्त्रीहरुको सम्मेलन आयोजना गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री तिलकराम शर्माले जानकारी दिए। ‘५ वर्षे कार्यकालमा प्रदेश सरकारले गरेका कामको समीक्षा र आगामी नयाँ सरकारलाई सुझाव दिनका लागि सम्मेलन आयोजना गरेका हौँ,’ उनले भने। सम्मेलनका लागि प्रदेश सरकारले आवश्यक तयारीसमेत अगाडि बढाएको मन्त्री शर्माले बताए।

प्रदेशको स्थायी राजधानी देउखुरीको भ्रमण गराएर यही मुख्यमन्त्रीहरुको सम्मेलन गर्न लागिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिए। २०७७ असोज २० गते प्रदेशसभाको बैठकले देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो। त्यसको झन्डै २६ महिनापछि स्थायी राजधानी कार्यान्वयनमा आएको हो।

मुख्यमन्त्री कार्यालयले देउखुरीबाट यही मंसिर २८ गतेबाट काम गर्न सुरु गरिसकेको छ। अन्य मन्त्रालयहरु पनि अब छिट्टै नै सार्ने तयारी थालिएको छ। यसका लागि देउखुरीमा मन्त्रालयका भवनहरुको टुंगो लगाउने काम पनि अन्तिम चरणमा पुगेको मुख्यमन्त्री केसीले बताए।

उक्त सम्मेलनमा लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीसहित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी हुनेछन्।

यस्तै, लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक पनि स्थायी राजधानी दाङमै गर्ने गरी तयारी थालिएको छ। प्रदेशसभा भवनको निर्माण पूरा भई सम्पूर्ण व्यवस्थापनको कामसमेत भएको हुँदा नवनिर्वाचित प्रदेश सांसद र लुम्बिनी प्रदेश सरकारको नयाँ बन्ने मन्त्री मण्डललाई दाङ देउखुरीमै शपथ खुवाउने र प्रदेशसभाको बैठक पनि दाङमै राख्ने तयारी भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell