PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बारामा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु, मृतकको देखियो आपराधिक पृष्ठभूमि



राधेश्याम पटेल

बारामा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु, मृतकको देखियो आपराधिक पृष्ठभूमि
फोटोः मोहनलाल पण्डितको फेसबुकबाट

वीरगंजः बारामा अज्ञात समूहले गोली प्रहार गर्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। कलैया बरियारपुर सडकखण्ड अन्तर्गत महागढीमाई नगरपालिका २ स्थित भूतही पूल नजिकै मोटरसाइकलमा सवार पाँच जनाको समूहले गोली प्रहार गर्दा भारतीय नागरिकको मृत्यु भएको हो।

मृत्यु हुनेमा बिहार राज्यस्थित मोतिहारी जिल्लाको छौडादानो पिप्रा गाउँ निवासी ४५ वर्षीय शिवपुजन प्रसाद यादव रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार नम्बर खुल्न नसकेको दुई वटा मोटरसाइकलमा सवार एक समूहले यादवमाथि भूतही पूल नजिकै रहेको चिया पसलमा शुक्रबार साँझ साढे ५ बजे गोली प्रहार गरेका थिए।

छातीमा गोली लागेर गम्भीर घाइते भएका उनलाई बाराकै परवानिपुरस्थित एलएस न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। भर्ना भएको केही समयमै चिकित्सकले उनलाई मृत घोषित गरेको बोगटीले बताए।

गोली प्रहार गर्नेहरु फरार छन्। उनीहरुको खोजी कार्य भइरहेको एसपी बोगटीले बताए। प्रहरीले चिया पसलमा यादवसँगै रहेका दुई जनालाई भने नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

प्रहरी स्रोतका अनुसार यादव पनि आपराधिक पृष्ठभूमि देखिएको छ। विभिन्न अपराधमा उनी भारतीय प्रहरीको खोजी सूचीमा रहेको पाइएको छ। बिहीबार मात्र भारतबाट भागेर उनी आफन्त कहाँ नेपाल बस्ने आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell