PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

एन्फा र क्लबको राजनीतिले अनिश्चित बन्दै लिग, आजित खेलाडी भन्छन् : धिक्कार छ फुटबल चलाउने टाउकेहरुलाई!



मुकुन्द घिमिरे

एन्फा र क्लबको राजनीतिले अनिश्चित बन्दै लिग, आजित खेलाडी भन्छन् : धिक्कार छ फुटबल चलाउने टाउकेहरुलाई!

काठमाडौं : बिहीवार अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरुबिच बैठक बस्यो। एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको बैठकको निष्कर्ष थियो : अर्को बैठक डिसेम्बर २९ मा बस्ने। 

१४ वटै ‘ए’ डिभिजन लिगका क्लब सम्मिलित उक्त बैठकमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राईलगायतको उपस्थिति थियो। समग्रमा बैठकको स्पस्ट निस्कर्ष भनेकै निर्धारित समयमा लिग गराउन नसकिने भन्ने थियो।

एन्फामा नयाँ नेतृत्व आएयता लिग गराउन सकेको छैन। एन्फाले यसअघि नेपाल स्पोर्टस् म्यानेमेन्टसँग नेपाल सुपर लिगका लागि ८ वर्षको सम्झौता भने १७ करोड २१ लाखमा गरेको थियो। यो सम्झौता भएको थियो मंगलवार।

‘ए’ डिभिजन लिगको सन्दर्भमा एन्फा र लिग क्लबहरुबिच डबल राउण्ड लिग प्रणालीमा पुस २६ गतेबाट सुरु गर्ने भन्ने तयारी थियो। तर, यसअघि नै एन्फाले तयारी खर्चबापत दिने रकम उपलब्ध नगराएको भन्दै ९ वटा क्लबले एन्फालाई पत्र लेख्दै लिग खेल्न नसकिने जानकारी दियो। बिहीवारको बैठकले निर्धारित मितिमा नहुने पक्का त गर्‍यो नै सामाजिक सञ्जालामा नेतृत्वहरुको दोषारोपण सुरु भएको छ।

एन्फा नेतृत्वले क्लबले खेल्न नचाहेको भनेर देखाउने र क्लबले एन्फाले आयोजना नगराएको भनेर देखाउँदै झारा टार्ने प्रबृति नयाँ होइन। यसको प्रत्यक्ष मारमा परेका छन् खेलाडीहरु। अघिल्लो लिग सकिएयता दुई दर्जन बढी खेलाडी विदेश भासिइसकेका छन्। जसमा नेपाली जर्सी लगाएर खेलिरहेका युवा खेलाडीको संख्या पनि त्यतिकै छ।

फुटबलर अञ्जन बिस्ट प्रश्न गर्छन् : अझै धेरै खेलाडीहरू विदेशिएको देख्न चाहनुहुन्छ?

फुटबललाई विश्वभर व्यवसायिक बनाएर राम्रो आर्थिक अवस्था बनाइरहँदा नेपाली क्लबहरु तयारी खर्च नपाए खेल्दिन भन्नु अनौठो पक्ष हो। अञ्जनले क्लबहरुलाई प्रश्न गरेका छन्।

‘प्रिय ए डिभिजन क्लबहरू तपाईहरू कहिले हुनुहुन्छ तयार? लिग खेल्न केही क्लब तयार नभएको सुन्छु, आर्थिक भार बढ्छ रे, एन्फाले समयमा नै पैसा उपलब्ध नगराएकोमा’, उनले प्रश्न गरेका छन्, ‘तपाईंहरुको मेहेनत बिना एन्फाको अनुदानमा मात्रै आजसम्म नेपाली फुटबलमा तपाईंहरुले आफ्नो क्लबको इतिहास राख्नु भएको त पक्कै होइन होला?’

 

लिग गराउन नसक्ने भए एन्फा नेतृत्वमा रहन यत्रो धेरै लालायित देखिनुमा आश्चर्य प्रकट गरेका छन्। नेपाली फुटबल खेलाडीबारे पनि सोच्न अनुरोध गर्दै उनी प्रश्न गर्छन् : कहिलेसम्म एकले अर्कोलाई दोष लगाउँदै लिगलाई परपर धकाल्नु हुन्छ? खेलाडीहरुको रगत पसिनामा कहिलेसम्म तपाईंहरु स्वार्थपूर्ति गर्नुहुन्छ?

‘हिजोदेखि आजसम्मको नेपाली घरेलु फुटबलको इतिहासलाई पनि फर्केर हेर्नुस् त नेपालमा कतिपटक लिग रोकियो क्लब र एन्फाको लफडामा? कति खेलाडीहरु पलायन भए उक्त समयमा लेखाजोखा छ एन्फा र क्लबसँग?’ बिस्टले प्रश्न गरेका छन्, ‘खेलाडीको जीवन चाँही जीवन होइन? खेलाडीलाई परेको आर्थिक भार कसले बुझ्ने? हुन पनि बिचरा हामी खेलाडीले के नै गर्न सक्छौ त्यही आवाज उठाउँछन्, त्यो नी कसले पो सुन्छ र!’

एन्फाले लिग गराउन नसक्दा आजित बनेका खेलाडी अञ्जनमात्र होइनन्। उनी नेपालमै फुटबलमा खेलिरहेका खेलाडी हुन्। तर, फुटबलमा राम्रो सम्भावना बोकेर पनि विदेश जान बाध्य भएका उनी भन्दा जुनियर खेलाडी पनि त्यतिकै छन्।

अर्का राष्ट्रिय टोलीका सदस्य सुजल श्रेष्ठ पुरस्कारका घोषणा गरिएका रकमदेखि क्लबले दिनुपर्ने पारिश्रमिकसमेत नपाउँदा पनि आफूहरु चुपै बसेको तर लिग नरोक्न अनुरोध गरेका छन्।

‘एकाध क्लबबाहेक केही क्लबहरुले आफूले खेलाडीहरुलाई प्रयोग गरेबापत वाचा र सहमति अनुसारको पारिश्रमिक समयमा र पूर्ण उपलब्ध गराउनु भएको छ त? सायद जवाफ सकारात्मक आउदैन नै होला’, क्लबहरुलाई अर्का खेलाडी सुजल श्रेष्ठले प्रश्न गरेका छन्, ‘साथै नेपाली राष्ट्रिय खेलाडीहरुले (उमेर समूहदेखि महिलासम्म) विभिन्न समयमा मेहेनत पश्चात राष्ट्रको निम्ति उपाधि जित्दा एन्फाबाट वाचा गरे अनुरुप थुप्रै पुरस्कारहरु आजसम्म पनि उपलब्ध भएको छैन तर पनि हामी समझदारीमा छौँ।’

 

एन्फा र क्लबको राजनीतिमा नेपाली फुटबल पिसिएको बारम्बार चर्को आवाज उठाउँदै आएका खेलाडी हुन् जगजित श्रेष्ठ।

उनले आक्रोश र व्यङ्ग्य मिश्रित लवजमा प्रश्न सोधेका छन् : खेलाडीलाई किन हो सबैले दु:ख दिने? कि पर्याप्त प्रतियोगिता गर, कि त भएका प्रतियोगितामा सहभागी हुन देउ। अब एनएसएल नहुने भैहाल्यो, लिग आउन अझै एक शताब्दी बाँकी छ। गर्न चाही के गर्ने त हामी खेलाडीहरुले?

अघिल्लो सिजन फ्रेन्ड्स क्लबबाट खेलेका प्रकाश बुढाथोकी पनि पछिल्लो खिचातानीले आजित छन्।

‘यदि क्लब तयार छैन अथवा क्लबलाई आर्थिक भार पर्छ भन्ने लाग्छ भने सकेसम्म लिग नखेलेकै राम्रो। अनि लिग समयमा गराउन नसक्ने मन्छे गरिमामय पदमा किन आउनुपर्‍यो,’ क्लब र एन्फा दुबैप्रति लक्षित गर्दै बुढाथोकीले लेखेका छन्।

त्यसअघि एउटा पोस्टमा रंगशालाको खाली तस्बिर राख्दै बुढाथोकीले प्रश्न गरेका छन् : यो तस्बिर हेर्दा कुन खेलाडीको मन दुख्दैन होला र? धिक्कार छ फुटबल चलाउने टाउकेहरुलाई!

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell