पेरिसमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आक्रमणकारीले कुर्दिश साँस्कृतिक केन्द्रलाई निशाना बनाएर स्थानीय समुदायका सदस्यहरूलाई गोली हानेको बताइएको छ।
६९ वर्षीय एक संदिग्धलाई घटना लगत्तै गिरफ्तार गरिएको थियो। उनी हालसालै जेलबाट छुटेको खुलेको छ। आक्रमणपछि घटनास्थलमा जम्मा भएका समूह र प्रहरीबिच झडप भएको थियो।
फुटेजमा देखिएअनुसार मानिसहरूले सडकको बिचमा आगो बालेका थिए भने कारका सिसाहरु भत्काएका थिए। दंगा नियन्त्रक प्रहरीहरूले अश्रु ग्यास प्रहार गरेर उनीहरुलाई रोक्ने प्रयास गरिरहेको देखिएको थियो।
पेरिसको रुए डी एन्घियनमा एक व्यक्तिले दुई पुरुष र एक महिलाको गोली हानी हत्या गरेको खवरपछि त्यहाँको स्थिति अशान्त बनेको हो। घाइते तीन जनामध्ये एकको अवस्था गम्भीर रहेको र घाइतेहरुको उपचार भइरहेको बताइएको छ।
गोली चलाउनुको कारण पुष्टि भएको छैन। तर, पेरिसका प्रोसेक्युटर लउर बेकुउले ति संदिग्ध पहिले पनि जातीय हिंसाको अभियोगमा पक्राउ परेको बताए।