PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

देउवा - प्रचण्डमा खट्किएको विश्वास, आलोपालोले डुबाउला कि उतार्ला त यसपाला?



प्रकाश भण्डारी

देउवा - प्रचण्डमा खट्किएको विश्वास, आलोपालोले डुबाउला कि उतार्ला त यसपाला?

काठमाडौं : अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड? सरकार गठनको ‘काउण्टडाउन’ अन्तिममा पुगेपछि प्रश्न झन् पेचिलो बन्दै छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड यसपाला प्रधानमन्त्री बनिछाड्ने दाउमा छन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा पनि प्रधानमन्त्रीको दाबीबाट पछि हटेका छैनन्। प्रचण्ड भर्सेस् देउवा हुन थालेपछि सत्ता गठबन्धन नै अहिले अप्ठेरोमा छ।

देउवा-प्रचण्डको तयारी समानान्तर नै छ। बुधवार देउवा कांग्रेस संसदीय दलको नेता निर्वाचित हुँदा बिहीवार प्रचण्ड माओवादी केन्द्रको दलको नेतामा चयन भए। देउवा-प्रचण्डको सरकारका लागि गरिरहेका दाबीमा थुप्रै समानता भए पनि एउटा फरक के भने प्रचण्डले चुनावअघिदेखि नै आफू चुनाव जिते प्रधानमन्त्री बन्ने भन्दै आफैलाई चुनावमा ‘सेल’ गरे भने देउवा मौन बसे। अहिले पनि देउवा निकटले देउवा नै प्रधानमन्त्री भन्दा पनि देउवा भने मौन छन्। हुन त देउवा मौन रहेरै रणनीतिक चाल चल्ने नेता हुन्, संसदीय दलको नेता चुनिँदा नै यो प्रष्ट हुन्छ।

प्रचण्ड प्रधानमन्त्री बन्लान? माओवादी केन्द्रका नेताहरुसँग यसको ठ्याकै जवाफ त छैन तर निराश हुने कारण पनि छैन। ‘कांग्रेसले पनि छोड्दैन्। उसलाई पनि प्रधानमन्त्री र राष्ट्रपति दुबै चाहिएको छ। हाम्रो पार्टीले पनि छोड्दैन। सरकारका लागि अध्यक्षले दाबी गर्नु भएको छ। टुंगिसकेको छैन्। देउवासँग फेरि पनि छलफल हुन्छ,’ माओवादीका उप महासचिव हरिबोल गजुरेल बताउँछन्।

प्रचण्डले आफ्नो दाबीलाई कतिसम्म बलियो बनाउन थालेका छन् भने उनले बेलाबेला गठबन्धन बाहिरसमेत आफूलाई प्रधानमन्त्रीका रुपमा अघि बढाउन थालेका छन्। कांग्रेसले प्रधानमन्त्री दाबी नछोडे के गर्ने? प्रश्नले प्रचण्डलाई नपिरोलेको होइन। ‘कांग्रेसले प्रधानमन्त्री नदिए एमालेसँग सहकार्य भैहाल्छ नि। एमाले पनि छिर्के दाउ लगाएर बसेको छ,’ माओवादी केन्द्रका एक पदाधिकारीले भने। चुनावी परिणाम आएलगतै ओलीले प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए। बिहीवार प्रतिनिधि सभा सदस्यको सपथ लिएपछि ओली र प्रचण्डले एकै सोफामा बसेर कानेखुसी गरेका थिए।

नयाँ समीकरणका लागि एमाले र माओवादी केन्द्रका नेताहरुको बिचमा अनौपचारिक छलफल भने भएका छन्। तर निर्णायक तहमा छलफल नभएको माओवादी केन्द्रका नेताहरुले बताएका छन्। एमाले-माओवादी तथा एमाले-कांग्रेस समीकरणका लागि एमाले स्वयमले चासो देखाइरहेको छ।

किनभने एमाले माओ‌वादीसँग संवाद गरेर कांग्रेसलाई सत्ताका लागि दबाव दिन चाहन्छ भने फेरी कांग्रेससँग संवाद गरेर माओवादी केन्द्रमाथि दबाव बढाउन चाहन्छ। माओवादी या कांग्रेसलाई आफ्नो पक्षमा उभ्याउन एमालेले गृहकार्य नगरेको होइन। त्यसो त माओवादी केन्द्रले पनि गठबन्धनमा ओली ‘कार्ड’ खेल्ने गरेको छ। ओलीसँग समीकरण बनाउने भन्दै कांग्रेसमाथि माओवादीले दबाव दिन चाहन्छ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिले प्राथमिकतामा सत्ता गठबन्धन नै भएको दाबी गरे। ‘छलफल त भइरहेकै छन्। सरकार गठनका लागि दाबी पनि भएका छन्। तर प्राथमिकतामा सत्ता गठबन्धन नै हो,’ उनको भनाइ छ। बिहीवार राति प्रधानमन्त्री देउवा निवास बालुवाटारमा प्रधानमन्त्रीका लागि गठबन्धनका नेताहरुका बिचमा छलफल भएको थियो।

देउवा, प्रचण्ड, नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधव नेपाल लगायतका नेता सहभागी छलफलमा प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी गरेका थिए। उक्त दाबीमाथि देउवाले कुनै प्रतिक्रिया नजनाएको माओवादीका नेताहरुको भनाइ छ। माओवादी केन्द्रका सांसद माधव सापकोटाले‍ प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना बलियो बन्दै गएको दाबी गरे।

उनले देउवाले समेत समर्थन गरेर प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन्। ‘देउवाले पनि अध्यक्षलाई प्रधानमन्त्री बनाउदिन भन्नुभएको छैन्,’ सापकोटाले भने। सापकोटाको बिचारमा प्रधानमन्त्रीभन्दा  राष्ट्रपति, सभामुख र प्रदेशका मुख्यमन्त्रीको भागबण्डा पेचिलो बनिरहेको छ गठबन्धन भित्र। माओवादी केन्द्र पनि ‘पावर सेयरिङ’ प्यकेजमै हुनुपर्ने मत राखिरहेको छ।

राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसार दिएको सरकार गठनको समयसीमा घर्कँदै छ। पुस ३ गते ७ दिनको समय दिएर राष्ट्रपति विद्या भण्डारीले सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन्। भण्डारीले दिएको समय आइतवार सकिदैँ छ। प्रधानमन्त्रीका लागि दाबी गर्ने समयसीमा सकिन लाग्दा देउवा पनि दबावमा छन्। आफ्नै नेतृत्वको सरकार दाबी गरिरहेका देउवाले शुक्रवार बिहान कांग्रेस नेता प्रकाशमान सिंहलाई प्रचण्ड निवास खुमलटार पठाए। सिंहले प्रधानमन्त्रीमा देउवालाई सघाउन प्रचण्डलाई आग्रह गरेका थिए।

तर प्रचण्डले उल्टै आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न प्रकाशमान मार्फत देउवालाई सन्देश पठाएका छन्। ‘प्रकाशमानले प्रधानमन्त्रीमा देउवालाई सहयोग गर्नुस् भनेर भन्नुभयो। पावर सेयरिङ गरौं भन्ने प्रस्ताव प्रचण्डलाई राख्नुभयो। प्रचण्डले भने यसपटक कांग्रेसले आफूलाई सहयोग गर्नुपर्ने जवाफ दिनुभयो। लगत्तै प्रकाशमान बालुवाटार पुगेर यसबारे प्रधानमन्त्रीलाई जानकारी दिनुभयो,’ सिंहको सचिवालयले भन्यो।

देउवाले आफै प्रधानमन्त्री र कांग्रेसकै राष्ट्रपतिमा दाबी गरिरहदा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पनि प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि बढाउन चाहन्छ। एकीकृत समाजवादीले राष्ट्रपति र सभामुखमध्ये एउटा पद आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरिरहेको छ। राष्ट्रपति कांग्रेसलाई दिएर प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्नुपर्नेमा एकीकृत समाजवादीका नेताहरुले पनि मत राखिरहेका छन्। ‘पावर सेयरिङ’मा गठबन्धनमा सहमति हुन नसकेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले बताए। ‘अहिले केहि पनि सहमति भएको छैन। गठबन्धनमा छलफलहरु मात्रै भइरहेका हुन्,’ भुसालले भने।

प्रधानमन्त्री आलोपालो गर्नेमा गठबन्धनमा दुई मत नभए पनि कसलाई पहिला प्रधानमन्त्री बनाउने भन्नेमा भने विवाद रहेको नेताहरुले बताएका छन्। प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाइसकेको भन्दै यसपटक आफू नै पहिला प्रधानमन्त्री बन्नुपर्ने दाबी गरिरहेका छन्। कांग्रेस भने प्रचण्डसँग विश्वस्त हुन सकिरहेको छैन। हुनत कांग्रेसभित्र प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेर राष्ट्रपति कांग्रेसले लिनुपर्ने विचारहरु पनि व्यक्त नभएका होइनन्।

प्रचण्डले चितवन पुगेर पुस ४ गते देउवा प्रधानमन्त्री हुँदा नै चुनावपछि आफू प्रधानमन्त्री हुने मौखिक सहमति भएको बताएका थिए। ‘लिखित औपचारिक केही भएको थिएन। छलफल त पक्कै पनि थियो। हामीले गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा चाहिँ भएकै हो,’ प्रचण्डले भनेका थिए। त्यसो त प्रचण्ड-देउवाले आलोपालो मोडलमा यसअघि नै सरकार चलाइसकेका छन्।

२०७३ साउनमा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भएका थिए देउवाको समर्थनमा। ९ महिनापछि २०७४ जेठमा आलोपालो सहमति अनुसार देउवालाई प्रधानमन्त्री छोडेका थिए प्रचण्डले। प्रचण्डले देउवालाई विश्वास दिलाउन उक्त आलोपालो मोडललाई सम्झाउने गरेको भए पनि देउवाले भने २०७४ को निर्वाचनअघि प्रचण्डले सरकारमै बसेर विपक्षी पार्टी नेकपा एमालेसँग मिलेर दिएको धोकालाई बिर्सन चाहेका छैनन्। देउवा सरकारलाई समर्थन गरेका प्रचण्डले एमालेसँग चुनावी समीकरण मात्रै मिलाएनन् कांग्रेसलाई सुइको नदिएरै पार्टी एकतासम्मै गरे।

प्रचण्ड पनि आलोपालोमा यसपटक भरपर्ने पक्षमा भने छैनन्। किनभने आलोपालो सहमतिमा ओलीसँग प्रचण्डले धोका खाएको बताउने गरेका छन्।  माओवादी र एमाले एकीकरण हुनुभन्दा अघिल्लो दिन २०७४ जेठ २ गते ओली-प्रचण्डबिच सरकारमा आलोपालो गर्ने ५ बुँदे गोप्य सहमति भएको थियो।

'समानता र समान अवधिका आधारमा आवश्यकता अनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने,' सहमतिको बुँदा ४ मा भनिएको थियो। ओलीबाट सहमति कार्यान्वयन नभएर एकता बदरसम्मकै झड्का बेहोरिरहेका प्रचण्ड यसपटक भने आलोपालो मोडलमा पछि सरकारको नेतृत्व गर्ने सहमति गर्न तयार छैनन।

हुनत गठबन्धनले आलोपालो सत्ता चलाएको उदाहरण प्रदेशमा पनि छ। कर्णाली प्रदेशमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसका जीवनबहादुर शाहीलाई आलोपालो सहमतिका आधारमा मुख्यमन्त्री पद छोडेका थिए। यता वाग्मतीमा पनि नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र नेपाली कांग्रेसका ईन्द्र बाँनियाबिच आलोपालो मुख्यमन्त्री हुने सहमति भएको चर्चा भएको थियो। तर एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार ढलाएर पाण्डे मुख्यमन्त्री बने पनि आलोपालो मोडल कार्यान्वयन भने भएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell