काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन लाग्दा पौडेल प्रचण्डलाई मनाउन शनिवार बिहानै खुमलटार पुगेका हुन्।
भेटमा पौडेलले गठबन्धन कायम रहनुपर्छ भन्नेमा जोड दिएको उनको सचिवालयले जनायो। पौडेलले प्रधानमन्त्री सहमति गरेर अघि बढ्नसमेत सुझाव दिएका थिए।
सरकार गठनका लागि एकदिनमात्र बाँकी रहँदा पौडेल खुमलटार पुगेका हुन्। प्रचण्डले भने आफू प्रधानमन्त्री बन्नुपर्ने अडान छाडेका छैनन्। कांग्रेसले भने राष्ट्रपति र प्रधानमन्त्री दुबैलाई आफ्नो बटमलाइन बनाएको छ।
शुक्रवारमात्र प्रचण्डलाई कांग्रेस नेता प्रकाशमान सिंहले पनि भेटेका थिए। प्रकाशमानसँग पनि प्रचण्डले आफू प्रधानमन्त्री बन्नुपर्ने अडान राखेपछि यसबारे बिहानै देउवालाई जानकारी गराएका थिए।